
वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी) भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महीनामा लक्ष्यको ७४ प्रतिशत नजिक राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले साउनदेखि मंसिरसम्म ६४ अर्ब ५९ करोड रुपैयाँ राजस्व उठाएको छ।
देशको मुख्य नाकामा रहेको यस भन्सार कार्यालयलाई सो अवधिमा ८७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। भन्सार कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष ११ प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको छ।
गत आव २०८०/८१ मा भन्सार कार्यालयले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो। सो अवधिमा ९८ अर्ब ५६ करोड रुपैयाँ लक्ष्य दिइएकोमा ६१ अर्ब ९९ करोड रुपैयाँ मात्रै संकलन भएको भन्सार विभागको वेबसाइटमा उल्लेख छ।
गत आवको तुलनामा चालू आवका लागि भन्सारले उठाउनुपर्ने राजस्व लक्ष्य घटेको देखिएको छ। भन्सार विभागले साउनदेखि मंसिरसम्मका लागि चालू आवको लक्ष्य अघिल्लो वर्षभन्दा ११ अर्ब रुपैयाँ कम तोकेको थियो।
वीरगञ्ज भन्सारले चालू आवको पाँच महीनामा १३ शीर्षकमा राजस्व संकलन गरेको छ। सबैभन्दा बढी मूल्य अभिवृद्धि करतर्फ २६ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ।
भन्सार महसुलबाट २४ अर्ब ८ करोड रुपैयाँ र अन्तःशुल्कबाट ४ अर्ब ८० करोड रुपैयाँ राजस्व उठाइएको छ। वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न निरन्तर प्रयास गरिरहेको बताएको छ।



