मिथ्या सूचना विवादपछि ब्रजिलमा एक्सलाई प्रतिबन्ध !

कानुनी प्रतिनिधि तोक्न विफल रहेको भन्दै इलोन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सलाई ब्रजिलमा प्रतिबन्ध लगाइएको छ।
एक जना सर्वोच्च अदालतका न्यायाधीशले अदालतका सबै आदेशको पालना र झन्डै ३० लाख डलर जरिवाना नतिरेसम्म विगतमा ट्विटर भनेर चिनिने उक्त सञ्जाललाई ‘ब्लक’ गर्न टेलिकम सेवा प्रदायकहरूलाई आदेश दिएका छन्।
ब्रजिलमा एक्सका २ करोड २० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। मिथ्या सूचना फैलाएको आरोप खेपेका दर्जनौँ एक्स अकाउन्टहरू निलम्बन गर्न ती न्यायाधीशले दिएको आदेशलाई लिएर लामो समयदेखि उत्पन्न विवादका माझ उक्त प्रतिबन्ध लगाइएको हो।
मस्कले उक्त आदेश राजनीतिक रूपले पूर्वाग्रही रहेको बताउँदै ती न्यायाधीशलाई अभिव्यक्ति स्वतन्त्रता ध्वस्त पारिरहेका एक जना तानासाहको संज्ञा दिएका छन्।
न्यायाधीश एलेसान्ड्री डी मोराइसले अदालतको आदेशहरूलाई पालना गर्ने र तोकिएका जरिवाना नतिरेसम्म ‘तत्कालै लागु हुनेगरी पूर्ण रूपमा रोक’ लगाउन आदेश दिएका थिए।
गएको एप्रिल महिनामा न्यायाधीशले मिथ्या सूचना फैलाएको आरोपमा दर्जनौँ खाताहरूमाथि प्रतिबन्ध लगाउन आदेश दिएपछि यस विवाद सुरु भएको थियो।
उक्त निर्णयबारे प्रतिक्रिया जनाउँदै एक्सका मालिक इलोन मस्कले भने: अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो तर ब्रजिलमा एक जना गैरनिर्वाचित नक्कली न्यायाधीशले राजनीतिक उद्देश्यले यसलाई ध्वस्त बनाइरहेका छन्।
मस्क जोडिएका श्रृङ्खलाबद्ध विवादहरूमध्ये सबैभन्दा पछिल्लो घटनाका रूपमा यसलाई हेरिएको छ। विगतमा एक्सको नियमनको विषयलाई लिएर युरोपेली सङ्घ र उनीबीच विवाद उत्पन्न भएको थियो।
यसै महिनाको सुरुमा उनको ब्रिटेनका प्रधानमन्त्री सर किअर स्टार्मरसँग पनि आरोप प्रत्यारोप चलेको थियो। ब्राजिलको दूरसञ्चार निकायका प्रमुखले अदालतको आदेशको कार्यान्वयनको दिशामा आफूहरू अघि बढेको उनलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले लेखेको छ।



