No Image Headlineअर्थमुख्य खबर

सत्ता गठबन्धनलाई भारतको रातो झण्डा : अर्को हप्तादेखि लोडशेडिङ, बिजुली खरिद सम्झौतामा अनाकानी

Thrill Factory
Rungta Group

अर्को हप्ताबाट नेपालमा लोडशेडिङ हुने सम्भावना बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जबाट नेपाललाई बिजुली किन्न दिने सम्झौता नवीकरण गर्न भारतले आनाकानी गर्दा यस्तो अवस्था आएको नेपाल विद्युत् प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने उक्त सम्झौताको म्याद चैत १८ गते सकिँदै छ । नेपालले ३ महीनादेखि नवीकरणका लागि आग्रह गरिरहे पनि भारतको सम्बद्ध निकायले चासो देखाएको छैन ।

‘भारतमा आसन्न लोकसभा चुनावमा बिजुली धेरै चाहिने बहानामा सम्झौता नवीकरण गर्न नसकिने संकेत भारतीय अधिकारीले मौखिक रूपमा दिँदै आएको प्राधिकरणस्थित एक उच्च स्रोतले भन्यो । यो सम्झौता तत्काल नवीकरण नगरे कम्तीमा डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुनेछ ।

अहिले बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन सरकार चीनको उक्साहटमा भएको भारतीय सञ्चारमाध्यम र विश्लेषकहरूले बताउँदै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २४ गते नेपाली कांग्रेससँगको गठबन्धन अन्त्य गर्दै एमालेलगायत दलहरूसँग नयाँ गठबन्धन बनाएका थिए । प्राधिकरणका अधिकारीहरू भारतीय अधिकारीहरूले त्यस्तो कुनै संकेत नदिएको बताउँछन् ।

कम्तीमा वैशाख अन्त्यसम्म नेपालको आन्तरिक विद्युत् उत्पादन नबढ्ने भएकाले आगामी डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुनेछ । ‘भारतले विगतमा नवीकरणमा यस्तो ढिलाइ गरेको थिएन ।

विगतमा भारतले कुनै बहाना नगरी सम्झौता नवीकरण गर्दै आए पनि यसपालि चुनावको बहानामा नवीकरण गर्न नसकिने संकेत गरेको प्राधिकरणका अधिकारीहरूले बताए । भारतमा २०८१ वैशाख ५ गते शुरू भएर ६ हप्तासम्म विभिन्न चरणमा लोकसभाको निर्वाचन हुँदै छ ।

यो सम्झौता नवीकरण नभए नेपाल र भारतबीचका अन्य बिजुली किनबेचसम्बन्धी सम्झौताको कार्यान्वयनमा पनि शंका उब्जने प्राधिकरणका अधिकारी बताउँछन् । गत पुसमा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको छ ।

सम्झौता नवीकरण नभए बिजुली काट्नुपर्ने अवस्था आउँछ । प्राधिकरणका अनुसार अहिले हिउँदमा करीब ६०० मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । यो मागको करीब एक तिहाइ हो । प्राधिकरणका अनुसार अहिले पिक आवरको माग १ हजार ८८५ मेगावाट पुगेको छ ।

नेपालमा वर्षायाममा मागभन्दा बढी बिजुली उत्पादन हुँदै आए पनि हिउँदमा भारतबाट आयात गर्नुपर्ने स्थिति छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । यस्ता आयोजनाले हिउँदमा क्षमताको एक तिहाइ मात्र उत्पादन गर्छन् । मङ्सिरको अन्यतिरबाट नेपालले निर्यात गर्न छाडेर बिजुली आयात गर्दै आएको छ ।

भारतले लोकसभा चुनाव देखाएर सम्झौता नवीकरण नगर्ने संकेत गरे पनि सम्झौता नवीकरणमा देखिएको आनाकानी नेपालको सत्ता समीकरणमा भएको पछिल्लो परिवर्तनप्रति नयाँ दिल्लीको असन्तुष्टिको परिणाम हुन सक्ने अनुमान पनि गरिएको छ ।

प्राधिकरणले २०७५ जेठमा देशमा पूर्ण रूपमा लोडशेडिङ अन्त्यको घोषणा गरेका थियो । त्यसअघि ग्राहस्थ ग्राहकका लागि लोडशेडिङ अन्त्यको घोषणा भएको थियो । देशमा लोडशेडिङ अन्त्य हुनुमा भारतबाट आयातित बिजुली एउटा महत्त्वपूर्ण कारण थियो । त्यस बेला नेपालले भारतीय बजारबाट भन्दा सरकार–सरकारबीचको सम्झौताअनुसार बिजुली किन्ने गर्थ्यो ।

भारतीय बजारबाट सस्तोमा बिजुली पाउने भएपछि प्राधिकरणले बजारबाटै किन्न जोड दिएको छ । इन्डियन इनर्जी एक्सचेन्जको वेबसाइटका अनुसार भारतीय डे अहेड मार्केटमा प्रतियुनिट बिजुलीको औसत भाउ भारू २ दमलव ८६ (४ रुपैयाँ ५७ पैसा) कायम छ ।

डे अहेड मार्केटमा बिजुलीको भाउ व्यापार हुनुभन्दा अघिल्लो दिन तय हुन्छ । सम्झौता नवीकरण नभए सस्तोमा बिजुली उपलब्ध हुने बाटो बन्द हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button