मेक्सिकोमा बर्ड फ्लुको सबैभन्दा खतरनाक भाइरस, यसअघि देखिएको थिएन भाइरसको यस्तो संक्रमण

मेक्सिकोमा बर्ड फ्लुका कारण एक जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार बुधवार मेक्सिको सिटीको अस्पतालमा बर्ड फ्लु संक्रमित ५९ वर्षीय पुरुषको मृत्यु भएको हो ।



ज्वरोसँगै श्वासप्रश्वासमा समस्या र पखाला लागेपछि ती व्यक्तिलाई गत अप्रिल २४ मा उनलाई अस्पताल भर्ना गरिएमा सोही दिन उनको मृत्यु भएको थियो ।



मृत्यु भएका व्यक्ति बर्ड फ्लुको सबैभन्दा खतरनाक भाइरस मानिने एभियन इन्फ्लुएन्जा (एच५एन२) बाट संक्रमित थिए । यसअघि मानिसमा यो भाइरसको संक्रमण भेटिएको थिएन । तर, डब्लुएचओले अहिले मानिसमा एच५एन२ भाइरसको जोखिम निकै कम रहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको पनि बताएको छ । डब्लुएचओले बर्ड फ्लुबारे सावधानी अपनाउन भने सुझाव दिएको छ ।



ती व्यक्ति मृगौला फेल हुनेलगायत समस्याबाट पीडित थिए । ती व्यक्ति कुखुरा वा अन्य जनावरको सम्पर्कमा नआएको चिकित्सक बताउँछन् । यस्तो अवस्थामा उनलाई बर्ड फ्लु कसरी भयो भन्ने पत्ता लाग्न सकेको छैन । मेक्सिको सरकारले बर्ड फ्लु भाइरसको सम्पर्कमा आएका व्यक्ति कहाँ थिए भन्ने पुष्टि गरेको छैन।
डब्लुएचओका अनुसार हाल एच५एन२ भाइरसबाट मानिसमा जोखिम कम रहेको र अनुसन्धानपछि यो भाइरसको संक्रमणको अरु कुनै असर नदेखिएको बताएको छ । मृतक व्यक्तिको नमूनामा बर्ड फ्लुको भाइरस रहेको पुष्टि भएपछि मेक्सिको सरकारले मे २३ मा डब्ल्यूएचओलाई जानकारी गराएको थियो। एजेन्सी