पर्सा प्रहरी कसरी बन्यो मीटर ब्याजका उजुरी फस्र्यौटमा मधेश प्रदेशमै अग्रणी ?

पर्सा जिल्ला अनुचित लेनदेन (मिटरब्याज) का विवाद समाधान गर्नेमा मधेश प्रदेशभरि अग्रणी बनेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अहिलेसम्म १,१८१ वटा उजुरी फछ्र्यौट गरेको जनाएको छ।
प्रहरीका अनुसार, स्थानीय जिल्ला प्रशासन कार्यालयबाट कारबाहीका लागि पठाइएका र प्रहरीमा परेका उजुरीहरूको अनुसन्धान गरी टुंगो लगाइएको हो।
प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार, असोज १६ सम्म २,२०७ ओटा उजुरी दर्ता भएका थिए। तीमध्ये १,६६२ उजुरी जिल्ला प्रशासन कार्यालयबाट आएका थिए भने ५४५ उजुरी प्रहरीमा सोझै दर्ता भएका थिए। अनुचित लेनदेनको उजुरी फछ्र्यौटको संख्यामा पर्सा जिल्ला मधेश प्रदेशमै अग्रस्थानमा रहेको भारतीले दाबी गरेका छन्।
फछ्र्यौट भएका उजुरीहरूमा ३४ करोड ११ लाख रुपैयाँबराबरको दाबी गरिएको थियो, जसमा २० करोड ९३ लाख रुपैयाँमा मेलमिलाप गरी टुंगो लगाइएको छ। यी उजुरीहरू फछ्र्यौट गर्दा २५ बिघा १ कठ्ठा ६ कनवा जग्गा र ती जग्गामा बनेका घर फिर्ता गराइएको छ। मेलमिलाप हुन नसकेका केही उजुरीहरूलाई भने मुद्दाको प्रक्रियामा लगिएको र १३ जनालाई पक्राउ गरिएको प्रहरी तथ्यांकमा उल्लेख छ।
अनुचित लेनदेनसम्बन्धी कानूनी संशोधनपछि अब यस विषयमा मुद्दा चलाउने बाटो खुलेको छ। सरकारले गत साउन १२ गते मुलुकी देवानी संहिता, मुलुकी अपराध संहिता, र मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरी अनुचित लेनदेनसम्बन्धी कार्यलाई कानूनीरूपमा कसुर मानिएको छ। यद्यपि, स्थानीय प्रशासनमार्फत उजुरी लिने र मेलमिलाप गराउने कार्य निरन्तर जारी रहेको छ।
प्रहरीले केही पुराना, १५-२० वर्षअघिका जग्गा बिक्रीमा पनि अनुचित लेनदेनको उजुरी आउने गरेको जनाएको छ। यस्ता विवादमा प्रमाणका आधारमा मात्रै अगाडि बढाउने गरिएको जनाइएको छ।



