देशमुख्य खबर

तिहारको रौनक : आज लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

यसपालि लक्ष्मीपूजा कुकुर तिहारकै दिन परेको छ। सामान्यतः कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ, तर यस वर्ष भने चतुर्दशीकै दिन लक्ष्मीपूजाको दिन निश्चित गरिएको छ।

पञ्चाङ्ग निर्णाय समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले यसबारे स्पष्ट पार्दै भने, “यस पटक कुकुर तिहारकै दिन बेलुकी औँसी पर्छ भने भोलिपल्टको दिन बेलुकासम्म औँसी नरहने हुँदा राति गरिने लक्ष्मीपूजाका लागि अघिल्लो दिन नै उपयुक्त हुन्छ।” उनको भनाइ अनुसार धार्मिक मान्यताका आधारमा तिथिगणना गरिँदा शास्त्रसम्मत निर्णय लिइएको हो।

वर्तमान पञ्चाङ्ग अनुसार यस वर्ष बिहीवार चतुर्दशी तिथि दिउँसो ३:१४ सम्म मात्र रहने र त्यसपछि औँसी सुरु हुने जनाइएको छ। उक्त दिन सूर्यास्त अपराह्न ५:१५ मा हुनेछ भने भोलिपल्ट शुक्रवार साँझ ५:१५ सम्ममा औँसी तिथि अन्त्य हुनेछ, र त्यो दिनको सूर्यास्त ५:१८ मा हुनेछ।

दुई दिन औँसी पर्ने हुँदा यसपालिको दोस्रो दिनको औँसीलाई ज्योतिषीय भाषामा “प्रदोष व्यापिनी अमावस्या” भनिन्छ। यस अवस्थाले गर्दा लक्ष्मीपूजा कहिले गर्ने भन्नेमा ज्योतिषी र धर्मशास्त्रीहरू बीच मतभेद देखिएको छ। समितिले भने राति लक्ष्मीपूजा गर्नुपर्ने भएकाले भोलिपल्ट औँसी भए पनि त्यो रातलाई नछुने भएकाले अघिल्लो दिन नै पूजा उपयुक्त हुने बताएको छ। भारतका शङ्कराचार्य जगद्गुरु अविमुक्तेश्वरले पनि बिहीवार लक्ष्मीपूजा गर्नुपर्ने तर्क गरेका छन्। तथापि, केही भारतीय ज्योतिषी र धर्मशास्त्रीहरूले शुक्रवार मनाउनुपर्ने धारणा राखेका छन्।

यस्तै, कार्तिक कृष्ण त्रयोदशीमा धन्वन्तरि उत्पन्न भएको मानिन्छ, तर जयन्तीहरू सामान्यतया ‘उप्रान्त’ अवस्थामा मनाइने हुँदा यस वर्ष बुधवार चतुर्दशीकै दिन धन्वन्तरि जयन्ती तोकिएको समितिले जनाएको छ।

पूर्णिमाका दिन चन्द्रमा पूरै उज्यालो हुन्छ भने औँसीमा पूर्ण अँध्यारो हुन्छ। चन्द्रमाका कलाहरूका आधारमा पूर्णिमा र औँसीसहित १६ तिथिको गणना गरिने चन्द्रमानमा आधारित प्रणाली धार्मिक र सांस्कृतिक क्रियाकलापमा धेरै प्रयोगमा आएको पाइन्छ। प्रतिपदादेखि पूर्णिमासम्म चन्द्रमाको उज्यालो बढ्दै जाने अवधिलाई शुक्लपक्ष भनिन्छ, भने त्यसपछि घट्दै जाने दिनहरूलाई कृष्णपक्ष भनिन्छ, जसको अन्तिम तिथि औँसी हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button