एक सातापछि देशैभर चिसो बढ्ने, यो वर्ष किन ढिला शुरु भयो चिसो ?

अब एक सातापछि नेपालभर चिसो बढ्न थाल्ने अनुमान गरिएको छ। जलवायु तथा विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार नोभेम्बर ९ पछि तापक्रममा करिब ३ डिग्री सेल्सियससम्म गिरावट आउने अपेक्षा गरिएको छ, जसका कारण चिसोको प्रभाव उल्लेखनीय रुपमा बढ्नेछ।
यस वर्षको चिसो थोरै ढिला गरी सुरु हुने भएको छ। सामान्यतया कात्तिकको अन्तिमतिर तापक्रम घट्दै चिसो सुरु हुने गर्दछ। तर यस वर्ष चिसोको सुरुआत केही ढिला भएको कारण जलवायु परिवर्तनका विभिन्न कारणहरूलाई मानिएको छ।
भारतको मौसम विज्ञान विभागले पनि नोभेम्बर ९ पछि चिसो बढ्ने पूर्वानुमान गरेको छ। चिसोको प्रभाव मुख्यतया काठमाडौँ उपत्यकामा बढी देखिनेछ। हालै मात्र काठमाडौँको रातिको तापक्रम १६ डिग्री सेल्सियस पुगेको छ, जसले यस वर्षको ढिला चिसोलाई संकेत गरेको छ। त्यस्तै, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही स्थानमा हल्का वर्षा भएको छ, जसले थप चिसो महसुस भएको छ।
चिसो बढेसँगै मानिसहरूमा दम, रुघाखोकी, ज्वरोलगायतका समस्याहरू देखिन सक्ने सम्भावना जनाइएको छ। चिसो मौसममा विभिन्न रोगका जिवाणुहरू लामो समयसम्म हावामा जीवित रहनसक्ने भएकाले स्वास्थ्य विशेषज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन्। विशेषगरी, वृद्धवृद्धा, बालबालिका, र दीर्घरोगीहरूलाई थप सचेत हुन सल्लाह दिइएको छ। चिसोमा सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै तातो लुगा लगाउने, तातो पेय पदार्थको सेवन गर्ने, र थप सावधानी अपनाउनेमा जोड दिइएको छ।



