यसरी शुरु भयो दशैतिहारमा टीकाको ‘शुभसाइत’, आवश्यक छ कि छैन ?

दशैँ–तिहारमा टीकाको शुभसाइतको चलन कत्तिको आवश्यक छ भन्नेमा विवाद छ। केही मानिसको विचारमा पर्व विशेषमा साइत निकाल्न आवश्यक छैन, बरु यसले सांस्कृतिक रूपमा चलिआएका चलनप्रति अन्योल बढाएको छ।
नेपाल ज्योतिष परिषद्का पूर्वअध्यक्ष माधवराज पाण्डेका अनुसार, दशैँमा दशमीदेखि पूर्णिमासम्म जुनसुकै समयमा टीका लगाउन सकिन्छ र विशेष साइतको आवश्यकता छैन। “नित्यकर्मको रूपमा, जुन बेला भ्यायो, त्यो बेला टीका लगाउन सकिन्छ,” उनी भन्छन्।
तिहारमा पनि भाइटीकामा जुनसुकै समयमा टीका लगाउन सकिने प्रचलन रहेको र राजतन्त्रकालमा दरबार निकट पण्डितहरूले शुभसाइतको चलन राखेपछि मात्रै यो चलन बसेको उनको भनाइ छ। पाण्डेले पञ्चाङ्गको प्रकाशनअघि नै तिथिमिति ठिकसँग मिलाएर पात्रोमै स्पष्ट उल्लेख गर्नुपर्ने बताउँछन्।
“अहिले मुहूर्त र शुभसाइत सार्वजनिक गर्ने अनि त्यसलाई अल्पज्ञान भएका व्यक्तिहरूले सामाजिक सञ्जालमा भाइरल बनाउने प्रवृत्तिले समस्या थपिएको छ,” उनी भन्छन्। उनका अनुसार सुधारका लागि समिति स्वयंले पहिला ध्यान दिनु आवश्यक छ।
पाण्डे भन्छन्, “अहिले मानिसहरूले कुनै साइत नहेरी जुनसुकै महिनामा, यहाँसम्म कि सोह्रश्राद्धमा पनि विवाह गर्न थालेका छन्, जुन शास्त्रीय दृष्टिले ठिक होइन। तर ती नै मानिस दशैँ र तिहारमा शुभसाइत खोजिरहेका हुन्छन्।”



