No Image Headlineस्वास्थ्य/जिवनशैली

गर्मीमा कस्ता खाना नखाने, पानी कति पिउने ?

अत्याधिक गर्मीका कारण आज भोलि विश्वका विभिन्न भागमा विभिन्न प्रकारका समस्याहरु देखा परिरहेका छन्। गर्मीका कारण मानिसहरुको मृत्यु भएको समाचारहरु पनि यदाकदा सुनिदै आएका छन्। भारतमा अत्याधिक गर्मीका कारण धेरै बालबालिका बिरामी परेर अस्पताल भर्ना भएको खबर पत्रपत्रिकामा आइरहेका छन्। गर्मी छल्न  नदीमा पौडी खेल्न गएका व्यक्तिहरु डुबेर मृत्यु भएको खबर पनि हामीले सुनिरहेका हुन्छौं। विश्वका विभिन्न भागमा हालकै अत्याधिक तापक्रम मापन गरिएको अवस्था छ।

Patanjali Nepal
Sweet Mart Food

अधिक तापक्रमका कारण र यसका असरहरु के कस्ता हुन्छन् ?

वातावरण प्रदुषण वा औधोगिक विकासका कारण वायुमण्डलमा हानिकारक ग्यासहरु जस्तै कार्बोडाइअक्साइड, कार्बनमोनोअक्साइड आदिको मात्रा बढिरहेको छ। यी ग्यासहरुले पृथ्वीको सतहलार्इ ढाक्नाले पृथ्वीको वायुमण्डलबाट सूर्यको ताप निस्काशन हुन पाउँदैन जसका कारण पृथ्वीको तापक्रम बढ्न पुग्छ। पृथ्वीको अधिक तापक्रम नै जलवायु परिवर्तनको मूख्य कारण पनि हो। जलवायु परिवर्तनका कारण अन्न बाली लगाउने समयमा पानी नपर्नाले खडेरी हुन्छ। फेरी अति वृष्टिका कारण लगाएका बाली पनि नष्ट भएर जान्छ। अधिक गर्मी र जलवायु परिवर्तनकै कारण तुलनात्मकरुपमा अन्न बालीको उत्पादनमा ह्रास हुँदै गएको छ।

प्रकृतिमा उब्जने अन्न, फलफूल, घाँस र मूहानको पानीले त्यहीँ वातावरणमा निर्भर रहेका ससाना कमिला देखि कीरा, चरा, जनावर र मान्छे लगायत सबैको जीवन चक्र चलेको हुन्छ। जलवायुपरिवर्तनका कारण यी सबै जीवजन्तुको आहारबिहारमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पर्दछ।

 

मान्छे विवेकी हुनाले उसले जस्तो सुकै आपतविपतको समाधान खोज्न सक्ला। जस्तै खाद्यान्नको कमी हुँदा खाद्यान्नको जोहो गर्न सक्ला, गर्मी भए एसी वा फेन चलाएर बस्न सक्ला, स्वास्थ्य समस्या पर्दा अस्पताल जान सक्ला। तर खुल्ला आकाशमूनि जीवन निर्वाह गर्ने वा वातावरणमै निर्भर रहने जीवजन्तुलाई जलवायु परिवर्तनले प्रत्यक्ष असर पारेको छ र यसको जोखिमबाट आफैँ जोगिन उनीहरु निसहाय छन्। त्यसैले सचेत प्राणीको हैसियतले हामीले अहिलेको अधिक तापक्रममा आफू लगायत आफू वरीपरीका वातावरण र त्यहाँका जीवजन्तुको पनि ख्याल गर्नु पर्दछ।

हाम्रो शरीरमा अधिक तापक्रमले के कस्ता असर पर्न सक्छ ?

गर्मीका कारण अत्याधिक पसिना आउने, थकित महसुस हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर लाग्ने, झिझो लाग्ने, मांसपेसीहरु दुख्ने जस्ता लक्षण देखिन्छन्। अधिक गर्मीका कारण मानिस  बेहोस भई कोमामा पुगी मृत्यु सम्म हुन सक्छ।

गर्मीमा कस्ता खानेकुरा खानुपर्छ ?

अधिक गर्मीको असर शरीरमा कम गर्न हामीले पर्याप्त पानी वा पानी भएका खाद्य पदार्थ बढी खानु पर्छ। हाम्रो शरीर ६० देखि ७० प्रतिशत पानीले बनेको हुँदा शरीरमा पानीको भूमिका महत्वपूर्ण हुन्छ। पानीले पाचन प्रक्रियामा सहयोग गर्ने देखि शरीरबाट नचाहिने बिकार निस्काशन गर्न समेत मद्दत गर्छ।

पानीले शरीरको तापक्रम नियन्त्रण गर्ने र रगतमा अक्सिजन प्रवाह गर्ने काम पनि गर्दछ। गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुनुका साथै शरीरमा विभिन्न जैविक रसायनिक प्रतिकृयाहरु संचालन गर्न आवश्यक पर्ने पोटासियम, सोडियम, म्याग्नेसिय, क्लोराइड जस्ता खनिज पदार्थहरु पसिना वा पिसाबका माध्यमबाट निस्काशन हुनाले शरीरमा यी तत्वहरुको मात्रा कमी हुन गई विभिन्न स्वास्थ जटिलताहरु देखा पर्न सक्छ।

त्यसैले, जलवियोजन हुन नदिन र ईलेक्ट्रोलाईटको सन्तुलन कायम राख्न मौसमी फलफूल तथा तरकारीहरु जस्तै खरबुजा, नरिवलको पानी, काँक्रा, तरबुजा, आँप, केरा, मेवा, भूँईकटहर , नास्पाति, लौका, फर्सी, कागती, हरियो सागपात आदि खानु पर्दछ।  प्रायजसो तरकारी र फलफूलमा पानीको साथ साथै खनिज पदार्थ र भिटामिनहरु पनि बाँधिएर बसेका हुनाले हामीलाई पानीसंगै अरु पौष्टिक तत्वको पनि भरणपोषण हुन्छ। साथै शरीरलाई जलवियोजनबाट बचाउन बजारमा पाइने चिसो पेय पदार्थ भन्दा दही, मोही, लस्सी, कागती पानी, उखुको रस खानु राम्रो हुन्छ।

यसका अतिरिक्त हामी बाहिर घाममा कडा परिश्रम गर्छौं वा खेलकुद गर्छौं भने साधारणतया भित्र बसेर काम गर्ने व्यक्तिको तुलनामा हामीले शरीरबाट धेरै पानी र ईलेक्ट्रोलाईट पसिनाका माध्यमबाट गुमाइरहेका हुन्छौं। यस्तो अवस्थामा पानीका साथ साथै फलफूल तथा फलफूलको जुसमा थोरै नुनको प्रयोग गर्न सकिन्छ वा जीवनजल जस्ता विभिन्न ईलेक्ट्रोलाइट हालेर पानी पिउन सकिन्छ। कडा परिश्रम गर्ने खेलाडीले सादा पानी पिउनु भन्दा आवश्यक्ता अनुसार गुलकोज वा ईलेक्ट्रोलाइट युक्त ड्रिंक पिउनाले अझैँ फाइदा हुन्छ।

गर्मीमा कस्ता खानेकुरा नखाने ?

गर्मीयाममा धेरै नुनिलो, धेरै गुलियो, तेलमा तारेका र मसलेदार खानेकुरा खानुहुँदैन। यी सबैले शरीरमा जलवियोजनको स्थिति उत्पन्न गर्दछन्। यसका साथै कफी, चिया, चिसो पेय पदार्थहरुको सेवन पनि कम वा परहेज गर्दा राम्रो हुन्छ। बासी खाना, फोहोर तरिकाले बनाइएका वा बेच्ने राखिएका बजारु खाना सकेसम्म खानुहुँदैन।  शरीरको आवश्यकता भन्दा बढी पनि खानुहुँदैन। यसले गर्दा खाना पच्न समय लाग्ने हुनाले शरीर आलस्य वा निस्क्रिय हुन्छ।

गर्मीयाममा नुनिलो, पीरो वा चट्पटा खानेकुरा खाने धेरैको बानी हुन्छ। गर्मीमा जलवियोजन वा विविध कारणले अधिकांश व्यक्तिको प्रेसर लो भइरहेको देखिन्छ। आम बुझाईमा प्रेसर लो हुँदा नुनिलो, चखिलो वा जीवनजल खानुपर्छ भन्ने धारणा छ तर यो अभ्यास यस समस्याको दिर्घकालीन समाधान भने होइन। गर्मीमा शरीरमा पानी कम भएर जलवियोजनको खतरा हुन्छ भन्ने बुझेर हामीले पर्याप्त पानी र स्वस्थकर खानपानमा शुरुबाटै ध्यान दिएमा जलवियोजनकै कारण प्रेसर लो भर्इ शरीरमा यसको नकारात्मक असर पर्दैन। आफ्नो आहार बिहार र जलयोजनमा ध्यान नदिई नुनिलो वा चर्को खानेकुरामा मात्रै जोड दिदाँ, त्यसले तत्कालिन अवस्थामा शरीरमा आंशिक फाइदा गरेता पनि दीर्घकालिन रुपमा नकारात्मक असर पार्न सक्छ।

कति पानी पिउने ?

हामीले पिसाबको रङ्ग, मात्रा र गन्धबाट शरीरमा पानी पुगेको वा नपुगेको आँकलन गर्न सक्छौँ। पिसाब हल्का पहेँलो छ, पर्याप्त मात्रामा आउँछ र गन्ध छैन भने शरीरमा पानीको मात्रा पुगेको बुझ्नुपर्छ। पिसाब हल्का गाढा पहेँलो भए शरीरमा जलवियोजन हुन थालेको बुझ्न सकिन्छ। पिसाब मध्यम देखि गाढा पहेँलो देखिएमा शरीरमा जलवियोजन भइसकेको बुझ्नु पर्छ। गन्हाउने, गाढा पहेँलो पिसाब थोरै मात्रामा आयो भने शरीरमा कडा जलवियोजन भएको  बुझ्नुपर्छ। सामान्यता २.५ देखि ३.५ लिटर पानी पिउन आवश्यक हुन्छ। तर यी पछिल्ला तीन अवस्थामा हामीले स्थितिअनुसार प्रशस्त पानी पिउनुपर्छ।

हामीमध्ये धेरैको तिर्खा लाग्दा वा सम्झेको बेला धेरै पानी पिउने तर अरु बेला पानी पिउनेबारे त्यति वास्ता नगर्ने बानी हुन्छ। कसैको उठ्नासाथ पानी पिउनु स्वस्थबर्धक भन्दै एकैचोटी धेरै पानी पिउने बानी पनि हुन्छ। एकै पटक धेरै मात्रामा पानी पिउनु भन्दा ठीक्क मात्रामा दिनमा पटक पटक वा बारम्बार पानी पिउनु फाइदाजनक हुन्छ। यसरी पिउँदा हाम्रो मृगौंलामा अतिरिक्त भार पर्दैन र शरीरमा जलवियोजन हुनबाट पनि बचाउँछ।

अरु कस्ता साबधानी अपनाउनुपर्छ ?

माथि उल्लेखित विभिन्न उपाय संगसगै हामीले अन्य कुरामा पनि ध्यान दिनुपर्छ। पानीबाट सर्ने रोगको जोखिम कम गर्न पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउनुपर्छ। गर्मीमा विभिन्न रोगको उत्तिकै जोखिम हुनाले जथाभावी फोहोर नगर्ने, फोहोर तरिकाले बेचिएका खानेकुरा नखाने र समय समयमा साबुन पानीले मिचीमिची हात धुनुका साथै व्यक्तिगत सरसफाई पनि कायम गर्नुपर्छ।

लामखुट्टेको टोकाइबाट बच्न झ्याल ढोकामा जाली लगाउने, झुलको प्रयोग गर्ने गर्नुपर्छ। आवश्यक्ता बाहेक दिउँसो बाहिर घाममा ननिस्कने वा निस्किनु नै पर्ने भए लामा बाहुला भएका कपडा र क्याप टोपी लगाउने वा छाताको प्रयोग गर्नुपर्छ। पौडी खेल्न जाँदा पनि समूहमा जाने र आवश्यक साबधानी अपनाउनु पर्छ। यसका साथसाथै अधिक गर्मीका कारण अन्य जीवजन्तु पनि जलवियोजनको जोखिममा हुन सक्ने बुझेर हामीले घरको छतमा वा गेट बाहिर पानी भरेको भाँडा राख्न सक्छौं। खेर जाने वा उब्रेका खानेकुरा छन् भने चराचुरुङ्गीलाई वा कुकुरहरुलाई बाढ्न सक्छौं।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button