अर्थमुख्य खबर

नेपालले हिउँदयाममा भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने, दर कति ?

नेपालले भारतबाट हिउँदयामका लागि ६ सय मेगावाट बिजुली आयात गर्ने अनुमति पाएको छ। भारतले आगामी जुनसम्म बिजुली आयात गर्न सहमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। करिब १५ दिनअघि भारतले अनुमति नवीकरण गरेको थियो।

भारतले मार्च १५ सम्म साँझ ५ देखि राति ९ बजेसम्म बिजुली आयात गर्न नदिने तर अन्य समयमा अनुमति दिएको छ। त्यसपछि बिहान ६ देखि बेलुका ६ बजेसम्म आयात गर्न अनुमति दिइएको छ। ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनबाट ६ सय मेगावाट र टनकपुर ३३ केभी लाइनबाट ५४ मेगावाट गरी ६५४ मेगावाट आयात हुनेछ।

प्राधिकरणले १३२ केभीका प्रसारण लाइनबाट ६ सय मेगावाट आयातको अनुमति माग गरे पनि अनुमति आइसकेको छैन। प्राधिकरणका अनुसार भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको प्रतिस्पर्धी बजारबाट दैनिक मूल्य निर्धारणका आधारमा बिजुली खरिद गरिन्छ।

हालैको बाढीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ, जसले हिउँदमा बिजुली उत्पादनमा थप समस्या निम्त्याएको छ। प्राधिकरणले आगामी पुस १० सम्म आयोजनालाई आंशिक रूपमा सञ्चालनमा ल्याउने योजना बनाएको छ।

नेपालले महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइनबाट वार्षिक ७ करोड युनिट निःशुल्क बिजुली पाउने व्यवस्था छ। साथै, द्विपक्षीय सम्झौताअन्तर्गत ढल्केबर–मुजफ्फरपुरबाट भारु ७.५ प्रतियुनिट दरमा २ सय मेगावाट बिजुली आयात हुनेछ।

नयाँ प्रतियुनिट दर तोकियो
१३२ केभी प्रसारण लाइनमार्फत आदानप्रदान हुने बिजुलीको प्रतियुनिट दर ७.९८ भारु (१२ रुपैयाँ ७७ पैसा) तोकिएको छ। यो दर डिसेम्बरको अन्तिमसम्म लागू हुनेछ।

नेपालले बर्खायाममा भारत र बंगलादेशलाई बिजुली निर्यात गरे पनि हिउँदमा आन्तरिक माग धान्न भारतबाट आयात गर्नुपर्ने अवस्थाको सामना गरिरहेको छ। जलाशययुक्त आयोजना अभावका कारण नेपालले केही वर्ष भारतमै निर्भर रहनुपर्ने देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button