गौशाला धर्मशाला विवादले उठाएको बहस : धर्मशालाको आय देख्नेले सेवा कार्य किन नदेखेको ?
पशुपति क्षेत्रको सापेक्ष विकासका लागि यो धार्मिक स्थललाई पशुपति क्षेत्र विकासको चंगुलबाट मुक्त गरिनु पर्दछ

अहिले गौशाला धर्मशलाको व्यवस्थापन सम्बन्धमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको विवाद उत्कर्षमा छ । पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् । यसमा बस्तुनिष्ठ भएर सोच्नुपर्ने भएको छ । गौशालामा त्यत्रो बिल्डिङ किन बनाउनु परेको हो ? भनेर आलोचना गर्ने पनि छन् । सोचौं, सरकारी बजेटमा बनेको त पक्कै होईन नै । मारवाडी हुन, व्यापारी समुदाय, फरक धारले सोचे, सबै मिलेर आफ्नो पिता पुर्वजको नाममा पैसा जुटाएर एकएक कोठा संरचना बनाउने योजना बनाएर ३ तल्ले धर्मशाला बनाए ।
जसको आम्दानीले गाई पाल्न केही सहज भयो । सटर बनाएर भाडामा दिए, जसको आम्दानीले कैयौं भक्तजनलाई आश्रय नि दियो । कैयौ साधुसन्तलाई निशुल्क भोजन नि दियो । कैयौ अपाङ्गलाई कृत्रीम खुट्टा निशुल्क दिएर साधारण हिडडुल गर्न सक्ने बनायो । कैयौ मृगौला रोगीको निशुल्क डाईलाईसिस नि गरायो । कैयौ बिरामीलाई निशुल्क दबाई वितरण नि गर्यो । शुद्ध शाकाहारी भोजन गर्ने ठाउँ नै थिएन । काठमाडौ मै सम्भवतः पहिलो शुद्ध र सस्तो शाकाहारी भोजन गृह खोलेर सेवा नि दियो ।
एकछि सोचौं त, यदि त्यो जमिनमा घाँस रोपेरै गाई पालेको भए त्यो गौशालामा २६० गाईले आश्रय पाउन सम्भव थियो ? थिएन । त्यो गौशाला नाममात्रको १५ माउ गाई पालेर बसिरहेको हुन्थ्यो । न क्षेत्र विकास कोषले गाई पाल्न थप व्यवस्था गर्थ्यो, न काठमाडौ जस्तो ठाउँमा ब्यक्ति पालिन त मुस्किल हुने ठाउँमा गोजीको खर्च गरेर गौशाला चलाएर कोही बस्थ्यो र ?
त्यो बिल्डिङ बन्दैमा गौशालाको उद्देश्य मेटिएको छैन । तोकिएको संख्या भन्दा बढी नै गौपालन गरिएको रहेछ । ती गौमातालाई उचित खानपिनको व्यवस्था पनि गरिएको छ ।
भलै त्यहाँ मारवाडी देखिएका छन् । तर जमिन त पशुपति कै हो । पशुपतिनाथ मन्दिरको त्यत्रो आम्दानी छ । क्षेत्र विकास कोषले आजको मितिसम्म सेवाकार्य केही गरेको जानकारी छैन । कम्तिमा त्यो ९ रोपनीको आम्दानीले भए पनि केही धर्मावलम्बी, सन्त, असहाय, नन्दी, गौमाता, पन्छी, बाँदरलगायतको सेवा भएको छ । जुन काम पशुपति क्षेत्र विकास कोषले गर्नु पर्ने हो । तर क्षेत्र विकास कोषको काम केही देखिन्न ।
यसमा पशुपति क्षेत्र विकास कोषका हर्ताकर्ता भन्नेहरुलाई लाज लाग्नुपर्ने हो । निर्लज भएर अझ आफू नि सेवा कार्य नगर्ने र अरूलाई नि गर्न नदिएर उक्त सम्पत्तिको त्यहाँ भाडा उठाएर पेट पाल्ने नीति बनाउने ? गज्जब छ ।
अब मारवाडी सेवा समिति मोही हो कि होईन ? यो अदालतले छुट्याउछ, मुद्दा त विचाराधिन नै छ । तसर्थ एक पक्षीय कुरा सुनेर बोल्नु उचित छैन । गौशाला धर्मशालाले भाडा उठाएको देख्नेले उसले गरेको सेवाको काम नि हेर्नु पर्दछ । २५० बढी गाई पाल्न दैनिक लागत कति लाग्छ ? गाई हेर्न राखिएको कामदारको नि पालन पोषण त गर्नै पर्ला । दैनिक रूपमा पशुपति मन्दिरमा दूध पनि दिँदै आएकै छ ।
त्यत्रो अपांगलाई कृत्रिम खुट्टा वितरण गरिएको छ । के त्यसको खर्च नेपाल सरकार वा क्षेत्र विकास कोषले दिएको छ र ? दैनिक ८०र९० जनालाई निशुल्क मृगौला डाईलाईसिस सेवा दिनु के जोक्स हो र ? त्यहाँ मेशिन, डाक्टर, ल्याब आदीमा खर्च त हुँदो हो । नेपाल सरकारले ब्यहोर्ने गरेको छ त्यो खर्च ?
काठमाडौ जस्तो ठाउमा रु १०० मा सुत्ने, नुहाउने, दिशापिसाब जाने व्यवस्था गर्नु जोक्स हो र ? दैनिक ५०० जना साधु सन्त र असहायलाई भोजन गराउनु के जोक्स हो ? उठेको पैसा देख्नेले खर्च पनिी हेर्नु पर्दछ । पशुपति क्षेत्र विकास कोषले बनकाली धर्मशाला सिध्याएको तथ्य लुकेको छैन । कोषको सदस्य रहेको महानगरले रातारात सम्झौता गरेर महानगरपालिकाले गौशाला लिन खोज्नु अर्को षड्यन्त्र हो । क्षेत्र विकास कोषको अनियमितता सँग सबै जानकार छन् ।
धर्मशालामा अहिले देखिएको विवाद त एउटा पक्षमात्रै हो । पशुपतिलाई पशुपति क्षेत्र विकास कोषको चंगुलबाटै अब फुकुवा गर्नु पर्छ । पुरै पशुपति क्षेत्रको जमिन र आम्दानीको सही व्यवस्थापन हुने हो भने यहाँ विकास असम्भव छैन । अब यो एंगलबाट पनि सोच्ने बेला भएको छ । सन्तोष आचार्यले फेसबुकवालमा राखेको विचारको सम्पादित अंश
https://www.facebook.com/profile.php?id=100094214238860



