वीरगन्जमा कात्तिक २८ गते १० हजार छात्रालाई आत्मरक्षा तालिम

वीरगंजका छात्राहरुको आत्मबल सुदृढ बनाउने उद्देश्यका साथ बीरगंज महानगरपालिकाको आयोजनामा यही कात्तिक २८ गते आत्मरक्षा तालिम हुने भएको छ।
भारतका चर्चित अन्तर्राष्ट्रिय ट्रेनर चीता यजनेश शेट्टीले दिने प्रशिक्षणमा यहाँका १० हजार भन्दा बढी छात्राहरुलाई सहभागि गराउने लक्ष्य राखिएको नगर प्रमुख राजेशमान सिंहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रशिक्षणमा सहभागि हुन १२ हजार भन्दा बढी छात्राहरुले फारम भरेर बुझाइसकेको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए।
‘करिब १० हजार भन्दा बढी छात्राहरुलाई एकै ठाउँमा राखेर सामूहिक प्रशिक्षण दिलाईदा यसले गिनिज बुक अफ वल्ड रेकर्डमा रेकर्ड कायम हुने तयारी छ। यति ठूलो संख्यामा हुन लागेको प्रशिक्षण संभवत नेपालमै पहिलो हो। ‘गिनिज बल्ड’ रेकर्डमा नाम लेखाउन सकिए, यसले वीरगंजको मात्र नभई नेपालकै पहिचान कायम हुने छ,’ नगर प्रमुख सिंहले भने।
नेपाल भारत सहयोग मन्चको पहलमा तालिम गर्न लागिएको महानगरले बताएको छ। वीरगंजको आदर्शनगर रंगशालामा हुने आयोजकले बताएको छ।
को हुन् प्रशिक्षक शेट्टी ?
उनी एक अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस ट्रेनर हुन्। ‘उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् । ‘निर्भया’ नामक कार्यक्रम मार्फत विगत ५ वर्षमा उनले भारतभरका साढे १० लाखभन्दा बढी किशोरी एवं महिलालाई आत्मरक्षा तालिम प्रदान गरिसकेका छन् । यसका साथै अमेरिका, क्यानडा, चीन, हङकङ, मलेसिया लगायतका देशमा पुगेर समेत त्यहाँका महिला तथा किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरेका छन् । । थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित उनले प्रतिष्ठित संयुक्त राज्य मार्शल आट्र्स हल अफ फेम अवार्ड पनि प्राप्त गरेका छन्’ मेयर सिंहले भने ।



