No Image Headlineदेशविशेष

किन भत्कियो कांग्रेस माओवादी सत्ता गठबन्धन ?

Thrill Factory
Rungta Group

सोमवार बिहान हरेक जसो राजनीतिक पार्टीका बैठक तारन्तार भइरहेका थिए। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण अनि सबैको चासो चाहिँ माओवादीको कार्यालय बैठक तर्फ रह्यो।

बैठकलगत्तै पार्टी प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले आइतवारदेखि नै चलिरहेका गाइँगुइँलाई पुष्टि गर्दै भने, मन्त्रिमण्डल पुनर्गठन गर्नाका लागि कार्यालयको बैठकले सुझाव दिएको छ। अर्थात् नयाँ गठबन्धन गर्न बाटो खुलेको उनले बताए।

२०७९ सालको संसदीय चुनावलगत्तै सुरुमै एमालेसँग अनपेक्षित गठबन्धन गरेका प्रधानमन्त्री प्रचण्डले त्यो बेला केही महिनामै गठबन्धन परिवर्तन गरेर चुनावी तालमेल गरेको नेपाली कांग्रेससँग नै मिलेका थिए।

त्यो मिलन पाँच वर्षको मात्र नभइ अझै लामो समय जाने भनेर माओवादीकै नेताहरूले भन्दै आएका पनि थिए। तर १३ महिना नवित्दै त्यो सबै भत्किएको छ।

त्यसको सबभन्दा मुख्य कारण चाहिँ प्रधानमन्त्रीलाई काम गर्न अनुकूल नभएको अनुभूति नै रहेको प्रवक्ता सापकोटाले बताएका छन्। प्रधानमन्त्रीले सामाजिक न्यायसहितको सुशासन र समृद्धिमा जोड दिँदै आउनु भएको हो। त्यसमा पूर्ण गतिमा काम गर्न मलाई अनुकूलता भएन भनेर वहाँले मन्त्रिमण्डल पुनर्गठन गर्न खोजिरहनु भएको थियो। तर त्यसमा सहमति जुट्न सकेन, उनले भने।

केही समयदेखि नै कतिपय मन्त्री फेरबदल गर्न प्रधानमन्त्री प्रचण्ड इच्छुक रहेको तर नेपाली कांग्रेस त्यसमा तयार नभएको भन्ने विवरणहरू आइरहेका थिए। दुई साता अगाडि भएको नेपाली कांग्रेसको महासमिति बैठकमा भएका छलफल तथा पारित प्रस्तावहरूले पनि माओवादी चिढीएको सापकोटाको भनाइले प्रस्ट पार्छ।

त्यहाँ असान्दर्भिक अनि अस्वाभाविक ढङ्गले हाम्रा विरुद्ध कुराहरू परिलक्षित भए, महासमितिमा आगामी चुनावमा कांग्रेसले निर्वाचनपूर्व गठबन्धन नगर्ने जस्ता विषय पारित भएको तर्फ इँगित गर्दै उनले भने। साथै १२ बुँदे सहमति, शान्ति सम्झौता र २०७२को संविधानमाथि नै प्रश्न उठ्ने गरी घटनाक्रम अगाडि आएको देखियो।

अहिले कांग्रेस र माओवादीबीचको गठबन्धन टुट्नुमा एउटा कारण राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई देखाइएको छ। आगामी फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका थिए।

संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्‌मा प्रतिनिधित्व गर्ने पदमा आफ्नो दलबाट कोही पनि नभएको भन्दै माओवादीका नेताहरूले राष्ट्रिय सभा अध्यक्षको पदलाई प्रतिष्ठाको विषय बनाएका थिए।

तर राष्ट्रिय सभा निर्वाचन अघि माओवादीले कांग्रेस नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा समर्थन गर्ने बचन दिएको जिकिर गर्दै कांग्रेस नेताहरूले राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई नछोड्ने सङ्केत गरेका थिए। माओवादीका प्रवक्ता अग्नि सापकोटा पनि माओवादीले कांग्रेससँग गठबन्धन तोड्नुमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको विषय पनि भएको बताउँछन्।

तर दलका नेता र विश्लेषकहरूको बुझाइमा गठबन्धन टुट्नुका प्रमुख कारण भने राष्ट्रिय सभा अध्यक्षका विषयमा भएको असहमति मात्रै होइन। सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा परराष्ट्र मन्त्री एनपी साउदका बुझाइमा गठबन्धन छुट्नुमा थप तीन कारण छन्।

उनका अनुसार कोशी प्रदेश सरकारमा यसअघि माओवादीलाई नेतृत्व नदिई एमालेको साथ लिएर आफ्नै सरकार बनाउने कांग्रेसको कदम र राष्ट्रिय सभा निर्वाचनमा उक्त प्रदेशमा आफ्ना उम्मेदवार पराजित भएपछि माओवादीमा अविश्वास देखिएको कांग्रेसको ठम्याई छ।

पछिल्लो पटक कांग्रेस महासमिति बैठकमा भएका निर्णयहरूबारे माओवादी नेताहरूले असन्तुष्टि व्यक्त गरेका थिए। राजनीतिक टिप्पणीकार मुमाराम खनालका बुझाइमा कांग्रेस र माओवादीबीचको गठबन्धन टुट्नुमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषय बाहेक पनि अन्य तीन कारण रहेको हुन सक्छन्।

उनका अनुसार पहिलो विषय सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय हो। शान्ति प्रक्रियाका बाँकी काम एमालेसँग नमिली अघि जाने देखिएन। यो विषयलाई जुनसुकै सर्तमा पनि टुङ्ग्याउने मनसाय प्रचण्डको देखिन्थ्यो। यसमा कांग्रेसको खासै विमति थिएन तर एमालेको साथ आवश्यक थियो, उनले भने।

खनालका बुझाइमा अर्को विषय मन्त्रिपरिषद् हेरफेरका विषयमा प्रचण्ड र कांग्रेसबीच देखिएको मतभेद हो। प्रधानमन्त्रीले लामो समययता मन्त्रिपरिषद् पुनर्गठनको प्रयास गरिरहेको बताउने गरेका थिए।

प्रधानमन्त्री केही मन्त्रालयका कामबाट सन्तुष्ट थिएनन्। त्यो कुनै मन्त्रीले राम्रो काम गर्‍यो गरेन भन्दा पनि उनका केही स्वार्थहरू अर्थ मन्त्रालयबाट पूर्ति भएनन् जस्तो लाग्छ, खनालले भने। खनालका अनुसार हालै सम्पन्न कांग्रेस महासमिति बैठकले कुनै पनि निर्वाचनअघि गठबन्धन नगर्ने पार्टीको नीति पारित गरेपछि माओवादी सबैभन्दा धेरै झस्किएको हुनसक्छ।

चुनावपूर्व गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई प्रचण्डले एकदमै बढी सरोकारको विषय बनाएका थिए, तेस्रो कारणबारे उनले भने। खनालका विचारसँगै मिल्दोजुल्दो टिप्पणी सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका एक जना नेताले पनि गरेका छन्।

माओवादी र कांग्रेसबीच अर्थ मन्त्रालयको विषयलाई लिएर केही समयदेखि नै तनाव थियो, नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्। विकास आयोजनाहरूमा बजेट व्यवस्थापन नगरेको प्रधानमन्त्रीको गुनासो थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button