No Image Headlineविशेषस्वास्थ्य/जिवनशैली

वर्षेनि ४० करोड मानिसलाई डेङ्गी, अझै डेढ महीना सर्तकता अपनाउन सुझाव

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि वर्षमा १० करोडदेखि ४० करोड मानिसलाई डेङ्गी लाग्छ।तीमध्ये अधिकांशलाई कुनै लक्षण नदेखिने वा एकदमै थोरै लक्षण देखिने हुन्छ भने केहीलाई गम्भीर लक्षण देखा पर्छ।

Patanjali Nepal
SweetMart Nepal

डेङ्गीका बिरामीहरूमा एक प्रतिशतभन्दा कमको मात्र ज्यान जाने गरेको बताइन्छ। तर बिरामीको गम्भीरताका आधारमा डेङ्गीलाई दुई वर्गमा विभाजन गर्न सकिन्छ – डेङ्गी र गम्भीर डेङ्गी।

डेङ्गीमा सामान्यतया ज्वरो आउने, टाउको, जोर्नी, ढाड र पिँडुलाको मासु बेस्सरी दुख्ने, अरुचि हुने र वाकवाकी लाग्ने हुन्छ। केही बिरामीलाई भने जटिलताहरू उत्पन्न भई गम्भीर डेङ्गी लाग्छ। सामान्य डेङ्गी भनेको केही दिन ज्वरो आउने हुन्छ र यसलाई ब्रेकबोन फीभर पनि भनिन्छ।

नेपालमा भने गत वर्ष यही समयताका काठमाडौं उपत्यकामा डेङ्गीको प्रकोप उच्च थियो। तर यसपालि लामखुट्टेले सार्ने यो रोग राजधानीका तीन जिल्लामा फैलिने गति केही सुस्त देखिएको तथ्याङ्कले देखाउँछ।

तर आगामी एकडेढ महिना निकै सतर्कता अपनाउनुपर्ने सुझाव जनस्वास्थ्यविद् तथा सरकारी अधिकारीहरूले दिएका छन्। अहिलेसम्म पूर्वी नेपालका सुनसरी र मोरङ जिल्लामा डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या उच्च छ।

काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा नियन्त्रण गर्ने उद्देश्यले ठाउँठाउँमा जैविक विषादी छरिरहेको छ। यसपालि ७७ मध्ये ७५ जिल्लामा डेङ्गी फेला परेको भए पनि अधिकारीहरूले सङ्क्रमण नियन्त्रणमा रहेको दाबी गरेका छन्।

यो वर्ष जनवरी १ देखि सेप्टेम्बर पहिलो सातासम्म देशभरि २४,००० जनाभन्दा धेरैलाई डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। त्यसको झन्डै ६० प्रतिशत हिस्सा सुनसरी जिल्ला एक्लैको छ।

एक हजारभन्दा धेरै सङ्क्रमणका मामिला भेटिएका चारवटा जिल्लामध्ये सुनसरी, मोरङ, धादिङ र झापा हुन्। यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा झन्डै १,००० जना डेङ्गीबाट सङ्क्रमित भएको सरकारी तथ्याङ्क छ।

पोहोर देशभरि ५४,००० भन्दा बढी डेङ्गीका बिरामी फेला परेका थिए। तीमध्ये अगस्टमा ३,७०८ र सेप्टेम्बरमा २७,५२९ र अक्टोबरमा १७,८८९ सङ्क्रमित भएका थिए।

पोहोर कुल ३०,१३४ सङ्क्रमित सङ्ख्यासँगै प्रकोपको केन्द्रबिन्दु काठमाडौं उपत्यका रहेको थियो भने यसपालि अहिलेसम्म सुनसरी अग्रस्थानमा छ। पोहोर डेङ्गीले ८८ जनाको ज्यान गएको सरकारी तथ्याङ्क छ भने यो वर्ष अहिलेसम्म १४ जनाको ज्यान गएको छ।

यसपालि ७५ वटा जिल्लाबाट डेङ्गी सङ्क्रमण फेला परेको खबर आएको छ तर केही जिल्लाबाहेक अन्यमा त्यो सङ्ख्या निकै कम छ। अगस्टको सुरुमा जुन हिसाबले सङ्क्रमण बढेको थियो अहिले त्यो नियन्त्रित अवस्थामै छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button