
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ ।
त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । तराई क्षेत्रका जलाशय सजाएर झकिझकाउ पारिएको छ । संघीय राजधानी काठमाडौंका विभिन्न स्थान, नारायणगढ, मकवानपुरलगायतका जलाशयमा छठको तयारी गरिएको छ ।
तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको बताउनेहरु छन् । यो पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीकको रुपमा लिन थालिएको छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।



