स्वास्थ्य/जिवनशैली

डेङ्गीबारे थाहा पाइराख्नुपर्ने केही कुरा, लागिहाले के गर्ने ?

अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ। गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पुर्‍यायो। डेङ्गीले यो वर्ष पनि उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सन् २०२३ को जनवरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। यो रोग हालसम्म ७४ वटा जिल्लामा फैलिसकेको छ।

विक्रम संवत् २०८० सुरु भएयता डेङ्गीकै कारण १० जनाले ज्यान गुमाइसकेका छन्। पानी पर्ने मौसम भएकाले जोखिम बढ्दो छ। अझै तीनदेखि चार महिना ढुक्क हुने अवस्था छैन। सबैले सावधानी अपनाउनुपर्छ, कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले भने।

सर्वसाधारण मानिसले यो रोगले पार्ने असरबारे बुझ्नु र सावधानी अपनाउनु नै डेङ्गी नियन्त्रणका लागि प्रभावकारी हुने डा दाहालको ठहर छ। प्रकोपको रूप लिन सक्ने डेङ्गी रोगबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा शेरबहादुर पुनले डेङ्गी रोगसँग सम्बन्धित केही प्रश्नको उत्तर दिएका छन्।

डेङ्गी के हो र कसरी सर्छ ?

डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो। विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको एउटा प्रमुख चुनौतीको रूपमा हेरेको डेङ्गी नेपालमा प्रायः मनसुन सुरु हुनुभन्दा अघिदेखि मनसुन सकिएसम्मै फैलिन्छ।

नेपालमा यो पहिलो पटक सन् २००४ मा देखिएको बताइन्छ। सन् २००६ देखि केही वर्षको अन्तरालमा प्रकोपको रूपमा यो फैलिने गरेको देखिएको छ। सन् २०१९ र सन् २०२२ मा भने यसले ठूलो मानवीय क्षति गरेको अधिकारीहरूले बताएका छन्।

विशेषगरी एइडीज इजिप्टी वा एइडीज आल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट यो रोगको भाइरस मानिसमा सर्छ। भाइरस सार्ने यी दुवै प्रजाति नेपालमा छन्। यी प्रजातिका लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुन्छन्।

तर यिनले राति टोक्दै टोक्दैनन् भन्ने हुँदैन। जुनसुकै समयमा यस्ता लामखुट्टेबाट जोगिनु भनेकै डेङ्गीबाट जोगिनु हो। झट्ट हेर्दा कुन लामखुट्टेले डेङ्गी भाइरस बोक्छ वा कुनले बोक्दैन भन्ने छुट्टाउन गाह्रो हुन्छ।

तर एइडीज प्रजातिका लामखुट्टेहरू प्रायः सेतो र कालो रङ्ग मिसिएका हुन्छन्। ती ‍जीब्राको जस्तो छिर्केमिर्के रङ्गका हुन्छन्। यी प्रजाति अन्य लामखुट्टेभन्दा केही भिन्न रङ्ग र आकारका हुन्छन्। त्यसको टोकाइबाट जोगिन पर्‍यो।

कसरी जोगिने त ?

लामखुट्टेको टोकाइबाट बच्नुहोस् भन्न र उपायहरू सुझाउन सहज हुन्छ। तर यसलाई व्यवहारमा उतार्न उत्तिकै गाह्रो छ। किनकि हामीले लामो बाहुला भएको लुगा लगाउनुहोस् भन्छौँ तर त्यति मात्र पर्याप्त हुँदैन।

डेङ्गी सार्ने लामखुट्टे दिउँसो सक्रिय हुन्छन्। त्यस समय हामी पनि आफ्नो काममा व्यस्त हुन्छौँ। सतर्क बस्ने फुर्सद नै हुँदैन। दिनको समयमा अरू आवाज चर्को हुने भएकाले लामखुट्टे कराएको पनि खासै सुनिँदैन।

लामखुट्टेको आनीबानीकै कारण पनि यसबाट बच्नु चुनौतीपूर्ण छ। त्यसैले लामखुट्टेको वृद्धि नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय हो। त्यसका लागि सहजै देख्न सकिने लार्भा र प्युपा नष्ट गर्नुपर्छ।

रक्त समूहअनुसार लामखुट्टेले कसैलाई धेरै वा थोरै टोक्छ भन्ने हुन्छ ?

कुनै रक्त समूहका मानिसप्रति लामखुट्टे तुलनात्मक रूपमा बढी आकर्षित हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो।

यो निष्कर्ष अन्य विभिन्न रोगहरूको हकमा पनि लागु हुन्छ। तर त्यसो भन्दैमा मेरो रगत समूह यो हो मलाई लामखुट्टेले टोक्दैन भनेर बस्नु हुँदैन। प्रत्येक व्यक्तिले जोगिनुपर्छ।

लामखुट्टेलाई वरपर आउनबाट रोक्नुपर्छ। किनकि त्यो तपाईँप्रति कम आकर्षित होला तर तपाईँकै परिवारका अन्य सदस्यलाई डेङ्गी सार्न सक्छ।

डेङ्गी भइहालेको खण्डमा कस्ता लक्षणहरू देखिन्छन् ?

अचानक ज्वरो आउँछ। टाउको, जोर्नी, ढाड र पिँडुलाको मासु बेस्सरी दुख्छ। आँखाको गेडी खस्ला जस्तै हुन्छ। खानै मन नलाग्ने र वाकवाकी लाग्ने हुन्छ। यी लक्षणहरूलाई समग्रमा डेङ्गी फिभर पनि भन्न सकिन्छ। यी सबै प्रारम्भिक लक्षण हुन्।

अवस्था गम्भीर हुँदै जाँदा नाकबाट ह्वालह्वालै रगत बग्न सक्छ। ज्यान असाध्यै दुख्छ, उठ्नै नसक्नेगरी। तारन्तार बान्ता हुन्छ। यी लक्षणहरू चेतावनी हुन् र यस्ता सङ्केत कम नभए अस्पताल जानुपर्छ।

चिकित्सकहरूले शरीरको आन्तरिक जाँच गरेपछि कतिपयको पेटमा पानी जमेको देखिन्छ। कतिपयको कलेजोको आकार नै बढेको हुन्छ। अनि अधिक रक्तस्राव अर्को लक्षण हो। यसपछि पनि जटिलता थपिए बिरामी अचेत हुन्छन्। रगतमा प्लेट्लटको मात्रा घट्छ।

प्लेट्लट घट्दा के गर्ने ?

सन् २०१० ताका डेङ्गीका बिरामीहरूमा प्लेट्लटको मात्रा घट्दा हामी आत्तियौँ। प्लेट्लट घट्दा बिरामीको गिजा, नाकलगायत शरीरको विभिन्न भागबाट रक्तस्राव हुन्थ्यो। त्यस्तो अवस्थामा हामीले प्लेट्लट ५०,००० भन्दा कम हुनासाथ रगत दिने गर्थ्यौँ।

प्लेट्लट मानिसको रगतमा हुने एक प्रकारको कोशिका हो। यसले शरीरमा कुनै पनि किसिमको चोट लागेर वा अन्य स्वास्थ्य समस्याका कारण हुने रक्तस्राव रोक्न सहयोग गर्छ। सामान्यतया मानव शरीरमा प्रतिमाइक्रोलिटर रगत बराबर १।५ लाखदेखि चार लाख प्लेट्लट हुनुपर्ने बताइन्छ।

अहिले बिरामीको स्वास्थ्यमा अन्य समस्या छ भने चिकित्सकको विश्लेषणअनुरूप प्लेट्लस २०,००० भन्दा कम हुनासाथ रगत दिन्छौँ। यदि अन्य शारीरिक जटिलता छैन भने १०,००० भन्दा कम नहुँदासम्म रगत चढाउँदैनौँ।

डेङ्गी भएका मानिसलाई दोहोर्‍याएर सङ्क्रमण हुन्छ कि हुँदैन ?

डेङ्गी सङ्क्रमण भएलगत्तै फेरि उही समस्याले सताउने सम्भावना कम हुन्छ। तर केही समयपछि फेरि सङ्क्रमण हुनसक्छ। त्यस्तो अवस्थामा पहिलेको भन्दा फरक सीरोटाइप सङ्क्रमण भएमा अवस्था जटिल बन्ने अनुसन्धानहरूले देखाएको छ। सीरोटाइपु कुनै पनि सूक्ष्मजीवको विभिन्न प्रकार वा प्रजातिको वर्गीकरण हो।

डेङ्गी भाइरस सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यस रोग चार प्रकारका छन्। त्यसलाई सीरोटाइप वन, सीरोटाइप टू, सीरोटाइप थ्री र सीरोटाइप फोरमा वर्गीकरण गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना मानिसलाई पटकपटक गरी यी चारै प्रकारका डेङ्गीको सङ्क्रमण हुन सक्छ।

के डेङ्गीको दीर्घकालीन असर हुन्छ ?

यो चर्चा गरिनुपर्ने तर नगरिएको विषय हो। हिजोआज धेरै बिरामीहरूमा पोस्ट डेङ्गी सिन्ड्रोम देखिएको छ। यस्ता समस्यासँग जुधिरहेका बिरामीहरूलाई सुत्न गाह्रो हुने, खान मन नलाग्ने समस्या देखिएको छ। कतिपय बिरामीलाई भने मानसिक तनाव बढेको देखिन्छ।

लक्षणअनुसार रोगको औषधोपचार गर्नुपर्छ। धेरै समस्या परे अस्पताल जानुपर्छ। चिकित्सकको परामर्शबमोजिम उपचार गरिन्छ। सामान्य लक्षण ठीक पार्ने घरेलु उपायहरू पनि हुन्छन्।

तर गत वर्ष मेवाको पातलगायत खाएर ठिक हुन्छ भनेको सुनियो। म यस विषयको विज्ञ होइन त्यसैले त्यो सही हो या होइन भन्दिनँ तर यस विषयका जानकारहरूले बिरामीलाई सही ढङ्गमा कति पटक वा कति मात्रा खानेरु कसरी खानेलगायत जानकारी दिनुपर्‍यो।

किनकि धेरै बिरामीहरू मेवाको पात खाएर ढलेको विवरण लिएर आएका थिए। उनीहरूलाई घरेलु उपाय अपनाउने सही तरिका सिकाउनुपर्छ। सरकारले पनि त्यस्ता विषयको नियमन गर्नुपर्छ।

लामखुट्टे धपाउने धूप वा क्रीमहरू त प्रभावकारी होलान् नि ?

डेङ्गीबाट जोगिनु भनेको लामखुट्टेबाट जोगिनु हो। लामखुट्टेबाट जोगिन मानिसहरूले विभिन्न रिपेलन्ट प्रयोग गर्छन्। त्यसको असरबारे हालसम्म कुनै चर्चा भएको छैन तर प्रभावकारिताबारे प्रश्न उठ्ने ठाउँ चाहिँ छ। किनकि धेरै बिरामीहरू क्रीम लगाउँदा लगाउँदै वा धूप बाल्दाबाल्दै पनि लामखुट्टेले टोकेर डेङ्गी भयो भन्ने गुनासो बोकेर आएको थुप्रै उदाहरण छ।

बीबीसीको सहयोगमा तयार पारिएको स्वास्थ्य सामग्री

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button