
माओवादी र पूर्वमाओवादीहरुले आज विविध कार्यक्रमका साथ ‘जनयुद्ध’ दिवस मनाउँदैछन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते आजैका दिन बहुदलीय संसदीय राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र गणतन्त्र स्थापनाको लक्ष्यसहित ‘जनयुद्ध’ सुरु भएको थियो ।
रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीस्थित प्रहरी चौकीमा माओवादीले १ फागुनको राति एकैसाथ हमला गरेका थिए । यस्तै गोरखाको च्याङलीस्थित कृषि विकास बैंकको शाखा कार्यालयसमेत सोही दिन माओवादीले कब्जामा लिएका थिए ।
जनयुद्धका क्रममा राज्यका तर्फबाट पहिलो हत्या भएको थियो । १४ फागुनमा गोरखाका १४ वर्षीय बालक दिलबहादुर रम्तेललाई प्रहरीले हत्या गरेको थियो ।
माओवादीले रम्तेललाई जनयुद्धको प्रथम शहीद मान्दै आएको छ । त्यस क्रममा राज्य र माओवादी दुवैतर्फबाट गरी करिब १७ हजार नागरिकको ज्यान गयो ।
माओवादीका तर्फबाट वैकल्पिक पोलिट्ब्युरो सदस्य सुरेश वाग्ले, केन्द्रीय सदस्य किमबहादुर थापा, मोहनचन्द्र गौतम र शेरमान कुँवर उच्चस्तरबाट ज्याउन गुमाउने नेता हुन् । यस्तै आन्तरिक कारबाहीमा परेका तत्कालीन पूर्वी कमाण्ड इन्चार्ज यानप्रसाद गौतम आलोकको माओवादी मिलिसियाको नियन्त्रणमा रहेका बेला रोल्पाको कुरेलीमा नेपाली सेनाले हत्या गरेको थियो ।
जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्येका एक दण्डपाणि न्यौपाने, विद्यार्थी नेताहरु पूर्ण पौडेल, विपिन भण्डारीलगायत दर्जनौं अझै पनि बेपत्ता छन् ।
१ फागुनदेखि ५ मंसिर २०६३ का दिन शान्ति प्रक्रियामा औपचारिक हस्ताक्षर हुँदाका दिनसम्म मुलुकमा जनयुद्ध चलेको थियो । जनयुद्धको नेतृत्व गरेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीले सत्ता चलाएका बेला विवादका कारण कारण पटकपटक माओवादी विभाजित भयो ।
मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, गोपाल किराँतीजस्ता नेता छुट्टै समूह चलाइरहेका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत नेता पछिल्लो समय नेकपा एमालेमा लागेका छन् । डा. बाबुराम भट्टराई हाल नयाँ शाक्ति अभियानमा छन् ।
माओवादीले जनयुद्दमा निर्माण गरेको जनमुक्ति सेनामध्ये १४ सय २१ जना हाल नेपाली सेनामा छन् । शान्ति प्रक्रिया सुरु हुनुअगावै माओवादीका ३२ हजार सेनालाई मुलुकका विभिन्न सात स्थानमा अस्थायी शिविर बनाएर राखिएको थियो ।
३२ हजारमध्ये संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिनले १९ हजार ६ सय २ जनालाई प्रमाणीकरण गरेको थियो । प्रमाणीकरण भएकामध्ये १५ हजार ६ सय ३० जनाले गोल्डेन ह्याण्डक्यास सहित स्वेच्छिक अवकाश रोजे । अनमिनले करिब ४ हजार लडाकुलाईे अयोग्य ठहर गरेको थियो ।
राहत र पुर्नस्थापना नभएको भन्दै उनीहरुले अहिले पनि बेलाबेलामा आन्दोलित हुने गरेका छन् । मुल नेतृत्वले जनयुद्दको उद्देश्य छाडेको भन्दै धेरै नेता कार्यकर्ता निराश छन् ।
नेताहरुले जनयुद्धको मुल राजनीतिक लक्ष्य पूरा भएको दाबी गरिरहेका छन् । वंश परम्पारामा आधारित २ सय ४० वर्ष शासन गरेको राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, सामाजिक जागरण, लामो समयदेखि बञ्चितीकरणमा परेका महिलासहित जाति, क्षेत्र र वर्गको राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धी जनयुद्धकै जगमा हासिल भएको दाबी नेताहरुको छ ।



