No Image Headlineदेश

पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन, को थिए ढुंगाना ?

प्रजातन्त्र स्थापनापछि नेपालको पहिलो सभामुख र राजनीतिक तथा नागरिक अगुवाका रूपमा परिचित दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको छ। कलेजोसम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा काठमाडौंको फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो २ बजे उहाँको निधन भएको हो।

परिवारका अनुसार, चार महिना अघि उहाँको कलेजोमा ट्युमर पहिचान भएको थियो। काठमाण्डूमा प्रारम्भिक उपचारपछि उहाँ थप उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए। उपचारपछि स्वास्थ्यमा सुधार आए पनि आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई मध्यबानेश्वरस्थित अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरूले दिउँसो २ बजे उहाँलाई मृत घोषित गरेका थिए।

राजनीतिक यात्रा
दमननाथ ढुङ्गाना नेपालको प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ सालमा पहिलो सभामुख चयन हुनुभएको थियो। उहाँ नेपाली कांग्रेसका तर्फबाट काठमाण्डू क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। संसद्मा उहाँ सर्वसम्मत रूपमा सभामुख चयन हुनुभएको थियो।

सभामुखका रूपमा कार्यकालमा उहाँले संसदीय प्रणालीको विकास र अभ्यासलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निभाउनुभयो। विशेषगरी, २०४७ सालको संविधान निर्माणका क्रममा उहाँको योगदान अतुलनीय मानिन्छ। उहाँ उक्त संविधानको मस्यौदा बनाउन गठित आयोगमा नेपाली कांग्रेसका प्रतिनिधि हुनुहुन्थ्यो।

माओवादी शान्ति प्रक्रियामा भूमिका
देशमा एक दशकसम्म सशस्त्र विद्रोह चलाएका तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन ढुङ्गानाले नागरिक समाजको तर्फबाट नेतृत्वदायी भूमिका खेल्नुभयो। उहाँ माओवादीसँग भएको शान्ति वार्तामा सहजकर्ताको भूमिकामा समेत रहनुभयो।

२०४८ सालको निर्वाचनमा काठमाण्डूबाट निर्वाचित भएपछि ढुङ्गाना २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित हुनुभएको थियो। त्यसपछि उहाँ नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अलग हुनुभएको थियो। तर, उहाँले पार्टीका महत्त्वपूर्ण मुद्दामा बेलाबेला सुझाव दिने कार्यलाई निरन्तरता दिनुभएको थियो।

२०६२-६३ सालको लोकतान्त्रिक आन्दोलनमा पनि उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो। पछिल्लो समय उहाँ नागरिक अगुवाका रूपमा परिचित हुनुहुन्थ्यो।

व्यक्तिगत जीवन
दमननाथ ढुङ्गानाका दुई छोरा र एक छोरी छन्। उहाँकी धर्मपत्नी भुवन कोइराला ढुङ्गाना प्रसिद्ध कवि हुनुहुन्छ। उहाँ विगत डेढ दशकदेखि उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो।

उहाँको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
– राष्ट्रपति पौडेलले भन्नुभएको छ, “ढुङ्गानाको योगदान सधैँ स्मरणीय रहनेछ। उहाँले प्रजातन्त्र, मानव अधिकार, र संसदीय प्रणालीको विकासमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ।”
– प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “उहाँको निधनले नेपालको राजनीति र संसदीय अभ्यासमा ठूलो क्षति पुगेको छ।”
– प्रधानन्यायाधीश राउतले अस्पतालमै पुगेर शोक व्यक्त गर्नुभएको थियो।

शिक्षा, पत्रकारिता र वकालत
राजनीतिमा आउनु अघि ढुङ्गानाले केही समय शिक्षण र पत्रकारितामा पनि योगदान दिनुभएको थियो। उहाँ वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो र नेपाल बार एसोसिएशनमा दुई पटक सचिव र सर्वोच्च अदालत बार एसोसिएशनको अध्यक्षसमेत रहनुभएको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button