अर्थमुख्य खबरयस्तो पनिविशेष

मेलाको मौका छोपेर बाराका नाकाबाट व्यापक तस्करी : भन्सार प्रशासक र सिडिओ आफैं किन निस्किए गस्तीमा ?

बाराको बरियारमा जारी पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा सीमा क्षेत्रका हरूमा अवैध आयात बढ्न थालेपछि वीरगञ्ज आईसीपी भन्सार र जिल्ला प्रशासन कार्यालय बाराले कडा निगरानी थालेका छन्। भन्सार प्रमुख दीपक लामिछाने र प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा संयुक्त रात्रि गस्ती सुरु गरिएको छ।

भन्सार प्रमुख लामिछानेका अनुसार मेलाको भीडको फाइदा उठाएर भारतबाट अवैध रूपमा सामान भित्र्याइने सूचना प्राप्त भएपछि एक हप्तादेखि राति २/३ बजेसम्म गस्ती जारी छ। उनका अनुसार सिम्रौनगढ, तामागढी, कबही, मटिअर्वा र इनर्वालगायतका सीमा नाकाहरूमा विशेष निगरानी राखिएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले तस्करी नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाइएको बताए। सरकारी गाडीको प्रयोग गर्दा सूचना चुहिन सक्ने भएकाले निजी गाडीमार्फत रात्रिगस्ती गरिँदै आएको उनले जानकारी दिए।

सादा पोशाकमा सुरक्षाकर्मीको उपस्थिति रहेको बताउँदै अधिकारीले गस्तीका कारण तस्करीमा संलग्न व्यक्तिहरूमा ‘मनोवैज्ञानिक त्रास’ सिर्जना भएको दाबी गरे। अवैध आयात नियन्त्रणसँगै मेलामा हुने अवाञ्छित गतिविधि रोकथाम र सुरक्षा व्यवस्थापनमा पनि गस्तीले मद्दत पुर्‍याउने विश्वास सुरक्षा अधिकारीहरूले व्यक्त गरेका छन्।

पछिल्लो समय पर्सा, रौतहट, सर्लाही र धनुषाजस्ता जिल्लाबाट सक्रिय तस्करहरू बारामा केन्द्रित भएको र यसले राजस्व चुहावटको खतरा बढाएकोले गस्तीलाई थप सशक्त बनाइएको छ। सुरक्षा व्यवस्थालाई चुस्त बनाउन जनपद र सशस्त्र प्रहरीसमेत परिचालित छन्।

यस अभियानले गढीमाई मेलाको सुरक्षा सुदृढ गर्दै अवैध आयातमा रोक लगाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button