ओबामाका दाजुले ट्रम्पलाई सघाउने, कमला ह्यारिसलाई पुटिनको समर्थन !

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका सौतेला दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने भएका छन् । मलिक ओबामाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको एक मतदाता हुँ । म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु । ट्रम्प हृदयदेखि बोल्छन् ।’ बाराक ओबामाका सौतेला दाजु मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनको समयमा पनि ट्रम्पलाई समर्थन गरेका थिए ।
अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मलिकले ट्रम्पलाई मन परेको कारण उनी हृदयदेखि बोल्ने बताएका छन् । ‘मेक अमेरिका ग्रेट अगेन एक अद्भुत नारा हो, म ट्रम्पलाई भेट्न चाहन्छु’, उनले भनेका छन् ।
मलिक ओबामाले पूर्व राष्ट्रपति र उनका भाइ बराक ओबामाको आलोचना गर्दै स्वार्थी भनेका छन् । मलिक ओबामा पेशाले एकाउन्टेन्ट हुन् । बाराक ओबामा राष्ट्रपति हुँदा उनी ह्वाइट हाउस पनि गएका थिए । तर, पछि उनीहरूको सम्बन्ध चिसियो ।
मलिक ओबामाले सन् २०२२ मा एक सामाजिक सञ्जाल पोस्टमा लेखेका थिए, ‘म बराक ओबामाको राष्ट्रपतिकालमा उनीसँगै बसेँ तर पछि थाहा पाएँ उनी स्वार्थी थिए ।’ मलिक ओबामाले यसअघि बराक ओबामामाथि धेरै गम्भीर आरोप लगाएका थिए । यी मध्ये एक आरोपमा मलिकले बराक ओबामा अमेरिकामा जन्मिएका नभई केन्याका नागरिक भएको दाबी गरेका थिए ।
आफ्नो दावीको समर्थनमा मलिक ओबामाले ओबामाको नक्कली जन्म प्रमाणपत्र पनि पेश गरेका थिए । मलिक ओबामाले बारम्बार सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारहरू पोस्ट गर्छन् र समलिङ्गी विवाह र गर्भपतनको आलोचना गर्ने गरेका छन् ।
यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन् । पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । उनीअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध लगाएका थिएनन् ।

रुसको भ्लादिभोस्टोक सहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ भनेर सोधिएको थियो ?
जवाफमा पुटिनले भने, ‘यदि तपाईंले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिए । तर अहिले उनी पछि हटेका छन् । उनले कमला ह्यारिसलाई समर्थन गरेका छन्, त्यसैले म पनि त्यही गर्छु ।’
रसियन अनलाइन आरटीका अनुसार पुटिनले भने कमल ह्यारिसको व्यक्तिगत जीवनको पनि प्रशंसा गरेका छन् । ‘उनी खुल्लम-खुल्ला हाँस्छिन् । यसले उनको जीवनमा सबै राम्रै चलिरहेको देखाउँछ । यदि उनले सबै ठीक गरिरहेकी छिन् भने उनले रुसमाथि ट्रम्पले जस्तै प्रतिबन्ध लगाउने छैनन् । हुनसक्छ उनी यस चीजबाट बाँच्नेछिन् ’, उनले भनेका छन् ।
तर, पुटिनले अमेरिकी राष्ट्रपतिको बन्ने भन्ने छनोट गर्ने काम अमेरिकी नागरिकको भएको बताए । पुटिनले अमेरिकी जनताको रोजाइको सम्मान गर्ने बताएका छन् ।



