हर्निया किन हुन्छ, कसरी हुन्छ यसको उपचार ?

कुनै कारणवश मानव शरीरको मांसपेशीको कमजोरीको कारणले भित्रको अङ्ग बाहिर निस्केर एक प्रकारको समस्या दिने कारण नै हर्निया हो। कुनै पनि कारण जसले पेटको मांसपेशीलाई कमजोर गर्दछ।
यस्तो अवस्थामा हर्निया हुने सम्भावना हुन्छ । यो साधारणतया शरीरको कुनै पनि भागको मांसपेशीमा रहेको कमजोरी र त्यसमा लगातार पर्ने दबाबका कारण हुने गर्दछ। पेटको शल्यक्रियापश्चात् हर्निया हुनसक्ने सम्भावना धेरै रहन्छ ।
धेरै प्रकारको र धेरै ठाउँअनुसारको र धेरै किसिमका हर्निया हुन्छन् । सबै भन्दा कमन पेटको हर्निया हुन्छ । पेटको हर्नियामा एउटा बाहिरी र अर्को भित्री गरे दुई प्रकारका हुन्छन् । महिलाहरूको तुलनामा पुरुषहरूमा हर्निया २५ गुणा बढी पाइन्छ ।
पुरुषहरू महिलाको तुलनामा शारीरिक रूपमा काम बढी गर्ने, ठुलो कुरा उचाल्ने हुनाले हर्निया हुन्छ। पुरुषहरूले बढी खेतका कम गर्ने भएको कारणले हुने हो ।
ठुलो भारी बोक्ने र बलको काम गर्नेहरुमा यो समस्या बढी देखिन्छ । कतिपयमा भने जन्मजात नै हुने गरेको छ । उमेर बढ्दै गएपछि पिसाब गर्दा कन्ने समस्या हुने हुँदा पनि यो समस्या हुन्छ।
धूम्रपान गर्नेहरूको मांसपेशी कमजोर हुँदै जाने, शल्यक्रियापछि टाँका लगाएको ठाउँमा मांसपेशी काटियो भने टुक्रुक्क भएर बस्दा पनि हर्निया हुनसक्छ । सामान्य अर्थमा भन्नुपर्दा केही बल पर्ने कामहरू गर्दा हर्निया हुन्छ ।
जस्तो: मोटोपन, अत्यधिक भारी तौल उठाउँदा मांसपेशी तन्किएर कमजोर भएर हर्निया हुने सम्भावना हुन्छ । कसैमा हर्निया जन्मजात नै हुनसक्छ । वृद्धहरूमा प्रोस्टेटको समस्याका कारण पिसाब गर्दा बल गर्नुपर्ने हुँदा पेटभित्रको प्रेसर बढेर आउँदा हर्निया हुने सम्भावना उच्च हुन्छ ।
कब्जियत भइराख्ने मानिसमा पनि हर्नियाँ हुन्छ किनभने दिसा गर्न बलको प्रयोग गर्नुपर्छ । जस कारण मांसपेशी कमजोर हुन्छ । दमको बिरामी जसलाई अत्यधिक खोकी आउँछ । उनीहरूमा पनि हर्निया हुने सम्भावना हुन्छ । बाहिरको खानेकुरा धेरै खाने, फाइबर कम भएको खानेकुरा खाने र धेरै मात्रामा खाने व्यक्ति मोटोपनको सिकार हुने गर्छन् । त्यसैले मोटोपना हर्निया हुनुको एक प्रमुख कारण हो।
हर्निया कहिलेकाहीँ दुखाई नभई पनि हुनसक्छ । बाहिर धेरै उभिँदा फिल भयो भने, पेटको प्रेसर बढ्दा, खोक्दा दिसा गर्दा बल गर्दा केही बाहिर निस्किने र आराम गर्दा भित्र जाने हुन्छ। कहिले काहीँ हर्नियाको प्रेसरले गर्दा दुखाइहरू हुने हुन्छ।
हर्निया भएको शंका लाग्यो भने तुरुन्त जाँच गर्नुपर्छ । किनभने हर्नियामा आन्द्रा कुहिएपछि क्यान्सर भन्दा पनि बढी खतरनाक हुन्छ। तुरुन्त अप्रेसन गरेन भने बिरामीको ज्यान पनि जानसक्छ।
हर्नियाको हुनै औषधिको माध्यमबाट उपचार हुँदैन । यसको उपचार प्रणाली भनेको नै अप्रेसन गरेर सन्चो हुने हो । यो भनेको एक प्रकारको पेटमा परेको प्वाल हो । त्यसमा औषधि खाएर हुँदैन। अप्रेसन नै गर्नु पर्दछ ।
त्यसैले हामीले अस्पतालमा बिरामी आएपछि अप्रेसन गर्छौँ । तर हर्नियाको उपचार जति ढिला हुन्छ उति शल्यक्रिया जटिल हुन्छ । यसले आन्द्रा कुहिएर फुट्ने र बोसो कुहिने सम्भावना बढ्छ ।
जस कारण आन्द्रा काटेर फाल्ने र पुनः रूपमा जोड्नेजस्ता समस्या देखिन्छन् । उपचारमा ढिलाइ गर्दा आन्द्रा फुटेर दिसा पेटभित्र पुगेर ज्यानै जोखिममा पर्नसक्छ ।
हामीले जहिले पनि आफ्नो तौललाई नियन्त्रणमा राख्नुपर्छ । पौष्टिक खाना खाने गर्नुपर्छ । धूम्रपानबाट टाढै रहनुपर्छ । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्नसक्छ ।
पिसाबसम्बन्धी रोग लाग्न नदिन पर्याप्त पानी पिउने गर्दा पनि यो समस्या हट्दै जान्छ । धेरै तौल भएको सामग्री वा वस्तु नउचाल्ने, पेटलाई बलियो बनाउने व्यायाम र योग गर्ने । कब्जियत हुन नदिने, प्रोस्टेट छ भने समयमै उपचार गर्ने, व्यायाम आवश्यकता भन्दा बढी गर्नु हुँदैन ।
लामो समयसम्म उभिएर गर्ने काम छ भने बेलाबेलामा आराम गर्नुपर्छ । दीर्घ रोगी छन् भने खोकी लाग्दा विस्तारै पर्ने औषधि खाने, पिसाब गर्दा समस्या छ र बल गर्नुपर्छ भने औषधि उपचारमा ध्यान दिनुपर्छ ।
जन्मजात नै हुने हर्निया पनि रोकथाम हुनसक्छ। पेटको कुनै पनि भागमा एउटा डल्लो आउँछ र पछि आफै भित्र जान्छ भने हर्निया हुनसक्ने भन्ने हुन्छ। त्यस्तो अवस्थामा एक पटक चिकित्सकको सल्लाह लिनु पर्दछ। समयमा उपचार गरे यसको सहजै उपचार हुन्छ।



