तीन मौसमी प्रणालीको प्रभावले पहाडी भूभागमा वर्षा, कहिलेदेखि सुध्रिन्छ मौसम ?

मनसुन बाहिरिएको तीन सातामै तिहारको भाइटीकाको समयमा नेपालका अधिकांश पहाडी क्षेत्रमा भइरहेको वर्षाका लागि तीन प्रकारका मौसमी प्रणालीहरू जिम्मेवार रहेको मौसमविद्हरूले बताएका छन्।
मनसुनी वायु बाहिरिएपछि नेपालको मौसममा प्रभाव पार्ने पश्चिमी वायुका कारण आइतवारदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसपटकको वर्षामा पश्चिमी वायु, नेपालमा विकास भइरहेको स्थानीय वायु र भारतको पश्चिम बङ्गाल क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको मौसमविद् रोजन लामिछानेले बताए। “पश्चिमी वायुसँगै स्थानीय वायु र भारतको पश्चिम बङ्गाल क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीले विशेषगरी पहाडी क्षेत्रमा पानी पार्ने बादल विकास गरेको छ,” लामिछानेले भने।
वर्षा सकिएपछि नेपालमा बढ्दो तापक्रमका कारण स्थानीय वायु पनि आर्द्रतायुक्त हुने गरेको छ। यो स्थानीय वायुलाई पश्चिमी वायुले थप सहयोग गर्दा आइतवारबाट वर्षा भइरहेको लामिछानेले बताए। साथसाथै, भारतको पश्चिम बङ्गाल क्षेत्रमा तापक्रम बढेर न्यूनचापीय क्षेत्र बनेपछि हावा त्यता तानिँदै छ।
पश्चिम दिशाबाट आउने आर्द्रतायुक्त हावालाई ‘वेस्टर्ली’ अथवा पश्चिमी वायु भनिएको हो। अरब सागरबाट उत्पन्न हुने यो प्रणालीले नेपालमा मनसुन सकिएपछि वर्षा गराउने काम गर्छ। इरान, अफगानिस्तान र पाकिस्तान हुँदै आउने यो वायु भारतको उत्तराखण्ड हुँदै नेपाल प्रवेश गर्ने मौसमविद्हरू बताउँछन्। हिउँद याममा विशेष गरी पश्चिमी वायुका कारण नेपालमा हल्का वर्षा हुने गर्छ।
वर्षासँगै तापक्रम घटेको हुँदा नेपालको अधिकांश भूभागमा जाडो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डूमा सोमवार दिउँसोको औसत अधिकतम तापक्रम २० डिग्री सेल्सियस र रातिको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको छ।
यो वर्षाले सहरी क्षेत्रमा जम्मा भएको प्रदूषण हटाउन मद्दत पुर्याएको छ। मौसमविद्हरूका अनुसार हिउँदे बाली लगाउनका लागि यो वर्षाले सकारात्मक असर गर्नेछ। तर धान काट्ने समयमा परेको वर्षाले कृषकहरूलाई भने केही असर पुर्याएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हुँदा त्यहाँ घुम्न जानेले सावधानी अपनाउनुपर्ने मौसमविद्हरूले सल्लाह दिएका छन्।
मौसमविद्हरूका अनुसार, मङ्गलवारदेखि नेपालका अधिकांश भूभागमा मौसम सुधार हुने अपेक्षा गरिएको छ। तराई क्षेत्रहरूमा वर्षा क्रमशः घट्दै गइरहेको छ भने पहाडी क्षेत्रहरूमा हल्का वर्षा रहने सम्भावना छ। सोमवार राति र मङ्गलवार दिउँसो भारी वर्षाको सम्भावना भने छैन।



