No Image Headlineदेशमुख्य खबर

आज महाशिवरात्रि, महाकुम्भको असरले पशुपतिमा घट्ला त भक्तजनको आगमन ?

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउँछन् ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

 

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

पशुपति क्षेत्र विकास कोषले विश्वभरिका हिन्दूहरूको पवित्र तीर्थस्थल मानिने पशुपतिनाथ मन्दिरको दर्शनका लागि महाशिवरात्रिका दिन नेपाल र भारतबाहेकका देशबाट पनि उल्लेख्य सङ्ख्यामा मानिसहरू आएको जनाएको छ।

हिन्दू देवता शिवको विशेष दिन भएको विश्वास गरिने महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा पाँच लाख मानिसहरू दर्शनका लागि पुग्ने आकलन गरिएको छ। तीमध्ये अधिकांश नेपाली र भारतीयहरू हुने गरेका छन्।

तर त्यसबाहेकका देशबाट पनि यो पर्वमा पशुपति दर्शन गर्ने उद्देश्यले उल्लेख्य सङ्ख्यामा हिन्दूहरू आउने गरेको क्षेत्र विकास कोषका सदस्य राजु केसीले बताए।

विश्वभरि हिन्दूहरू रहेका छन्। नेपाल र भारतबाहेक मलेशिया, श्रीलङ्का, थाईल्यान्ड र अमेरिकासहितका देशबाट नेपाली र भारतीय मूलका मानिसहरू छिटपुट रूपमा आउँछन्, उनले भने।

उनका अनुसार मलेशियाबाट हरेक शिवरात्रिमा करिब ५०० जना हिन्दूहरू आएर विशेष पूजा र दान गर्ने गरेका छन्।मलेशियाबाट करिब ३०० जनाको टोली नियमित आउने गरेका छन्। उनीहरूले निश्चित चन्दा पनि दिने गरेका छन्, उनले भने।

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि महाशिवरात्रिका दिन मलेशियाबाट दक्षिण भारतीय मूलका हिन्दूहरू आउने परम्पराले कैयौँ वर्ष देखि निरन्तरता पाइरहेको बताए।

मलेशियामा दक्षिण भारतीय मूलका हिन्दूहरू रहेछन्। दक्षिण भारतमा शैव धर्म निकै प्रचलनमा छ त्यसकारण शिवरात्रिमा समूहसहित आउँछन्। यो अन्तर्राष्ट्रिय पर्व हो। नेपाली र भारतीय मूलका मानिसहरू विश्वका धेरै देशबाट आउँछन्, उनले भने।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रवेश गर्ने विदेशी नागरिकहरूलाई १,००० रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार यो पटकको शिवरात्रिमा छ जना भारतीय पूर्वप्रधानसेनापतिहरूको टोली आउने बताइएको छ।

महाशिवरात्रीकै दिन मनाइने नेपाली सेनाको स्थापना दिवसमा पनि सहभागी हुन आएको भारतका पूर्वप्रधानसेनापतिहरूको टोली महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि जान लागेको छ। नेपाल र भारतबीच एकअर्को देशका प्रधानसेनापतिहरूलाई मानार्थ प्रधानसेनापति मान्ने प्रचलन छ।

भारतको प्रयागराजमा १४४ वर्षपछि लागेको भनी प्रचार गरिएको महाकुम्भ मेला पनि शिवरात्रिकै दिन समापन हुँदै छ। उल्लेख्य सङ्ख्यामा हिन्दू धर्मावलम्बीहरू यो पटक महाकुम्भ स्नानका लागि गएका कारण महाशिवरात्रिमा आउने भारतीय र नेपाली तिर्थालुहरूको सङ्ख्या घट्ने आशङ्का कतिपयको छ।

यद्यपि प्रयागराजबाट गङ्गाजल ल्याएर पशुपतिमा चढाउने प्रचलन रहेका करण त्यसले पशुपतिमा दर्शन गर्न आउनेको सङ्ख्या धेरै नघट्ने पशुपति क्षेत्र विकास कोषको दाबी छ।

यद्यपि कुम्भमेलाको प्रभाव केही हदसम्म पर्ने अध्येतासमेत रहेका टण्डन बताउँछन्। कुम्भमेलाले अलिकति प्रभाव पार्छ कि जस्तो लाग्छ। शिवरात्रिकै दिनमा वहाँ सकिने भएका कारण साधुसन्त महात्माहरूको सङ्ख्या अलिकति केही कम हुन सक्छ, उनी भन्छन्।

आफू हालै पशुपति मन्दिर क्षेत्र जाँदा उच्च ओहोदाका मानिने साधुसन्त र महात्मा कम देखेको उनको भनाइ छ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीका अनुसार बुधवार बिहान साढे २ बजेबाटै पशुपतिनाथको मन्दिर दर्शनार्थीहरूका लागि खुला भएको छ।

भोलिपल्ट बिहान ६ बजेसम्म मन्दिर खुला हुन्छ, सुवेदीले सोमवार आयोजित पत्रकार सम्मेलनमा भने। प्रत्येक दुई सेकन्डमा १० जना दर्शनार्थीले दर्शन गर्न सक्छन् भन्ने हाम्रो अनुमान छ।

क्षेत्र विकास कोषको उक्त दाबीमा सामाजिक सञ्जालमा कतिपयले आशङ्का गरेका छन्। कोषका सदस्य केसी मन्दिर परिसरबाहिरबाट चार वटा लाइनमा गएका मानिसहरूलाई मन्दिरभित्र १० वटा लाइनमा विभाजन गरिने र एकै पटक १० जना मन्दिरको दर्शनमा पुग्ने बताउँछन्।

मन्दिरमा दर्शनका लागि एक जनालाई दुई सेकन्ड भए पुग्छ भन्ने हाम्रो अनुमान हो,ू उनी भन्छन्।

मन्दिरका चार ढोकाबाट एकै पटक १० जनाले दर्शन गर्न मिल्ने सुविधाका लागि दुईतर्फ तीनतीन वटा र अर्को दुई ढोकामा दुईदुई वटा र्‍याम्प बनाइएको केसीले बताए।

दर्शनका लागि तिलगङ्गा, गौशालातर्फ रहेको पार्किङ, गौरीघाट र जयवागेश्वरी क्षेत्रबाट चार वटा लाइनमा मानिसहरूलाई मन्दिरभित्र जाने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

मन्दिरबाहिरको मेला क्षेत्रमा समेत गरेर २० लाख सम्म मानिसहरू पुग्ने आकलन क्षेत्र विकास कोषले गरेको छ।

पशुपतिनाथ मन्दिरको दर्शनका लागि जाने श्रद्धालुहरूलाई पोलिथिन र प्लास्टिकजन्य सामग्री लैजान रोक लगाइएको छ। प्लास्टिकजन्य फोहोर रोक्नका लागि त्यस्तो गरिएको र यस्ता सामग्री जफत गरिने क्षेत्र विकास कोषले जनाएको छ।

महाशिवरात्रि व्यवस्थापनमा एक करोड ५० लाख रुपैयाँ खर्च हुने आकलन पशुपति क्षेत्र विकास कोषको छ।

मन्दिर क्षेत्रमा सुरक्षा र लाइन व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने बताइएको छ।

क्षेत्र विकास कोषका सदस्य केसीका अनुसार ४१ वटा संस्थाबाट ४,००० स्वयंसेवक परिचालन गर्ने तयारी छ।

शिवरात्रिका दिन पशुपति क्षेत्रमा भगवान् शिवको प्रसादका रूपमा कतिपयले गाँजा सेवन गर्ने प्रचलन रोक लगाउन पशुपति क्षेत्र विकास कोषले गाँजा, भाङ, चरेसलगायतका लागुऔषध प्रयोग र ओसारप्रसार नगर्न चेत गराएको छ।

कोषको दुई पटक सदस्य सचिव बनेका टण्डन विसं २०५० को दशकसम्म महाशिवरात्रिमा पशुपति आउने साधुसन्तहरूलाई गाँजा दिएर पठाइने गरिएको बताउँछन्।

भगवान् शिवले गाँजा खानुहुन्छ भनेर गँजडी बनाइरहेका थियौँ। त्यो कुरालाई बिस्तारै हटाउँदै जाने अभियान नै भयो। गाँजा पनि प्रतिबन्ध भएको अवस्थामा सरकारले नै बाँड्ने चलन ठिक भएन। त्यसकारण गुठी संस्थानले बाँड्ने चलन पनि ६० को दशकको सुरुबाटै हट्यो, टण्डन भन्छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button