No Image Headlineअर्थयस्तो पनि

‘अभियान’ को स्किम : साढे ३२ हजारको टिभी किन्दा ४० लाखको गाडी उपहार !

साढे ३२ हजार रुपैयाँ मोल पर्ने एउटा टेलिभिजन (टिभी) किन्दा ४० लाख रुपैयाँको गाडी पाइन्छ भन्दा पत्याउन सकिँदैन । तर, यो अपत्यारिलो वास्तविकता हो । एउटा टिभी उत्पादक कम्पनीले बजार विस्तारका लागि यस्तो स्किम ल्याएको हो ।

अभियान डिजिटल वल्र्ड प्रालिले आफ्नो उत्पादनको बजारीकरणका लागि आकर्षक उपहार योजना ल्याएको छ । स्वदेशमै उत्पादन प्रवद्र्धनको उद्देश्यले विद्युतीय सामग्रीको एसेम्बलमा लागेको यो कम्पनीले ‘अभियान’ ब्राण्डको टेलिभिजनको बिक्रीमा यस्तो उपहार योजना ल्याएको हो ।

अहिले ३२, ४० र ५५ इन्चमा टिभी उत्पादन गर्दै आएको उद्योगले ३२ इन्चको टिभीमा उपहार योजना घोषणा गरेको छ । यो योजनाअन्तर्गत ३२ इन्चको टिभी खरिदको स्किममा सहभागी ग्राहकले ४० लाख रुपैयाँको गाडीसम्म उपहार हात पार्न सक्ने सो कम्पनीका अध्यक्ष विष्णुप्रसाद काफ्लेले बताए ।

अध्यक्ष काफ्लेका अनुसार एकैपटक एकमुष्ट रकम तिरेर टिभी किन्न नसक्ने वर्गलाई ध्यानमा राखी यो योजना ल्याइएको हो । यसमा ग्राहकले प्रतिकिस्ता ११ सय ७५ रुपैयाँका दरले २७ किस्ता रकम बुझाएपछि टिभी प्राप्त गर्छन् । यो स्किम २ वर्षमा पूरा हुन्छ । र, सहभागी ग्राहकमध्येबाट प्रतिमहीना लक्की ड्रमार्फत उपहार घोषणा गरिन्छ ।

प्रत्येक महीनाका लागि २५ जनालाई वासिङ मेसिन, कुलर, फ्रिज, सिलाई मिसिन, दराज, २ तोला सुन र मोटरसाइकललगायतका उपहार राखिएको कम्पनीले जनाएको छ । कम्पनीले यो योजनाअन्तर्गत ग्राहकलाई उपहार प्रदान गरिरहेको छ ।

योजनाको अन्तिम पटकसम्म पनि कुनै प्रकारको उपचार हात नपार्ने एक जना ‘अनलक्की’ ग्राहकलाई भने कम्पनीले ४० लाख रुपैयाँ मूल्य पर्ने गाडी नै उपहार दिने कम्पनीको स्किममा उल्लेख छ ।

नगद बिक्रीमा साढे ३२ हजार मूल्य राखिएको टिभी स्किममा सहभागीले ३१ हजार ७२५ रुपैयाँमा प्राप्त गर्दछन् । यो स्किममा ७ हजार ९९९ ग्राहकलाई सहभागी गराउने योजना कम्पनीको छ ।

अन्य उत्पादन केके छन् ?

कम्पनीले भारत र चीनबाट पार्टपूर्जा ल्याएर टिभीसँगै वासिङ मेसिन र एअर कुलर पनि उत्पादन गर्दै आएको छ । निकट भविष्यमा एकअर कन्डिसन उत्पादन गर्ने योजना अभियान डिजिटलको छ । यो कम्पनीले आफ्ना सबै उत्पादन ‘अभियान’ ब्राण्डमा बजारमा ल्याएको छ ।

अभियानले टिभीमा १ वर्ष रिप्लेसमेन्ट र २ वर्ष मर्मतको वारेन्टी प्रदान गरेको छ । विद्युतीय सामग्रीमा औसत १० प्रतिशत कम्प्लेन हुने गरेकोमा आफ्ना उत्पादनमा १ प्रतिशतभन्दा पनि कम गुनासो आएको र त्यसलाई सम्बोधन गरिएको अभियानका वितरकहरूले बताएका छन् ।

उपहार प्रदान गरिँदै (तस्विरहरू)

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button