अर्थमुख्य खबरविशेष

उधारो नउठेर आजित उद्यमी, भन्छन्-असुलीको कडा कानून चाहियो

Patanjali Nepal
Sweet Mart Food

भारतले अति साना, साना र मझौला उद्योगलाई तिर्नुपर्ने उधारो रकम ४५ दिनभित्रै तिर्नुपर्ने कानून ल्याएपछि नेपालका उद्यागी व्यवसायीले पनि उधारो उठाउन कडा कानून माग गरेका छन् ।

कोरोना महामारीयता उधारो कारोबारको भुक्तानी नउठ्ने र यसबाट व्यापार चक्रमै अनपेक्षित समस्या देखिएको भन्दै उद्यमीले उधारो कानून ल्याएरै भए पनि सहजीकरण गरिदिन वीरगञ्ज उद्योग वाणिज्य संघले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई वैशाख २३ गते चिठी लेखेको छ ।

भारत सरकारले गत मार्च महीनामा अति साना, साना र मझौला उद्योग विकास ऐन र आयकर ऐन संशोधन गर्दै सामान आपूर्ति गरेबापत अति साना, साना र मझौला उद्योगहरूलाई तिर्नुपर्ने उधारो १५ दिनभित्र तिनुपर्ने र दुईपक्षीय सहमतिमा ४५ दिनभित्र तिर्न सकिने व्यवस्था गर्‍यो ।

अप्रिल १ बाट कार्यान्वयनमा आएको यो संशोधित ऐनअनुसार भुक्तानी नदिएमा भारतीय रिजर्भ बैंकले तय गरेको बैंक दरको आधारमा भुक्तानी हुन बाँकी पैसाको ब्याज पनि तिर्नुपर्नेछ । यसरी भुक्तानी नभएको पैसा चालू आर्थिक वर्षमा कर प्रयोजनको लागि खर्चमा पनि देखाउन पाइँदैन ।

त्यसैले संसद्को यसै अधिवेशनमा भारतमा जस्तै कठोर उधारो व्यवस्थापनको कानून ल्याउन आग्रह गर्दै संसदीय समितिलाई चिठी लेखेको हो ।

‘कोरोना महामारीयता बजारमा मन्दी छाएको र उधारो कारोबारको भुक्तानी नउठ्ने समस्या बढ्दै गएकोले उधारो कारोबारलाई कानूनबाटै व्यवस्थित गर्नुपर्ने देखियो,’ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बताए । ‘निजीक्षेत्रले विगत लामो समयदेखि यो कानून ल्याउन आग्रह गर्दै आएको छ । तर, सरकारले यसमा आवश्यक मात्रामा चासो देखाएको छैन ।’

बजारमा माग खुम्चिएपछि उधारोमा मालसामान दिनेमा प्रतिस्पर्धा बढेको व्यापारीहरू बताउँछन् । उधारो लिनेले यो अवस्थाको दुरुपयोग गरेको र शर्तअनुसार समयमा भुक्तानी नगर्ने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ । नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्वअध्यक्ष अनुप अग्रवाल यस्तोमा खुद्रा कारोबार गर्ने व्यापारीहरूमा बढी बदनियत देखिएको बताउँछन् ।

‘खुद्रा विक्रीमा त उधारो कारोबार हुँदैन । तर, विक्रेताले थोक विक्रेता र आयातकर्ता उद्यमीको पैसा रोकेर राखेको हुन्छ । यस्तो प्रवृत्तिमा लगाम लगाउन कडा कानूनको व्यवस्था जरुरी भइसकेको छ,’ समयमै यसको कानूनी उपचारको प्रबन्ध नमिलाइने हो भने अर्थतन्त्र नै दुर्घटनामा पर्न सक्ने चेतावनी अग्रवालले दिए ।

अधिक उत्पादन क्षमता र न्यून मागका कारण निर्माण सामग्रीका उत्पादकले ६/७ महीनाका लागि उधारो दिने गरेका छन् । विगतमा यो कारोबार बढीमा २ महीनासम्मको उधारोमा चल्ने गरेको थियो ।

६ महीनासम्म उधारोमा मालसामान दिन ६ गुणासम्म चालू पूँजीको व्यवस्था गर्नुपर्ने र त्यसको लागत उत्पादनमा जोडिने भएकाले यसबाट उत्पादन महँगो पर्न जाने नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

‘मन्दीको मारमा उधारो नउठ्ने समस्या उद्यमीहरूका लागि टाउको दुखाइ बनेको छ । बजारबाट उधारो विक्रीको पैसा नआउँदा व्यापारको चक्र नै बिथोलिएको छ । एकातिर बजारबाट उधारो नउठ्ने, अर्कातिर बैंकको ऋण तिर्न कर्जा काड्नुपर्ने अवस्था छ ।

उधारो असुलीको प्रभावकारी कानून ल्याउन ढिला गर्ने बेला छैन,’ गुप्ताले भने । बारा–पर्साका उद्योगी व्यपारीहरूको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई पत्र लेखेर आगामी आवको बजेटमार्फत उधारो असुलीको प्रभावकारी नीति लिन आग्रह गरेको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले वैशाख २३ गते उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिलाई पत्र लेखेर उधारो असुली कानूनका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिए ।

‘अहिले उद्योगी व्यवसायीहरूको सबैभन्दा ठूलो समस्या भनेकै उधारो कारोबार हो । कोरोनापछि यो समस्या झन् बढेर गयो । उधारो नउठेका कारण कतिपय कारोबारीहरू आत्महत्या गर्ने अवस्थासम्म पुगे,’ गौतमले भने, ‘उधारो सामान जति पनि लिने, तर पैसा तिर्न नमान्ने प्रवृत्तिमा कानूनी रूपमै लगाम  लगाउनुपर्ने देखियो ।’ आर्थिक अभियान 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button