
मधेस प्रदेशको पर्सा जिल्लामा यस वर्ष अहिलेसम्म ७८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। धान प्रमुख खाद्य बालीका रूपमा रहेको यस जिल्लामा रोपाइँको गति ढिलो हुनु चिन्ताको विषय बन्दै गएको छ। पर्सागढी नगरपालिका–७ का वडाध्यक्ष शङ्कर रायभरका अनुसार पानीको अभाव र स्यालो ट्युबेल सुक्न थालेपछि किसान गम्भीर संकटमा परेका छन्।
कृषि ज्ञान केन्द्र, वीरगंजका प्रमुख रामजीवन ठाकुरका अनुसार जिल्लाको उत्तरी र पश्चिमी भेगमा भने तुलनात्मकरूपमा राम्रो रोपाइँ भएको छ। गण्डक नहरमा पानी समयमै आएकाले त्यस क्षेत्रका किसानले कुलो तथा मनसुनी वर्षा र स्यालो ट्युबेलको सहायताले रोपाइँ गर्न सकेका छन्। सखुवाप्रसौनी गाउँपालिका–२ का किसान कमल यादवका अनुसार त्यहाँ रोपाइँ सहज भएको छ।
तर गण्डक नहरदेखि दक्षिणतर्फका पालिकाहरूमा भने अवस्था एकदमै नाजुक छ। नहरको पानी नपुगेका क्षेत्रहरूमा वर्षा नपरेकाले तथा स्यालो ट्युबेलमा पनि पानी आउन छाडेपछि किसानहरू रोपाइँ गर्न सकिरहेका छैनन्। केही किसानले दुई साता अघि परेको पानीको सहायताले खेत भिजाएर रोपाइँ सुरु गरे पनि त्यसयता वर्षा नहुँदा धानका बिरुवा सुक्न थालेको उनीहरूको गुनासो छ।
जिल्ला सदरमुकाम वीरगंज आसपासका ग्रामीण क्षेत्रहरूमा पनि रोपाइँ न्यून रहेको स्थानीय किसानहरूले बताएका छन्। अधिकांश किसानले धानका बेर्ना तयार पारेका छन्, तर खेत सुक्खा भएपछि रोपाइँ गर्न सकिरहेका छैनन्।
मधेस प्रदेश सरकारले यसअघि पर्सा जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। तर किसानलाई राहत उपलब्ध गराउने विषयमा अझै प्रस्टता नभएको किसानहरूको भनाइ छ। “जनकपुरमा केही निर्णय हुने भन्ने सुनेको छु, तर त्यसको प्रगति कस्तो छ भन्ने हामीलाई थाहा छैन,” एक स्थानीय किसानले भने।
कृषि संकट चुलिँदै जाँदा किसानहरूलाई राहतको अपेक्षा छ, तर यथार्थमा राहत कहिले र कसरी उपलब्ध हुने भन्ने अझै अनिश्चित छ।



