No Image Headlineअर्थदेशमुख्य खबरराजनीति

हिरासतबाट छविको दाबी : सबै काम जीबी र रविको हो, मिडियाबारे म जानकार थिइनँ ​

सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक डीआईजी छविलाल जोशी बन्जाडे कास्की प्रहरीको हिरासतमा छन् । तीन दिनदेखि हिरासतमा रहेका उनलाई प्रहरीले काठमाडौंमा समातेकै दिन पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई पनि समात्ने तयारी थियो । तर, उनी समातिएनन् ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु राई जीबी राई र प्रबन्ध निर्देशक रवि लामिछानेका पार्टनर छविलाललाई प्रहरीले गत आइतबार पक्राउ गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अवैध ढंगले गोरखा मिडियामा ल्याएर अपचलन गरेपछि व्यापारिक साझेदारका रूपमा छविलाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाइएको हो ।

कास्की प्रहरीको हिरासतमा रहेका छविलाल बेला बेलामा रुदै बर्बराउँछन् । जीबी र रविसँग लाग्दा फसें भन्दै उनी हिरासतमै बर्बराउने गरेको कास्की प्रहरीका एक प्रहरी अधिकृतले सञ्चारमाध्यमलाई बताए ।

उनले बयानमै पनि सबै काम जीबी र रविले गरेको भन्दै आफ्नो कुनै गल्ती नभएको बताएका छन् । भाइ मेरो कुनै गल्ती छैन, सबै काम जीबी र रविको हो । मिडिया खोल्ने विषयमा म त्यति जानकार पनि थिइनँ, ​छविलाई उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने, जीबी र रविलाई समातेपछि धेरै कुराको पर्दाफास हुन्छ ।

हिरासतमा रहेका छविलालले खाना पनि मन लगाएर नखाएको उनले बताए । काठमाडौंमा पक्राउ गर्न आएका प्रहरीलाई उनले पैसा खर्च गर्ने हर्ताकर्ता रवि र जीबी भएकोले पहिला उनीहरूलाई समात्नु पर्ने बताएका थिए । प्रहरी हिरासतमा पनि उनले जीबी र रविजस्ता खराब व्यक्तिको संगतले आफू डुबेको बताउने गरेका छन् ।

जीवनभर राज्यको सेवा गरेर अवकाश भएपछि पनि चयनले बस्न पाइनँ, जीबी–रविको संगतले गर्दा म डुबें उनले प्रहरीसँग गुनासो गरिरहन्छन् । कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद पाएको छ । मंगलबार छविलाललाई सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको छ ।

रविकै पार्टीका तत्कालीन समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पनि अहिले कास्की प्रहरीकै हिरासतमा छन् । चिकित्सकको प्रस्क्रिप्सनबिनै औषधि पसलबाट ​मनोद्विपक पदार्थ बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

ढाकाकुमारविरुद्ध प्रहरीले लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको छ । लागुऔषध मुद्दामा प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

हिरासतमा बसेका छविलाललाई प्रहरीले डीआइजी साब भनेर सम्बोधन गर्छन् । जवाफमा छविलालले के गर्छौ भाइ कहिलेकाहीँ नखाएको विष पनि लाग्ने रहेछ । मैले नजानेको क्षेत्रमा प्रवेश नै गर्न नहुने रहेछ, छविलालले भन्ने गरेका छन् ।

कास्की प्रहरीका अनुसार छविवालविरुद्ध सहकारी ठगी र संगठित मुद्दा लगिएपछि रवि स्वतः अनुसन्धानको दायरामा तानिने भएका छन् । छविले बयानमा रविलाई पोले भने उनलाई पक्राउ गरेर मुद्दा चलाउनुको विकल्प नभएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनले भने, छविले बयानमा रविलाई पोले भने उनलाई पक्राउ गरेर मुद्दा चलाउनुको विकल्प छैन । जतिबेला आदेश आउँछ, उतिबेलै रविलाई पक्राउ गर्छौं ।

रविमाथि शुरूदेखि अनुसन्धान भएपछि मात्रै उनी दोषी हुन् वा होइनन् भन्ने कुरा अदालतले छुट्याउने ती प्रहरी अधिकृत बताउँछन् । त्यसो त छविले आइतबार पक्राउ पर्दै गरेका बेला पनि रवि र जीबीको नाम लिएका थिए । दोषी त रवि र जीबी हुन्, मलाई मात्रै किन समातेको ? रविलाई पनि समात भन्दै छविलालले प्रहरीलाई भनेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मोहनकुमार थापाले छविलाललाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको बताए । सहकारी ठगी र संगठित अपराधमा म्याद थप गरिएका छविलाई बयानको लागि सरकारी वकिल कार्यालय लगिएको छ, हामी अनुसन्धान गर्दैछौं, उनले भने ।

कास्की प्रहरीले सहकारी समितिले छविलालसँग लिएको बयान र उनीविरुद्धका प्रमाणलाई समेत केलाएर भेरिफिकेशन गर्दैछ । हामीले सहकारी छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दैछौं,’ एसपी थापाले भने, ‘त्यहाँ उल्लेख गरिएका विषय र प्रमाणलाई पनि आधार बनाउँछौं ।

रविका पार्टनर छविलाल पक्राउ परेसँगै रविलाई पनि पक्राउ गर्न प्रहरीलाई दबाब छ । छवि पक्राउ परेलगत्तै पोखरामा सहकारी पीडितहरूले प्रदर्शन गर्दै रविलाई पनि पक्राउ गर्न माग गरेका थिए । छवि पनि दोषी हो, रवि पनि दोषी हो भन्दै पीडितहरूले प्रदर्शन गर्दै उनीहरूलाई पनि पक्राउ गरी आफूहरूलाई न्याय दिन माग गरेका थिए ।

तर, रविले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । आइतबार राति पार्टी कार्यालय बनस्थलीमा आक्रोशपूर्ण शैलीमा रविले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले आफू निर्दोष रहेको बताइसकेपछि समितिको प्रतिवेदनको औचित्य नभएको बताएका थिए ।

प्रहरीका एक उच्च अधिकृतका अनुसार त्यसदिन रविले आत्तिएर भीड उतारेका थिए । उनले प्रहरी महानिरीक्षक, गृहमन्त्री र सत्ता पक्षकै नेताहरूलाई समेत फोन गरेका थिए । प्रहरीले तत्काल उनलाई पक्राउ नगरे पनि निगरानी भने गरिरहेको छ ।

सहकारी ठगी सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडियामा आएको सहकारीको ६५ करोड रुपैयाँ खर्च गर्ने क्रममा मिडियाका अध्यक्ष जीबी, सञ्चालक समिति सदस्य कुमार रम्तेल र छविलाल जोशी तथा तत्कालीन प्रबन्ध निर्देशक लामिछानको संलग्नता रहेको भन्दै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button