किशोरीहरुमा किन चाँडै रजस्वला हुन्छ, यसले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?

नयाँ अनुसन्धानले संयुक्त राज्य अमेरिकामा किशोरीहरूमा कम उमेरमै महिनावारी सुरु हुन थालेको देखाएको छ। दूषित वायुलाई त्यसका लागि जिम्मेवार ठानिएको छ। कैयौँ दशकदेखि वैज्ञानिकहरू अघिल्लो पुस्ताभन्दा कम उमेरमा बालिकाहरू किशोरी बनेको भन्दै चिन्तित हुँदै आएका छन्।
पहिलो पटक रजोदर्शन भएपछि बालिकाहरूको स्तनको विकास हुने अनि किशोरावस्थामा देखिने परिवर्तन चाँडोचाँडो देखा पर्ने उनीहरू बताउँछन्। एक शताब्दीअघिका अमेरिकी किशोरीसँग तुलना गर्दा अहिलेका किशोरीमा झन्डै चार वर्ष चाँडै महिनावारी सुरु हुने आकलन गरिएको छ।
मे महिनामा प्रकाशित नयाँ तथ्याङ्कका अनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका महिलामा १२.५ वर्षको उमेरमा महिनावारी हुने गरेको थियो। तर सन् २००० को दशकको प्रारम्भमा जन्मिएकाहरूको महिनावारी हुने उमेर औसतमा ११.९ वर्ष कायम भयो।
त्यही प्रवृत्ति संसारका अन्य देशमा पनि थियो। दक्षिण कोरियाका वैज्ञानिकहरूले समयअगावै किशोरावस्थामा पुगेको लक्षण देखिएका बालिकाबारे एउटा चिन्ताजनक तथ्याङ्क प्रस्तुत गरेका थिए। स्तनको विकास वा आठ वर्षको उमेरभन्दा अगावै रजस्वला हुने महिलाको सङ्ख्या सन् २००८ देखि सन् २०२० सम्ममा १६ गुनाले बढेको उनीहरूको भनाइ छ।
गास्किनजस्ता अनुसन्धानकर्ताहरू चाँडै किशोरावस्था सुरु हुँदा वयस्क उमेरमा दीर्घकालीन प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गर्छन्। प्रारम्भिक तथ्याङ्कहरूले यसले प्रजनन गर्न सक्ने समयावधि घटाइदिने सङ्केत गरेका छन्। विशेष गरी चाँडै रजोनिवृत्ति भएका महिलामा उक्त अवधि कम हुन सक्ने पाइएको छ। चाँडै किशोरावस्था देखा परेका महिलालाई स्तन र डिम्बाशयको क्यान्सरदेखि मोटोपन र टाइप टू मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम रहेको पाइएको थियो।
वैज्ञानिकहरूले यस्तो परिवर्तन हुनुको कारण खोजिरहेका छन्। तर बर्क्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रा ब्रेन्डा एस्कनाजीका अनुसार ुईस्ट्रजनुजस्ता यौन होर्मोनसँग शरीरका कोशिकाहरू लामो समयसम्म सम्पर्कमा आउँदा ट्यूमर बन्न सक्ने जोखिम पनि बढ्छ। किनभने होर्मोनले कोशिकाको वृद्धिलाई प्रेरित गर्छ।
एस्कनाजी चाँडै किशोरावस्थामा प्रवेश गर्ने बालिकाहरूको चाँडै यौनिक क्रियाशीलता पनि प्रारम्भ हुन सक्ने बताउँछिन्। संयुक्त राज्य अमेरिकामा एउटा भयावह अवस्था छ किनभने त्यहाँ गर्भपतन गैरकानुनी बनेको छ र गर्भनिरोधक साधनहरू पनि सहजै उपलब्ध छैनन्, उनले भनिन्। तर किन बालिकाहरूको हुने विकासको गति यसरी ह्वात्तै बढेको होला त ?
शरीरमा हुने दुई मुख्य सञ्चारसञ्जालले किशोरावस्था आरम्भ गराउँछन्। ती सञ्जाल हाइपोथल्यामिक पिट्यूइटरी अड्रीनल एचपीए एक्सिस र हाइपोथल्यामिक पिट्यूइटरी गोन्याडल एचपीजी एक्सिस हुन्।
ती दुईले मस्तिष्कको ुहाइपोथ्यालमसु भनिने भाग र होर्मोन उत्पादन गर्ने विभिन्न ग्रन्थिलाई जोड्छन्। हाइपोथ्यालमसले भोकजस्ता शारीरिक क्रिया र तापक्रम नियन्त्रणजस्ता गतिविधिलाई नियमन गर्छ।
गास्किन्सका अनुसार १० देखि २० वर्षअघिसम्म पनि वैज्ञानिकहरूले चाँडै किशोरावस्था देखा पर्नुमा बाल्यकालमा हुने मोटोपन दोषी रहेको ठान्ने गरेका थिए। चिल्लो उत्पादन गर्ने ुएडिपोकाइनु भनिने कोशिकाहरूले उत्पादन गर्ने प्रोटीनहरूले एचपीए एक्सिस र एचपीजी एक्सिसलाई उत्तेजित पार्ने ठानिन्थ्यो। हालै मात्र विज्ञहरूले ुहोइन, त्यसले सबै कुरा भन्दैन। अरू पनि कारणहरू हुनुपर्छ भन्न थालेका छन्।
बरु विगत तीन वर्षका कैयौँ अध्ययनहरूले अन्य कारण र त्यसमा पनि अझ आश्चर्यजनक ढङ्गले वायुप्रदूषणलाई प्रमुख कारण भएको औँल्याएका छन्। अधिकांश त्यस्ता अनुसन्धानहरू दक्षिण कोरियाका वैज्ञानिकहरूले गरेका छन्।
दक्षिण कोरियाका सोल, बुसान र इन्चोन विश्वका सर्वाधिक १०० प्रदूषित सहरमध्ये पर्ने ुआईक्यूएअर इन्डेक्सुले जनाएको छ। हालै सोलस्थित इह्वा विमिन्स यूनिभर्सिटीले प्रकाशित गरेको एउटा समीक्षात्मक वैज्ञानिक आलेखमा प्रदूषण गराउने विभिन्न तत्त्वहरूसँग सम्पर्क हुनु र अपरिपक्व उमेरमै किशोरावस्था आरम्भ भएको स्थिति बारम्बार देखा परेको औँल्याइएको छ।
सल्फर डाइअक्साइड, नाइट्रोन डाइअक्साइड, कार्बन मनोक्साइड र ओजोनजस्ता विषालु ग्यास यसका लागि मुख्य रूपमा जिम्मेवार छन्। यी सबै ग्यास सवारीसाधनबाट वा उद्योगबाट निस्किने फोहोरबाट उत्सर्जित हुन्छन्। सन् २०२२ मा पोलन्डका एक वैज्ञानिकले १,२५७ महिलाबाट सङ्कलित तथ्याङ्कका आधारमा गरेको अध्ययनले नाइट्रोजन ग्याससँग बढी सम्पर्क रहनु र ११ वर्षभन्दा अघिको उमेरमा रजस्वला हुनुबीच सम्बन्ध रहेको पाएको थियो। कोइलाबाट सञ्चालित उद्योगहरूका कारण पोलन्डमा वायुको गुणस्तर कमजोर रहेको ठानिन्छ।
सम्भवतः त्योभन्दा पनि बढी चिन्ताको विषय पार्टिक्युलेट म्याटर पीएम भनिने आँखाले देख्न नसकिने सूक्ष्मकण हो। भौतिक संरचना निर्माणस्थल, डढेलो, ऊर्जा उत्पादन केन्द्र, सवारीसाधनका इन्जिन र धुलाम्मे कच्ची बाटोबाट यस्ता कणहरू निस्किन्छन्।
अक्टोबर २०२३ मा गास्किन्स र उनका सहकर्मीहरूले आमाको कोख र बाल्यकालमा धेरै परिमाणमा पीएम२।५ र पीएम१० को सम्पर्कमा पुगेका किशोरीहरूमा कम उमेरमा नै रजस्वला हुने सम्भावना रहेको देखाएका थिए।
घरभित्र सङ्कलन गरिएका वायुका नमुनामा फेला परेका कणहरूको विश्लेषण गरिएको अध्ययनमा ती कणमा विभिन्न होर्मोनसँग अन्तरक्रिया गर्न सक्ने क्षमता भएको देखिएको थियो। मुख्यतः शरीरको विकासमा भूमिका खेल्ने एन्ड्रजन र ईस्ट्रजनमा तिनले अन्तरक्रिया गर्ने र किशोरावस्था आरम्भ गराउन ूचेन रियाक्शनू अर्थात् शृङ्खलाबद्ध प्रतिक्रिया गराउने ठानिन्छ।
अपरिपक्व समयमै त्यसरी शारीरिक विकास हुनुमा अन्य कारण पनि हुन सक्छन्। पर्यावरणमा पुगेका घातक रासायनिक तत्त्वहरू कसरी शरीरमा प्रवेश गर्छन् र होर्मोनमा परिवर्तन हुने गरी तिनले दूरगामी प्रभाव पार्छन् भन्ने कुराको एउटा उदाहरण पीएम२।५ र अरू प्रदूषकहरूसँग सम्बन्ध भएको प्रमाण रहेको गास्किन्स बताउँछिन्।
किशोरावस्थामा पुग्नुअघिका बालिकाहरू रोचक समूह हुन्। व्यक्तिगत स्याहारका सामग्रीहरूले पनि रासायनिक तत्त्वहरूसँगको सम्पर्कका कारण होर्मोनको प्रक्रियालाई अवरुद्ध पार्छन्, गास्किन्स भन्छिन्। अनि कैयौँ कम्पनीहरू सक्रिय रूपमा आफ्ना उत्पादनको बिक्री बढाउन उक्त उमेर समूहलाई लक्षित गर्दै छन्।
एस्कनाजीले बदलिँदो विश्व र यसमा आएका परिवर्तनले बालबालिकाको विकासलाई कसरी प्रभावित गरेका छन् भन्नेबारे अझै भन्न नसकिने बताए। हामीलाई माइक्रोप्लास्टिक र जलवायु परिवर्तनजस्ता विषयसँगको जटिल सम्बन्धबारे पनि धेरै कुरा थाहा छैन। बीबीसीको सहयोगमा



