पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको ब्याज तीन गुणा बढी, कता जाँदैछ अर्थतन्त्र ?

अर्थव्यवस्थामा सरकारी ऋणको चाप थपिँदै गएको छ । योसँगै सरकारले चुक्ता गर्नुपर्ने ऋणको ब्याज पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८०८१ को पहिलो तीन महिनामा सरकारले गरेको पूँजीगतखर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ ।
सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले रू २५ अर्ब ७८ करोड ९० लाख बराबर पूँजीगतखर्च गरेको छ ।
त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न रू ६७ अर्ब ७० करोड ७१ लाख खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पूँजीगतखर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीनगुणाले बढी हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा रू ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज रू १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कूल रू ५६ अर्ब ५५ लाख ६७ लाख बराबर भुक्तानी भएको छ ।
त्यस्तै, बाह्य ऋणको रू ८ अर्ब ७० करोड ३६ लाख साँवा र रू २ अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कूल रू ११ अर्ब १५ करोड ४ लाख बराबर भुक्तानी भएको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र रू ९ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कूल रू १ खर्ब ६ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ । योसँगै नेपालको कूल सार्वजनिक ऋण रू २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ ।



