स्वास्थ्य/जिवनशैली

डेंगु भएको कसरी थाहा पाउने, यस्ता छन् रोकथामका उपाय

डेंगु संक्रमण एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने रोग हो। डेंगु ज्वरो पाँचदेखि सात दिनसम्म रहनसक्छ। डेंगु लागेमा मानिसको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। जसले गर्दा मानिस कमजोर हुने र सिकिस्त हुने हुन्छन्।

डेंगु ज्वरो तीन प्रकारको हुन्छ। जसमा सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम। हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ। सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ।

आफूलाई डेंगु भएको कसरी थाहा पाउने ?
लगातार ज्वरो आउने र ज्वरो १०४ सम्म जाने हुन्छ। तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउछ। डेंगु ज्वरो आउँदा शरीरको तापक्रम बढ्छ। यसकासाथै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने हुन्छ। यस्तो भयो भनेर दुखाई कम गर्ने वा लट्याउने खालका औषधिको सेवन गरेर बस्नु हुँदैन। तुरुन्त अस्पतालमा जानुपर्छ।

डेंगुको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने, आँखा रातो हुने र दुख्ने हुन्छ। टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, फ्लुजस्तो लक्षण देखिने र शरीरमा आलस्य हुने लगायतका लक्षणहरू देखा पर्छन्। यसका साथै गिँजा तथा आन्द्राबाट रक्तश्राव हुने, लगातार वान्ता हुने, वान्तामा रगत देखिने, कालो दिसा हुने, अत्यधिक तिर्खा लाग्ने कमजोरी महसुस हुने हुन्छ। डेंगु संक्रमण हुँदा रगतमा पानीको मात्रा कम भएर रक्तचाप कम हुँदा डेंगु बिरामी सिकिस्त भएर बेहोस हुनेसम्म हुनसक्छन्।

डेंगु सर्ने माध्यम 
यो भाइरस डेंगु संक्रमित भएको व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले सामान्य व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ। कुनै व्यक्तिलाई बाघे लामखुट्टेले टोके लगत्तै अर्को व्यक्तिलाई टोक्यो भने सर्छ। यो भाइरस एक अर्कोमा सामान्य रुपमा हात मिलाउँदैमा, अंगालो मार्दैमा र सँगै खाना खाँदैमा सर्दैन।

 ध्यान दिनुपर्ने कुरा 
यसमा ज्वरो आउँदा प्यारासिटामोल मात्र खाँदा हुन्छ। तर बिरामी आफैलाई धेरै गाह्रो भएर फ्लेक्सनहरु किनेर खानु हुँदैन। डेंगुको ज्वरो सामान्यतया पाँचदेखि सात दिनमा आफै सन्चो भएर जान्छ। आफ्नै घरमा फलफूल, रोटी, साग, तरकारी खाने, झोलिलो खाना खाने, आफूलाई धेरै नै गाह्रो भयो भने अस्पताल गएर रगतको परीक्षण गर्नुपर्छ। अरु कुनै पनि धेरै औषधि खानु हुँदैन।

डेंगुको रोकथामका उपाय
– डेंगुबाट बच्ने पहिलो उपाय भनेको नै लामखुट्टेको टोकाईबाट बच्ने हो।
– पानी जम्न सक्ने भाँडा बाहिर नराख्ने।
– पानीको ट्याङ्कीमा लामखुट्टे पस्न नदिने गरी राम्ररी ढाकेर वा बिर्को लगाएर राख्नुपर्छ।
– फूलदानी वा गमलामा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ।
– राति र दिउँसो पनि झुलभित्र सुत्नुपर्छ।
– घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउनु उपयुक्त हुन्छ।
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने धुप र मल्हम लगाउन सकिन्छ।
– दिउँसो बाहिर हिँड्दा पनि टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ।
– सबै मिलेर आफ्नो घर वरीपरी मात्र होइन समुदाय, समाजलाई पनि सफा राख्नुपर्छ।
– घर नजिकै भएका पानी जम्ने खाल्डा पुर्नुपर्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button