अर्थमुख्य खबर

बारा–पर्सामा उच्च क्षमताका सबस्टेसन निर्माण अन्तिम चरणमा, औद्योगिक करिडोरमा अब नियमित आपूर्ति

बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर तथा आम उपभोक्ताका लागि विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाराको अमलेखगञ्ज, प्रसौनी, तथा पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका सबस्टेसनहरू निर्माणको अन्तिम चरणमा रहेका छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गर्दै आयोजनाका व्यवस्थापक तथा निर्माण व्यवसायीलाई निर्धारित समयभित्र कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्। घिसिङले वीरगञ्ज क्षेत्रको विद्युत् माग व्यवस्थापन तथा भारतसँगको विद्युत् व्यापारका लागि यी प्रसारण लाइन तथा सबस्टेसनहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै कार्य सम्पन्न गर्न आग्रह गरेका छन्।

औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार

पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार गर्न अमलेखगञ्ज १३२/६६ केभी सबस्टेसन तयार भइसकेको छ। यस सबस्टेसनमा प्रमुख उपकरणहरूको जडान सम्पन्न भइसकेको र आगामी जेठको दोस्रो साताभित्र (मे २०२५) सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसनमा लुप इन तथा लुप आउट गर्ने कार्य सम्पन्न भइसकेको छ। हेटौंडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई पनि सबस्टेसनमा जडान गरिसकिएको छ। यसले भोल्टेज स्थिरता कायम गर्ने तथा विद्युत् आपूर्ति सुधार गर्ने विश्वास गरिएको छ।

वीरगञ्ज र प्रसौनी सबस्टेसन निर्माणमा तीव्रता

वीरगञ्ज सबस्टेसन तथा प्रसौनी सबस्टेसनलाई जोड्ने २.८ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइनको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ, जुन एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भारत–नेपाल रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा जडान गरी भूमिगत लाइनमार्फत वीरगञ्ज सबस्टेसनमा विद्युत् आपूर्ति गरिनेछ। हाल वीरगञ्जमा सञ्चालनमा रहेको ६६/३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी क्षमताको बनाइने योजना रहेको छ।

भविष्यका परियोजनाहरू

वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन १३२ केभी प्रसारण लाइन तथा सबस्टेसनहरूको निर्माण कार्य जारी छ। यसै क्रममा परवानीपुरदेखि पोखरिया सम्म १३२ केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइएको छ। त्यस्तै, हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण कार्य अघि बढाइएको छ। प्रस्तावित उक्त प्रसारण लाइनको लम्बाइ ६५ किलोमिटर रहनेछ।

प्राधिकरणका अनुसार, निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिँदै छ भने निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौली सबस्टेसन एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुनेछ।

सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज), डुमरवानालगायत क्षेत्रलाई लक्षित गरी औरही–सिमरा १३२ केभी प्रसारण लाइन निर्माण कार्यलाई पनि तीव्रता दिइएको छ।

सबस्टेसन तथा प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बारा–पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति भरपर्दो, पर्याप्त, तथा गुणस्तरीय हुने प्राधिकरणले विश्वास लिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button