No Image Headlineखबर फटाफटदेश

पञ्चवर्षीय गढीमाई मेला, यस्तो छ किम्बन्दती

बाराको बरियारपुरस्थित महागढ़ीमाई नगरपालिकामा विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ लाई ऐतिहासिक, अविस्मरणीय र व्यवस्थित बनाउने लक्ष्य सहित सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार दक्ष प्राविधिक टोली खटाई पार्किङ्ग व्यवस्थापन देखि मेला हेर्न आउने श्रद्धालु भक्तजनका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणमा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे मोटरसाईकल र साईकलको पार्किङ्ग राख्ने स्थानहरुको व्यवस्थापनका लागि अनुगमन र निरीक्षण गरी स्थान छनौट गरिसकिएको छ ।

भक्तजन र प्रचार प्रसार समिति, विभिन्न शक्तिपीठका गुरुहरु तथा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित विभिन्न मन्त्री र उद्योगपतिहरूलाई मेलामा सहभागी गराउनका लागि काम सुरु भैसकेको नगर प्रमुख यादवले जानकारी दिए ।

खानेपानी व्यवस्थापनका लागि सार्वजनिक धाराहरू जडान गरिएको उनले बताए । स्वास्थ्यको दृष्टिकोणले ठाउँ ठाउँमा प्राथमिक उपचार केन्द्रको स्थापना गरि २४ औं घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

भारतको रक्सौल, आदापुर, छौडादनो, घोडासाहन लगायतका भारतीय नाकाहरुदेखि गढीमाईसम्मको बाटो विभिन्न स्थानिय तहहरुसंगको समन्वय र पहलमा सरसफाई तथा मर्मत गरिएको नगर प्रमुख यादवको भनाई छ ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादव

मन्दिरलाई सिंगारिएको छ । मुल बाटो र चोकहरुमा सोलार बत्ती, टावर लाईट जडान र विधुतीय लठाहरुमा झिलीमिली बती लगाईएको उनले बताए ।

यही मंसिर १ गतेबाट शुरु भएको गढीमाई मेला मंसिर महिना भरी लाग्नेछ । त्यसैगरि मेला र भक्तालु, पर्यटकहरुलाई सुरक्षाका लागि बेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकमा प्रहरी खटिएको छ ।

साथै नगर प्रहरीहरूको संख्या बढाइएको छ । मेला अवधिभर दुई करोड भन्दा बढीले मेला हेर्ने अनुमान गढीमाई मेला ब्यवस्थापन समितिको अनुमान छ ।

श्री गढीमाई मन्दिर नेपालको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो। मधेश प्रदेशको बारा जिल्लाको सदरमुकाम कलैया महानगरपालिकाबाट करीब ६ किलोमिटर पूर्व दक्षिण बरियारपुरस्थित श्री गढीमाईको मेला हरेक ५र५ वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ।

नेपालका विभिन्न क्षेत्रबाट लाखौँ लाख दर्शनार्थीहरू आउने गरेको साथै यस शक्तिपीठमा लाखौ लाखको संख्यामा भारतीय दर्शनार्थीहरू पनि मेला हेर्न आउने गर्दछन ।

यस्तो छ विश्वास

मन्दिर परिसरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास रहिआएको छ।

त्रिशूल स्थापना भएको दक्षिणतिर श्री गढीमाईको मूर्तिसहित अति सुन्दर मन्दिर पनि देख्न पाईन्छ। मन्दिरको पूर्वदक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान पनि हेर्न लायक छ। पूर्वतिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सफा सुग्घर गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गर्ने गरिन्छ।

गढीमाईका पूजारी थारू समुदायका छन्। गढीमाईको पूजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ। गढीमाईका बहिनीहरू कटबासीमाई, ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ।

 किम्बन्दती

मकवानपुर गढीमा माता तुलजा भवानीको मन्दिर थियो । त्यसैले उनलाई ‘गढीमाई’ भनिन्थ्यो । यो मन्दिर तुलजा भवानीमा समर्पित थियो । बारामा सिम्रौनगढ राज्य अलग्गै थियो । त्यहाँका राजा हरिहरसिंह देवले चौधौँ शताब्दीमा मुसलमानहरुको आक्रमणबाट जोगाउन माता तुलजा (तलेजु, तुर्जा, तलेजी आदि नामले पनि चिनिन्छ) भवानीलाई काठमाडौँ उपत्यका भित्र्याएका थिए ।

सिम्रौनगढ त्यसबेलाको तिरहुत वा मिथिलाको राजधानी थियो । दिल्लीमा मुसलमान शासन चलिसकेपछि वर्तमान नेपालको तराई भेगका राज्यहरुमा पनि उसको आक्रमण हुन थाल्यो ।

सन् १३२५ मा मुसलमानको आक्रमणबाट जोगिन कर्नाटवंशी राजा हरिहरसिंह देवले आफ्नो परिवार र दलबलसहित तुलजा भवानीलाई पनि लिएर नेपाल राज्यमा छिर्न खोजेका थिए ।

तर काठमाडौँ उपत्यका प्रवेश गर्न नपाउँदै दोलखाको तीनपाटनमा उनको मृत्यु भयो । त्यसपछि उनकी रानी देवलदेवीले दलबलको नेतृत्व गरी नेपाल राज्यमा प्रवेश गरेको र तुलजा भवानीलाई पनि भक्तपुरमा स्थापित गरिएको मान्यता छ ।

तर यो कथा मकवानपुर गढीकी तुलजासँग जोडिन्छ । सम्भवतः सेन बंशको राज्य रहेकै बेलामा भगवानदास थारु नाम गरेका एक व्यक्ति हत्या आरोपमा जेल परेका थिए । उनलाई एक दिन सपनामा माता तुलजा भवानीले आफूलाई आफ्नै स्थानमा फर्काउन आग्रह गरिन् भन्ने किम्बदन्ती छ ।

माताले निद्रामा प्रकट भएर ‘मलाई तिम्रो गाउँमा स्थापित गर । त्यसपछि मात्रै तिमी जेलमुक्त भएर तिम्रा दुःख नास हुन्छन्’ भनिन् । त्यसपछि भगवानदासलाई एक त्रिशूल दिइन् । उज्यालो भएपछि उनले यो घटना जेल प्रशासनलाई सुनाए र त्रिशूल देखाए ।

त्यसपछि सरकारले उनलाई जेलमुक्त गरिदियो र उक्त त्रिशूल स्थापित गर्न लगायो । उनै भगवानदासले बरियापुर (वर्तमान गढीमाई मन्दिर) मा लगेर त्रिशूल गाढे र पूजा गर्न थाले ।

तिनै थारुका सन्ततीले अहिले पनि मन्दिरको पुजारीको रूपमा भूमिका निर्वाह गर्दै आएका छन् । यो किम्बदन्ती १७ औँ शताब्दीदेखि चलिआएको बताइन्छ । अहिलेका पुजारी मंगल थारु आफूलाई भगवान दासको १० औँ पुस्ता मान्छन् ।

पाँच वर्षे बलि यसरी शुरु हुन्छ
तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मूल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउँछन् ।

यहाँ तान्त्रिक धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाए पछि बलि खुल्छ । यस पटक पनि तान्त्रिक धामीले आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु हुन्छ।

जसलाई नर वली भनिन्छ । ‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’ मुल पुजारी मंगल चौधरीले सुनाए ।
हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।

गढीमाईमा विश्वकै सबैभन्दा ठूलो बलि संस्कार दिने गरिएको छ । एकै स्टानमा ३५ हजारभन्दा धेरै राँगा र हजारौँ बोकाको बलि चढ्ने गरेको गढीमाईमा पछिल्ला वर्षमा बलिको संख्या केही कम भएको छ । पशु अधिकारकर्मीको चर्को विरोधका कारण मानिसहरु केही हच्किएको भए पनि आफ्ना भाकल पुरा भए पछि बलि चढाउने गरिएको छ ।

यसअघि हरेक मेलामा २ लाखभन्दा बढी पशुको बलि दिने गरिएको थियो । बलि नचढाउनेहरुले भने अचेल मन्दिरमा पुगेर परेवा उडाउने नयाँ प्रचलन बढ्दै गएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button