५ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर, एचपीभी खोप अभियान चलाइने

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने महिलाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सरकारले क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप देशभर निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यो अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नगएका १० देखि १४ वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ। यो अभियानले करिब १७ लाख किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखेको छ। यसका लागि देशभरका विद्यालय र स्वास्थ्य केन्द्रहरू खोप केन्द्रको रूपमा प्रयोग गरिनेछ।
यस अभियानलाई सफल बनाउन २७,०८० स्वास्थ्यकर्मी, ५४,१६० स्वयंसेवक र १५,६७४ सुपरिवेक्षक परिचालन गरिने जनाइएको छ। खोप सेवा विभागका अधिकारीहरूले १८,९०० विद्यालय र ८,२०० अन्य खोप केन्द्रमार्फत खोप प्रदान गरिने जानकारी दिएका छन्।
पाठेघरको मुखको क्यान्सरको समस्या
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार नेपालमा हरेक वर्ष २,१६९ महिलामा यो क्यान्सर देखिन्छ र १,३१३ महिलाको ज्यान जाने गरेको छ। औसतमा, नेपालमा प्रत्येक दिन चार महिलाले यो क्यान्सरका कारण ज्यान गुमाउने तथ्याङ्क छ।
विश्वव्यापी रूपमा, हरेक वर्ष करिब ५ लाख ७० हजार महिलामा यो क्यान्सर देखिने र सन् २०३० सम्म यो सङ्ख्या ७ लाख पुग्ने अनुमान छ। यसैगरी, हरेक वर्ष करिब ३ लाख ११ हजार महिलाले यो क्यान्सरका कारण ज्यान गुमाउँछन्।
एचपीभी खोपको महत्व
पाठेघरको मुखको क्यान्सर मुख्यत: एचपीभी भाइरसका कारण हुने गर्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, यस प्रकारका क्यान्सरका ९५ प्रतिशतभन्दा बढी केसमा एचपीभी भाइरसकै भूमिका हुन्छ। नेपालमा यस्तो क्यान्सरका ८० प्रतिशत घटनामा एचपीभीको प्रजाति १६ र १८ प्रमुख कारण रहेको पाइन्छ।
यो खोपले पाठेघरको मुखको क्यान्सरबाट ९०–९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने चिकित्सकहरूले बताएका छन्। विशेषगरी, ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप प्रभावकारी हुने र उनीहरूलाई सुरक्षाका लागि खोप दिनैपर्ने सिफारिस गरिएको छ।
सरकारको तयारी र लक्ष्य
नेपालले यसअघि २०७२–७४ मा कास्की र चितवनमा पाइलट कार्यक्रम सञ्चालन गर्दै सफल परीक्षण गरिसकेको छ। सन् २०८०–८१ मा देशका सबै प्रदेशका १०,००० किशोरीलाई खोप प्रदान गरेर यो कार्यक्रमलाई थप बलियो बनाइएको थियो।
यस पटकको राष्ट्रिय अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। खोप गाभी (ग्लोबल अलाएन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेशन) र नेपाल सरकारको सहकार्यमा नेपाल ल्याइँदैछ। खोप यही पुसको मध्यसम्ममा नेपाल आइपुग्ने र त्यसपछि तत्काल अभियान सुरु गरिने योजना छ।
विश्वव्यापी प्रयास र लक्ष्य
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारणका लागि ‘९०–७०–९०’ लक्ष्य निर्धारण गरेको छ। यस अन्तर्गत, १५ वर्षभित्र ९० प्रतिशत किशोरीलाई एचपीभी खोप लगाउने, ७० प्रतिशत महिलाको ३५ र ४५ वर्ष उमेरमा परीक्षण गरिने, र ९० प्रतिशत क्यान्सर पीडित महिलालाई उपचार गरिने लक्ष्य राखिएको छ। नेपालको यो अभियानले विश्वव्यापी लक्ष्य हासिल गर्न योगदान पुर्याउने विश्वास लिइएको छ।



