स्वास्थ्य/जिवनशैली

हेल्थ टिप्स : यस्ता छन् रुघाखोकी लाग्दा अपनाउनुपर्ने सावधानी

रुघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला धेरैलाई देखिन्छ। शरीरको प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिलाई मौसमी समस्या देखिन्छन्। मौसम बदलिने बेला हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति भन्दा भाइरसको सङ्क्रमण बढी हुन्छ।

रुघाखोकीलाई मेडिकल भाषामा सिजनल फ्लु भनिन्छ। यो धेरै भाइरसको कारणले हुन्छ। त्यसैले खानपानमा ध्यान दिनुपर्छ। मौसमी फलफूल सुन्तला, कागती र महको सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ।

बालबालिका सानोमा रुघाखोकी तथा पिनासबाट पीडित भएमा उनीहरूको पढाइलेखाइ नै प्रभावित हुन्छ। रुघाखोकीमा मन एकाग्र हुँदैन र पढेको विषय याद पनि हुँदैन। त्यसैले बालबालिकाको उचित ख्याल राख्नुपर्छ।

रुघा लागेको बेलामा ६, ७ दिन कठिन हुन्छ। यस्तो अवस्थामा मेडिकलमा गएर आत्तिएर एन्टिबायोटिक खुवाउनु पर्दैन। एन्टिबायोटिकले रुघाका भाइरसलाई कुनै असर गर्दैन।

यो मौसमी रुघाखोकीको बेलामा जो कोहीले पनि अरूको अगाडि बस्दा मास्कको प्रयोग गर्नुपर्छ। हाछ्यु गर्दा मुख छोप्ने यसरी अरूमा सर्नसक्ने सम्भावना निकै कम भएर जान्छ। सङ्क्रमितले अरूको सामान प्रयोग गर्नु हुँदैन। धेरै भीडभाडमा जानुसमेत हुँदैन। जो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम छ उसमा यो छिटो सर्छ।

मौसमी फ्लुमा सबैभन्दा पहिला ज्वरो १०० डिग्री भन्दामाथि जाँदैन। यसका लक्षणहरू आँखा रसाउने नाकबाट पानी बग्ने, खोकी लाग्ने हुन्छ। यसको लागि रगतको जाँच गरेर पनि थाहा हुन्छ। सास फेर्न निकै गाह्रो भयो भने अस्पताल जानुपर्छ। खकारमा रगत देखा पर्यो र मुटुको ढुकढुकी बढ्यो भने पनि तुरुन्त अस्पतालमा गएर रगत र खकारको जाँच गर्नुपर्दछ।

मौसमी फ्लु कसैलाई तीनदेखि पाँच दिनसम्म रहन्छ। कसैलाई सात दिनसम्म पनि रहन्छ। त्यस्तो भयो भने, झोलिलो खानेकुरा खानुपर्छ। सुन्तला खाने, फ्रिजमा भएका खाना नखाने गर्दा यो आफै हराएर जान्छ। यो पाँच दिन भन्दा बढी लम्बियो भने तुरुन्त अस्पताल गएर परामर्श लिनुपर्दछ।

रुघाखोकी लागेको बेलामा हामीले सिटामोल खाने भन्छौ। यदि कुनै मान्छेमा ज्वरो आएको छ भने सिटामोलबाहेक अरू औषधि खानु हुँदैन। त्यसले उल्टो असर गर्नसक्छ। झोलिलो खानेकुरा खाने गर्नुपर्छ। जथाभावी औषधि खानु हुँदैन। कुनै औषधिको मात्रा पुगेन भने हाम्रो शरीरभित्र भएका कीटाणुहरू मर्दैनन् र पछि त्यही औषधि खाँदा त्यो कीटाणु मर्दैनन्। त्यसको असर दीर्घकालसम्म रहन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा जसमा उसिनेको अण्डा खाने, त्यसमा पनि ४० वर्ष कटेकाले अण्डाको सेतो भाग मात्र खाने गर्नुपर्छ। स्याउ र सुन्तला खानु राम्रो हुन्छ। यस्तो अवस्थामा बासी खाना खानु हुँदैन। पानी मनतातो बनाएर खाने गर्नुपर्छ। बिहान ३० देखि ६० मिनेट जति घाममा बस्ने, कागतीको सेवन गर्ने, चिसोबाट बच्ने र मौसमी फलफूलको सेवन गरेर मौसमी रुघाखोकीबाट बच्न सकिन्छ।

रुघाखोकी भनेको भाइरसको कारणले हुने हो। त्यसैले यसमा एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन। झोलिलो खाना खाने, सिटामोल खाँदा यो आफै निको हुन्छ र भएन भने चिकित्सकको सल्लाहमा अरू औषधि खान सकिन्छ। बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियो पदार्थहरू सेवन गर्नु हुँदैन। जाडोमा न्यानो कपडा लगाउने गर्नुपर्छ।

सम्बन्धित समाचार :

Back to top button