जीन सम्पादन गरेर रोक्न सकिन्छ बर्ड फ्लु

अनुसन्धानकर्ताहरूले जीन वंशाणु सम्पादन प्रविधि प्रयोग गरी बर्ड फ्लू रोग प्रतिरोध गर्न सक्ने आंशिक क्षमता भएका कुखुरा विकास गरेका छन्। ती कुखुरा बर्ड फ्लूबाट पूर्ण रूपमा सुरक्षित नभए पनि वैज्ञानिकहरू तीन वर्षभित्र उक्त रोग लगाउने भाइरसलाई रोक्न सकिने विश्वासमा छन्।
अहिलेको परिणामले कुखुराको डीएनएमा थप परिवर्तन गरेर तिनलाई बर्ड फ्लू प्रतिरोध गर्न समर्थ बनाउन सकिने देखिएको छ। तर आलोचकहरू जीन सम्पादनबाट रोगको वास्तविक कारणलाई फरक नपार्ने औँल्याउँछन्।
यूनिभर्सिटी अफ एडिन्बराको रोस्लिन इन्स्टिट्यूटमा कार्यरत प्राध्यापक हेलेन साङका अनुसार कुखुराको जीन सम्पादन गर्ने टोलीले उल्लेख्य प्रगति गरेको छ।
कुखुरामा बर्ड फ्लू भाइरसको सङ्ख्या बढ्न महत्त्वपूर्ण हुने ठानिएका तीनवटा जीन अनुसन्धानकर्ताहरूले पत्ता लगाए। उनीहरूले तीमध्ये एउटा जीनमा जीन सम्पादन विधि प्रयोग गरी दुइटा साना परिवर्तन गरे।
ती कुखुरामा दुई वर्षसम्म कुनै दुष्प्रभाव देखिएन। तिनमा बर्ड फ्लूविरुद्ध लड्ने क्षमता बढेको पाइयो। तर उच्च मात्रामा भाइरसबाट सङ्क्रमण गराउँदा आधाजति कुखुरामा बर्ड फ्लू सर्यो।
प्रतिरोध क्षमता बढेको पाइनु उत्साहवर्धक उपलब्धि भए पनि पूर्ण प्रतिरोध हात पार्न सक्ने उपाय मात्र व्यवहारमा उपयोगी हुन्छ।
आंशिक प्रतिरोध क्षमता विकसित गराउने उपाय प्रयोग गर्दा भाइरसले पनि आफूअनुकूल परिवर्तन हुने अवसर पाउँछ। त्यस्तो उपाय व्यापक रूपमा प्रयोग गरिएको छ र भाइरसमा मानिसलाई घातक हुने खालको उत्परिवर्तन भयो भने अर्को वैश्विक महामारीको खतरा निम्तिन सक्छ।



