प्रकाशकुमार उपाध्यायको टिप्पणी-बारा पर्सा : उपराष्ट्रपतिदेखि मन्त्री र ८ सांसद, बजेटमा भने रित्तो हात
बारा र पर्सालाई मात्र हेर्ने हो भने काँग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाबाट आठ सांसद, एक मन्त्री र राष्ट्रियसभा उपाध्यक्षसमेत छ । बाराबाटै निर्वाचित सांसद उपराष्ट्रपति चुनिएका छन् । उनको क्षेत्रमा भएको उपनिर्वाचनबाट चुनिएका नेता मधेसकै प्रभावशाली नेता मान्छिन् ।
तर, आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटमार्फत सरकारले ल्याएका योजनाका सवालमा बारा र पर्साका बासिन्दाले त्यो उपस्थितिको अनुभूति हुन सकेन । सत्तापक्ष र प्रतिपक्ष सवै दलबाट उल्लेख्य प्रतिनिधित्व रहेको अवस्थामा बहुअपेक्षित आयोजना बजेटमा कतै नपारिनु दुखद कुरा हो।
काठमाडौं–तराई द्रुतमार्गमा वर्षेनि बजेट पारे पनि गति लिन नसक्ने कर्मकाण्डबाहेक बारा र पर्सालाई संघीय बजेटले पूरै उपेक्षा गरेको देखियो ।
बजेट बन्दै गर्दा सकृय पहल नहुनु वा संसदमा कतैबाट शसक्त आवाज नउठ्नु आदि कमीकमजोरीका कारण पर्सा जिल्लालगायत यस भेगका जनताको समृद्धि र विकास पछाडि पर्नु दुखद एवं दुर्भाग्यपूर्ण विषय हो।
देश को मुख्य प्रवेशद्वार, औद्योगिक नगरी, राजश्व संकलनको प्रमुख केन्द्रको रूपमा रहेको वीरगञ्ज र यस भेगको आर्थिक समृद्धि र समग्र विकासप्रति सरकारको वेवास्ता प्रकट भएको छ ।
यस भेगका किसानको आर्थिक समृद्धि का लागि नगदेबालीको रूपमा उखु खेती गर्ने र रोजगारीको अवसरसमेत रहेको वीरगञ्ज चिनी कारखाना सञ्चालनमा आउन सकेन ।
कृषिमा आत्मनिर्भर हुने कुरा गर्ने सरकारले कृषि प्रधान देशमा रहेको कृषि उपकरण उत्पादन गर्ने एकमात्र कृषि औजार कारखाना सञ्चालनको योजना बजेटमा देख्न पाइएन ।
तराई मधेश कै सम्भवतः सबैभन्दा पुरानो र ठूलो नारायणी अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने सम्भाव्यता हुँदाहुँदै बेवास्ता गरिएको छ।
यस भेगका विद्यार्थीहरूलाई सस्तो सुलभ रूपमा डाक्टर पढ्न पाउने, जनताले उपचारको लागि पर्याप्त आधुनिक सेवा सुविधा पाउने र रोजगारी को सम्भावना भएको यस्तो अति महत्वपूर्ण योजना प्रति वेवास्ता गरिएको छ।
तराई मधेसकै सबैभन्दा पुरानो, ठूलो र धेरै ठूलाबडा व्यक्तित्वहरू उत्पादन गर्न सफल ठाकुरराम बहुमुखी क्याम्पस लाई विश्वविद्यालयको रूपमा विकास गर्ने सोच देखिएन। प्रस्तावित वीरगञ्ज विश्वविद्यालय वा मधेश सरकारको मधेश विश्वविद्यालयभन्दा ठाकुररामलाई विश्वविद्यालय को रूपमा यस भेगका जनताले हेर्न चाहन्छन् । त्यसमा गर्व गर्नेछन।
विश्वविद्यालयको लागि पुर्वाधार सम्भावना पनि रहेको तथा यस भेगका विद्यार्थीहरूले स्नातकोत्तर र विद्यावारिधि गर्न अन्यत्र जानु नपर्ने, वीरगञ्जलाई शिक्षाको हब झै बनाउन सकिने, रोजगारी र व्यापार व्यवसाय पनि बढ्ने यस्तो महत्वपूर्ण योजना प्रति पनि कुनै वास्ता गरिएको देखिदैन। उपाध्याय नेपाली कांग्रेसका नेता हुन् ।



