No Image Headlineअन्तराष्ट्रिययस्तो पनि

गैडामा कृत्रिम गर्भाधान, होला त लोपोन्मुख प्रजातिको संरक्षण ?

Thrill Factory
Rungta Group

प्रजननसम्बन्धी एउटा सफलताले नोर्दन ह्वाइट राइनो नामको गैँडाको एक प्रजातिलाई लोप हुनबाट जोगाउने आशा जागेको छ। पृथ्वीमा अहिले यस प्रजातिका जम्मा दुईवटा मात्र गैँडाहरू बाँकी रहेका छन्।

वैज्ञानिकहरू प्रयोगशालामा बनाइएको भ्रूणलाई पोथी गैँडाको गर्भाशयमा राख्न सफल भएका छन्। यो गैँडामा गरिएको विश्वकै पहिलो कृत्रिम गर्भाधान हो। उक्त भ्रूण विकास गर्नका लागि नोर्दन ह्वाइट राइनो प्रजातिसँग सम्बन्धित सदर्न ह्वाइट राइनो उपप्रजाति प्रयोग गरिएको छ। अब अर्को चरणमा नोर्दन ह्वाइट गैँडाको भ्रूणसँग पनि पछि त्यस्तै प्रक्रिया दोहोर्‍याउनुपर्छ।

गैँडामा पहिलो पटक भ्रूण स्थानान्तरण गर्न सक्नु भनेको ठूलो सफलता हो, जर्मनीको लाइब्निज इन्स्टिट्यूट फर जू एन्ड वाइल्डलाइफ रिसर्चकी वैज्ञानिक सुसान होल्ट्जले भनिन्। यो कृत्रिम गर्भाधान बायोरेस्क्यू परियोजनाको एक हिस्सा हो। उक्त प्रजातिलाई बचाउन खोज्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको सञ्जालले यो परिोजाम सञ्चालन गरेका छन्।

यो प्रजाति कुनै बेला मध्य अफ्रिकामा पाइन्थ्यो तर गैँडाको खागको मागका कारण अवैध रूपमा गरिने सिकारका कारण यसको अस्तित्व नै मेटिने अवस्था बनेको हो। अहिले यो प्रजातिका दुइटा मात्र पोथी गैँडा बाँकी छन्, नाजिन र उसकी छोरी फातू।

पहिले चिडियाखानामा राखिएका ती जनावरलाई अहिले अफ्रिकाको केन्यास्थित ओल पेजेटा प्राकृतिक संरक्षण केन्द्रमा कडा सुरक्षाका साथ राखिएको छ। हाल बाँकी रहेका दुई गैँडाले पनि प्रजनन गर्न असमर्थ भएकाले प्राविधिक रूपमा उक्त प्रजाति लोप भइसकेको छ।

यो परियोजनाले दुई टन तौलका जनावरबाट डिम्ब कसरी सङ्कलन गर्ने भन्नेदेखि प्रयोगशालामा पहिलो पटक गैँडाको भ्रूण बनाउने र तिनीहरूलाई कसरी र कहिले प्रत्यारोपण गर्ने भन्ने कुरासमेत स्थापित गर्ने प्रयास गरेको छ।

सदर्न ह्वाइट राइनोमा आईभीएफ गर्भाधान गराउन १३ पटकसम्म प्रयास गरिएको थियो। भ्रूणलाई यति ठूलो जनावरको प्रजनन अङ्गमा राख्नु निकै नै चुनौतीपूर्ण कुरा हो। त्यस्तो अङ्ग लगभग जनावरको दुई मिटरभित्र हुन्छ, होल्ट्जले भनिन्।

बेल्जियमको चिडियाखानामा रहेको पोथीको डिम्ब प्रयोग गरेर अस्ट्रियास्थित भाले गैँडाको शुक्रकीटबाट बनेको भ्रूणलाई केन्याको पोथी गैँडामा सारिएको थियो। त्यो गैँडा गर्भवती भयो। तर त्यो सफलता पछि दुःखद बन्न पुग्यो।

गर्भावस्थाको सत्तरी दिनमा उक्त गैँडाको क्लोस्ट्रिडिआको सङक्रमणले मृत्यु भयो। माटोमा पाइने ब्याक्टेरियाका कारण जनावरहरूमा त्यस्तो सङ्क्रमण हुन्छ र त्यो उनीहरूका लागि घातक पनि बन्न सक्छ।

उक्त मृत्युले टोलीलाई गहिरो झड्का दियो किनकि उसको गर्भमा ६।५ सेन्टिमिटरको भाले भ्रूण राम्रोसँग विकास भइरहेको र त्यो जीवितै जन्मने सम्भावना ९५ प्रतिशत रहेको परीक्षणका क्रममा पत्ता लागेको थियो।

त्यसले उक्त प्रविधिले काम गरेको र गैँडामा आईभीएफमार्फत् पनि व्यावहारिक रूपमै गर्भाधारण गराउन सम्भव छ भन्ने देखाएको छ। अबको चरण भनेको ुप्राविधिक रूपमा लोप भइसकेकोु नोर्दन ह्वाइट राइनोमा यस्तै प्रयास गर्नु हो।

जर्मनी र इटलीमा तरल नाइट्रोजनमा भण्डारण गरिएका उक्त प्रजातिका ३० वटा मात्रै भ्रूण रहेका छन्। केन्यामा रहेको कान्छो पोथी गैँडा फातूबाट निकालिएको डिम्ब र उनीहरू मर्नुअघि नै दुइटा नोर्दन ह्वाइट भाले गैँडाबाट सङ्कलन गरिएका वीर्यबाट ती भ्रूणहरू विकास गरिका हुन्।

यद्यपि यस प्रजातिको अर्को गैँडा जन्मनका लागि अर्को पनि वैज्ञानिक आधार चाहिन्छ। अन्तिम दुई जीवित पोथी गैँडामध्ये कुनैले पनि उमेर र स्वास्थ्य समस्याहरूका कारणले गर्भधारण गर्न सक्दैनन्। त्यसको सट्टा भ्रूणलाई सदर्न ह्वाइट गैँडाकै गर्भमा प्रत्यारोपण गरिनेछ।

ती उपप्रजातिमा पनि पहिले कहिल्यै आईभीएफको प्रयास गरिएको थिएन तर वैज्ञानिकहरूको टोली त्यसले काम गर्नेमा विश्वस्त छ।

केही वन्यजन्तु विज्ञहरू भने लगभग लोप भइसकेका प्रजातिका निम्ति धेरै रकम र स्रोत खर्चिनुभन्दा बचाउन सकिने प्रजातिका लागि त्यो स्रोत उपयोग गर्न सकिने बताउँछन्।

चेक गणतन्त्रको सफारी पार्क द्भुर क्रालोभका बायोरेस्क्यू परियोजना संयोजक जन स्टेस्कलले भने, हामीले बुझ्नुपर्ने कुरा के हो भने नोर्दन ह्वाइट गैँडा लोप हुनुको कारक मानव हो। कुनै पनि प्राकृतिक विकासको चरण वा त्यसको दबावले होइन। मानवीय लोभ र गैँडाको खागको खपतका कारण उनीहरू लोप भएका हुन्।

त्यसैले एक हिसाबले उनीहरूको अन्त्य गर्नमा हामी जिम्मेवार छौँ र यदि हामीसँग उनीहरूलाई बचाउन मद्दत गर्न सक्ने प्रविधि छ भने त्यसको प्रयोग गर्ने र उनीहरूलाई बचाउने प्रयास गर्ने जिम्मेवारी पनि हामीमा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button