अर्थमुख्य खबर

बजेटको मुखमा अर्थमन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर, अर्थसचिव पनि फेर्ने तयारी

सरकारले बजेटको तयारी शुरु गरिरहेको अवस्थामा अर्थमन्त्री वर्षमान पुनले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेपछि अन्योल उत्पन्न भएको छ । अर्थमन्त्री पुनले बजेटअघि नै अर्थ सचिव पनि फेर्ने तयारी गरेका छन् ।

बजेट निर्माणमा अर्थसचिव र राजस्व सचिवको भूमिका प्रमुख हुन्छ । त्यही भएकाले अर्थमन्त्री पुनले आफूअनुकूल अर्थसचिव ल्याउन चाहेका छन् । बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयका साथै अन्य विकासे मन्त्रालय सक्रिय भइरहँदा अचानक उच्च अधिकारी हेरफेरका कारण अर्थभित्रै अन्योल पैदा भएको छ ।

सहसचिवहरुको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरिएको छ । मन्त्रालय मातहतका विभाग र महाशाखा प्रमुख हेरफेर गरेका हुन् । शिवलाल तिवारी आन्तरिक राजस्व विभागको महानिर्देशक बनेका छन् भने भन्सार विभागमा ढुण्डीराज निरौला पुगेका छन् ।

यसअघि तिवारी वातावरण विभागमा महानिर्देशक थिए । निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सहसचिव थिए । राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रीतेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको छ ।

बजेट महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सारेर त्यहाँका धनीराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ । भन्सार विभागको महानिर्देशक रहेका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रमा लगिएको छ ।

तालीम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको छ । आचार्य र प्रधानमन्त्री कार्यालयबाट अर्थ ल्याइएका नारायण सापकोटाको जिम्मेवारी तोकिन बाँकी रहेको अर्थ मन्त्रालय स्रोतले बतायो । यसअघि आन्तरिक राजस्व विभागका महानिर्देशक भूपाल बराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

बराललाई महानिर्देशकको जिम्मेवारीमा गएको २ महीना नपुग्दै विभागीय प्रमुखको जिम्मेवारीबाट सरुवा गरिएको छ । यसरी अर्थ मन्त्रालयका दुई सहसचिवलाई अन्य निकायमा सरुवा गर्दै मन्त्रिपरिषद् बैठकले तीन सहसचिवलाई अर्थमा भित्त्याएको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button