अर्थतन्त्रका सूचक : बाह्य क्षेत्र सुध्रिँदा किन खुम्चियो आयातनिर्यात ?

नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले अर्थतन्त्रका विभिन्न सूचकहरूमा सकारात्मक प्रगति देखाएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, चालु खाता बचत, र मुद्रास्फीतिमा सुधारजस्ता सूचकहरूले अर्थतन्त्रको वाह्य स्थिति सुदृढ देखाएको छ।
अर्थतन्त्रको बाह्य स्थिति सुदृढ
अर्थतन्त्रका सकारात्मक सूचकहरूले नेपालको अर्थतन्त्रमा स्थिरता कायम रहेको देखाउँछन्। विदेशमा नेपालीहरूको योगदान, आयात नियन्त्रण, र मुद्रास्फीतिमा सुधारजस्ता पक्षहरूले देशको आर्थिक स्वास्थ्यलाई बलियो बनाएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशतले बढेर २२३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति गत आवको असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो। यसले १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
विप्रेषण आप्रवाहमा ११.५ प्रतिशत वृद्धि
नेपालमा विप्रेषण आप्रवाह पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। समीक्षामा विप्रेषण आप्रवाह ११।५ प्रतिशतले बढेर ४०७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो वृद्धि ३ अर्ब ४ करोड रुपैयाँमा पुगेको छ, जो गत वर्षको सोही अवधिको २ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी हो।
चालु खाता र शोधनान्तर स्थिति बचतमा
चालु खाता बचत १११ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ, जसले गत वर्षको सोही अवधिको तुलनामा थप सुधार देखाएको छ। शोधनान्तर स्थिति पनि १८४ अर्ब ९९ करोड रुपैयाँ बचतमा छ।
मुद्रास्फीति ४.८२ प्रतिशतमा सीमित
वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४।८२ प्रतिशतमा झरेको छ, जो अघिल्लो वर्षको ७।५० प्रतिशतभन्दा कम हो। खाद्य तथा पेय पदार्थ समूहमा ७।१८ प्रतिशत मुद्रास्फीति भए पनि गैर-खाद्य तथा सेवा समूहमा यो दर ३।४९ प्रतिशतमा सीमित छ।
आयात र निर्यातमा कमी
प्रतिवेदनअनुसार, चालु आवको तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटेर ३८ अर्ब ३८ करोडमा सीमित भएको छ भने आयात पनि ४.२ प्रतिशतले घटेर ३९० अर्ब ७५ करोडमा सीमित भएको छ।
सरकारी खर्च राजस्वभन्दा बढी
समीक्षामा नेपाल सरकारले ३२९ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ। कुल राजस्व परिचालन २४८ अर्ब २६ करोड रुपैयाँ मात्रै पुगेको हुँदा खर्च राजस्वभन्दा ८० अर्ब बढी रहेको छ।
समीक्षामा बैंकिङ क्षेत्रको निक्षेप २.६ प्रतिशतले वृद्धि भएर १७० अर्ब पुगेको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२८ अर्ब ६५ करोड रुपैयाँले बढेको छ।



