तथ्यांकीय आत्मरति : उँधो मति, उँधै गति
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष वैदेशिक रोजगारका लागि विदेशिने नेपालीहरू बढेका छन् । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति नाम दिइएको प्रतिवेदनमा श्रम स्वीकृति लिनेको सङ्ख्या गत भदौमा ७४ हजार ४५५ रहेकामा यो वर्षको सोही अवधिमा ७६ हजार ४८५ पुगेको छ ।
४० हजार ५८३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यो भनेको देशमा रोजगारको अवसर खुम्चिएको अवस्था हो । स्वदेशमा रोजगार नपाएपछि वैदेशिक रोजगारमा जानेको सङ्ख्या उच्च रहनु अस्वाभाविक पनि होइन ।
जनशक्ति विदेशिएपछि विप्रेषणको आकार बढ्नु पनि आश्चर्य होइन । स्वदेशमा रोजगारको अवसर नपाएर बाहिरिएको जनशक्तिले पठाएको रकम देखाएर प्रगति विवरण देखाउने र आत्मरतिमा रमाउने प्रवृत्ति चाहिं आश्चर्यको विषय हो ।
वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेसँगै पछिल्लो समयमा ती रोजगारमा गएका युवाहरूले रकम पठाउनेक्रम पनि बढेको छ । वैदेशिक रोजगारबाट आएको विप्रेषणको आकार बढ्दा त्यसको प्रभाव विदेशी विनिमयको सञ्चितिमा स्वाभाविकरूपमा पर्ने नै भयो ।
वैदेशिक रोजगारमा जाने जनशक्तिले पठाएको रकम थुप्रिनुलाई सरकारले अर्थतन्त्रको सकारात्मक स्थितिको रूपमा चित्रित गरिराखेको पनि छ । यो वास्तविक सुधार हो कि पानीको फोका मात्रै हो ? यसको मिहीन विश्लेषण आवश्यक नठानिनु सरकारको प्रचारमुखीभन्दा बढी खतरनाक प्रवृत्ति हो ।
यति ठूलो परिमाणमा विप्रेषण भित्रिए पनि त्यो रकम बैंकमा थुप्रिएको छ, लगानीका रूपमा रूपान्तरण गर्न सकिएको छैन । विगतमा विप्रेषणको रकम उपभोगमा खपत भयो भनेर चिन्ता हुन्थ्यो, उत्पादनसँग जोड्न नसकिएकोमा चिन्ता जाहेर हुन्थ्यो । अहिले न उपभोग, न उत्पादनको अवस्था छ । रकम उपयोगविहीन भएर बैंकमा थुप्रिएको छ, सरकार यसलाई उपलब्धिको रूपमा प्रचार गरिराखेको छ ।
सरकारी आँकडा अनुसार चालू आर्थिक २०८१/८२ को वर्षको दोस्रो महीना भदौमा मात्रै विप्रेषण आप्रवाहमा १५.५ प्रतिशत वृद्धि भएको छ । दशैं, तिहार र छठजस्ता चाडपर्वका लागि बाहिरबाट रकम पठाउने समय परेकाले आप्रवाह बढेको हो । राष्ट्र बैंकका अनुसार आयात व्यापारमा झिनो सुधार आएको देखिन्छ भने निर्यात कारोबार खस्किएको छ ।
देशभित्र रकम भित्रिने र बाहिरिने अवस्था शोधनान्तर स्थिति बचतमा देखिएको छ । शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा देखिएको छ । मूल्यवृद्धि तीन दशमलव ८५ प्रतिशत रहेको भनिएको छ । यो गत आव समीक्षा अवधिको तुलनामा करीब पाँच प्रतिशत बिन्दुले कम भनिए पनि प्रत्याभूतिमा यो कमजोर देखिएको छ ।
उपभोग संस्कृतिमा कमी आएका कारण बजारमा वस्तु तथा सेवाको मागमा कटौती भएको छ । यसको प्रभाव बजार मूल्यमा परेको अनुमान अन्यथा होइन ।
दशैं, तिहारजस्ता ठूला चाडपर्वमा उपभोग्य वस्तुको बिक्री बढी हुन्छ । कुल व्यापारको करीब ३० प्रतिशत व्यापार यही समयमा हुन्छ । तर यस्ता पर्वमा पनि व्यापारी व्यापार हुन नसकेको गुनासो गरिरहेका भेटिन्छन् । कोरोना महामारी शुरू भएयता यो समस्या शुरू भएपनि पछिल्ला वर्षहरूमा यो समस्या अझ चर्किएको बताउनेहरूको कुरा मान्ने हो भने अर्थतन्त्रका संरचनासम्मै समस्याले गाँजेको अनुमान लगाउन सकिन्छ ।
बाहिरबाट भित्रिने वस्तु तथा सेवा खरीदका लागि बाहिरिने रकमको सन्तुलन बढेर सञ्चिति थुप्रिंदै गएको छ । कुल विदेशी विनिमयको सञ्चिति बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो विदेशी विनिमय सञ्चितिले विगत दुई महीनाको आयात परिमाणका आधारमा १३ दशमलव सात महीनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ ।
अर्थतन्त्रका लागि सात महीनाका लागि वस्तु तथा सेवा खरीद गर्न पुग्ने सञ्चितिलाई स्वस्थ सञ्चिति मानिएको छ । नेपाल राष्ट्र बैंकले यो नीति लिएको छ । कोरोना महामारीलगत्तै सञ्चिति घटेको भन्दै व्यापार नियन्त्रणको नीति लिएको राष्ट्र बैंकले सञ्चिति बढ्न थालेपछि आयातमाथिको नियन्त्रण हटाए पनि व्यापारमा सुधार आउन सकेको छैन । परिणामस्वरूप सञ्चिति थुप्रिएको थुप्रिएकैै छ ।
केही समय मौद्रिक नीतिलाई कसिलो बनाएको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गति दिन भन्दै यो वर्ष खुकुलो मौद्रिक नीति ल्यायो । त्यसले पनि अर्थतन्त्रलाई खासै चलायमान बनाउन सकेन । शेयर बजारमा केही दिन उछाल देखिए पनि लगानीकर्ताको मनोबल उस्तै उच्च रहन सकेन ।
मूल समस्या सरकारले लगानीकर्ताको मनोबल उचाल्ने काम गर्न सकेको छैन । भ्रष्टाचार, कमिशनको बिगबिगीले आम लगानीकर्ता निरुत्साहित छन् भने दुई नम्बरी कारोबारले बढावा पाएको छ । वैध काम गर्नेहरूले दण्डित हुने, तर अवैध आर्जनमा रमाउनेहरू पुरस्कृत हुने अवस्था छ ।
चालू वर्षको भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७ दशमलव ७ प्रतिशत छ । कुल आयातसँग यसको अनुपात ११४ दशमलव चार प्रतिशत छ । सञ्चितिको यो आकार निकै बढी हो । सञ्चिति बढी हुनु पनि अर्थतन्त्रका लागि सहज सङ्केत होइन ।
सञ्चिति आवश्यकताभन्दा बढी थुप्रिनु भनेका उत्पादन, आयात र उपभोग अपेक्षितरूपमा नहुनुको सङ्केत पनि हो । बैंकमा निक्षेप बढेर बैंकहरू ब्याजदर घटाउन लागेका छन् । यसको असर कर्जा लिनेहरूलाई सकारात्मक परे पनि बचतकर्ताहरूको रकम भने अवमूल्यन हुन जान्छ ।
कर्जा विस्तारमा झिनो सुधार आए पनि यो लक्षित तहको तुलनामा निकै कम छ । निक्षेप वृद्धिदर १३ दशमलव आठ प्रतिशत हुँदा कर्जाको वृद्धिदर छ दशमलव छ प्रतिशत मात्रै छ । बजारमा माग नहुँदा नयाँ योजनामा कर्जा गइराखेको छैन । बैंकहरूले घरकर्जा र शेयरमा कर्जा केन्द्रित गरिरहेका समाचार सञ्चारमाध्यममा आइराखेका छन् ।
यसले अर्थतन्त्रका केही क्षेत्रलाई चलायमान बनाउन मदत पुग्न सक्छ । तर अर्थतन्त्रको स्वच्छ बढोत्तरीका लागि सबै सरोकारबीच सन्तुलनको खाँचो खटकिएको छ । बचतमा दिइने ब्याज र मूल्यवृद्धिबीच सामञ्जस्य भएन भने बचत अवमूल्यन हुन्छ । तथ्याङ्कले जे भने पनि अहिले दैनिक उपभोग्य वस्तुमा मूल्यस्फीति बढी छ ।
वस्तुको मूल्य बढ्ने, तर ब्याज घटेर बचतको मूल्य कम हुँदै जाने हो । त्यो अर्थतन्त्रका लागि सङ्कटको अर्को घण्टी हुन सक्छ । सबै सरोकारहरूको सन्तुलित परिचालन मात्र स्वस्थ अर्थतन्त्रको सूचक मान्न सकिन्छ ।