No Image Headlineदेश
रोल्पामा झोलुङ्गे पुल निर्माणका क्रममा पर्खाल भत्किँदा पाँचजनाको मृत्यु

रोल्पाको सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच जना मजदुरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा परेर ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो।
गाजधारा–कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा पर्खाल अचानक भत्किँदा उनीहरू किचिएका थिए। अहिलेसम्म चारजनाको शव निकालिएको छ भने थप उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
सुनछहरी स्थानीय विपद् व्यवस्थापन समितिका अनुसार ज्यान गुमाउनेमध्ये चारजना एकै परिवारका हुन्। तर, ती व्यक्तिहरूको पारिवारिक सम्बन्धबारे विस्तृत जानकारी आउन बाँकी छ। घटनाको थप अनुसन्धान भइरहेको छ।



