तिहारको मितिमा सधैं विवाद, टीकाको साइत कति बेला ?

धर्मशास्त्री र ज्योतिषीहरूबीच यस वर्षको तिहारका विभिन्न दिनहरू कहिले पर्ने भन्ने विषयमा मतभेद देखिएको छ। भारतमा समेत दीपावलीको मिति विवादित बन्दैगर्दा, जनमानसमा अन्योल उत्पन्न भएको छ। यसैबीच पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारदेखि छठसम्मका पर्वका मिति र मुहूर्तलाई सार्वजनिक गरेको छ। संस्कृति मन्त्रालयअन्तर्गतको यो समितिले चाडपर्वका दिनलाई आधिकारिक मानिन्छ।
समितिले यसपालि कुकुरतिहार, नरकचतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा बिहीवार एकैदिन पार्ने निर्णय गरेको छ। कतिपयले लक्ष्मीपूजा औँसीमा नभई चतुर्दशीमा परेको बताउँदै चासो व्यक्त गरेका छन्। भाइटीकाको मिति पनि साँझमै द्वितीया तिथि सकिने दिन तोकिएकोले रातको समयमा टीका लगाउने समुदायमा असन्तोष देखिएको छ।
समितिका पदाधिकारीले पात्रो, धार्मिक परम्परा, र व्यावहारिक पक्षलाई मध्यनजर राख्दै मिति निर्धारण गरिएको बताउँछन्। तर वैदिक पञ्चाङ्ग अभियान चलाइरहेका एक प्राध्यापकले भने अहिले प्रचलित पात्रोहरूको तिथिगणना प्रणालीमा सुधार नहुँदासम्म यस्ता विवाद आइरहने बताए। खण्डग्रास सूर्यग्रहण परेको बेलामा पनि यस्तै विवाद भएको थियो। यसपालि दशैंमा समेत महाष्टमी र महानवमीका दिनलाई लिएर विवाद उत्पन्न भएको थियो।
नेपालमा सरकारी स्तरबाट पात्रोमा उल्लिखित तिथिमिति र साइतमा विवाद लामो समयदेखि देखिँदै आएको छ। पञ्चायतकालदेखि नै राजकीय पञ्चाङ्ग समितिको निर्णयमा प्रश्न उठाउने गरिन्थ्यो। इतिहासकार नयराज पन्तको संशोधन मण्डलले प्रकाशित पूर्णिमा पत्रिकाले समेत राजकीय पञ्चाङ्गका त्रुटिलाई औँल्याउँदै आलोचना गरेको थियो।
विगत केही वर्षदेखि दशैं र तिहारमा तिथिहरूको दोहोरोपन वा असमञ्जसतालाई लिएर विवाद भइरहेकाले कतिपयले पञ्चाङ्ग सुधारको अभियान चलाएका छन्। तर सुधार पक्ष र यथास्थिति कायम राख्न चाहनेबीच मतभेद कायमै रहेको देखिन्छ।
पञ्चाङ्ग निर्णाय समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको तिहार तथा छठ पर्वका मुहूर्तहरू निम्नानुसार छन् –
- कार्तिक १४ गते बुधवार – कागतिहार, यम दीपदान, धन्वन्तरि जयन्ती
- कार्तिक १५ गते बिहीवार – कुकुरतिहार, नरकचर्तुदशी, दीपमालिका, लक्ष्मीपूजा
- कार्तिक १६ गते शुक्रवार – औँसी
- कार्तिक १७ गते शनिवार – गाईगोरुपूजा, गोवर्धनपूजा, बलिपूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ
- कार्तिक १८ गते आइतवार – यमद्वितीया, भाइटीका, किजापूजा, (भाइटीकाको शुभसाइत बिहान ११:३७ बजे पश्चिम मोहडा)
- कार्तिक २२ गते बिहीवार – छठ



