मानसिक समस्याको उपचार कसरी ?

शारीरिक रूपमा स्वस्थ रहनु जति आवश्यक छ त्यति नै आवश्यक मानसिक रूपमा स्वस्थ रहनु हुन्छ। मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेरका मानिसमा देखिनसक्छ। यो समस्या बालबालिकादेखि वृद्धवृद्धासम्म र महिला पुरुष सबैमा हुनसक्ने चिकित्सक बताउँछन्। मानसिक स्वास्थ्य सम्बन्धी जनस्तरसम्म सचेतना जगाउन सकियो भने मानसिक रोगबाट बचिन्छ। यसबाट बच्ने बित्तिकै कयौं व्यक्तिलाई आत्महत्याबाट पनि जोगाउन सकिन्छ। यो समस्यालाई विज्ञले दुई प्रकारमा विभाजन गरेका छन्। पहिलादेखि नै एन्जाइटी, डिप्रेसन र उदासीनतालगायतका समस्या पहिलो स्टेजका मानसिक समस्या हुन्। यो बढ्दै जाँदा जटिल खालको मानसिक रोग पनि बन्नसक्छ। तर, राम्रोसँग उपचार गर्ने हो भने यो ठिक हुन्छ। विश्वका रोगी मानिसमध्ये ५ देखि १५ प्रतिशतमा उदासीपनाको समस्या देखिएको छ।
उदासीनतालाई मानिसहरू सबैले यो एउटा समस्या र कमजोरी हो भनेर सोच्नु हुन्छ । तर यसलाई कमजोरी सोच्नु हुँदैन। यो एउटा रोग हो। यसको उपचार हुन्छ। यो बढ्नुको कारणमा समस्या थाहा पाएर पनि समयमै वा तत्काल मनोचिकित्सककोमा परामर्श लिन नजाँदा पछिसम्म रहनसक्छ। उदासीनता वा डिप्रेसन एउटै कारणले हुँदैन। वंशाणुगत, मस्तिष्कमा हुने न्युरो ट्रान्समिटरको तलमाथिले गर्दा यो समस्या हुन्छ। दिमाग भित्र भएका विभिन्न किसिमका न्युरो सर्किटको काममा समस्या भएर पनि हुन्छ।
डिप्रेसन के कारणले हुन्छ ?
डिप्रेसन मनोवैज्ञानिक कारण, वंशाणुगत कारण, सामाजिक कारणको प्रभावले पनि हुनसक्छ। यसको प्रभाव दिमागमा एक पटक परेपछि त्यसकै बारेमा गहिरिएर सोच्दा दिमागको सोच्ने तरिका परिवर्तन हुन्छ। डिप्रेसन बालक, किशोरावस्था र वृद्ध सबै उमेर समूहलाई हुनसक्छ। आत्मविश्वासको कमी, शारीरिक थकान र सुस्तता महसुस हुने, यौन उत्तेजना नहुनु, एकाग्रता कायम गर्न कठिन हुनु पनि डिप्रेसनका लक्षण हुन्।
मलाई यस्तो हुदैँछ भनेर थाहा पाउन सकिँदैन ?
डिप्रेसनमा आफूलाई थाहा हुन्छ। तर, मानसिक स्वास्थ्य गडबड हुँदा आफूले भन्दा पनि वरिपरिको मान्छेले बढी विचार गरेका हुन्छन्। किनकी उनीहरूले नै कसैले तिमीमा यस्तो परिवर्तन आएको छ भनेर भनेमा उनीहरूको प्रतिक्रिया सुन्नु पर्दछ।
मानसिक समस्या हुने बित्तिकै व्यक्तिको कार्यक्षमतामा ह्रास आइसकेको हुन्छ। कार्यक्षमतामा ह्रास आइसकेपछि कार्यालयमा असर गर्दछ। विस्तारै यसले सिङ्गो समाजमा असर पार्दछ। त्यसपछि समग्र राष्ट्रमा नै असर पर्दछ। बाहिर मान्छे राम्रो छ। तर, उसका कुरालाई चाँडै सम्बोधन भएन भने आत्महत्याको बाटो रोज्छ। यसको मुख्य कारण भनेको डिप्रेसन नै हो।उपचार कसरी गर्न सकिन्छ ?
यसको लागि व्यक्ति आफै मलाई यो समस्या छ भनेर डाक्टरसमक्ष जानुपर्छ। डाक्टरले उसको अवस्था हेरेर उपचार गर्ने हो। यो समस्या कहिले सुरु भयो? परिवारसँगको अवस्था कस्तो छ ? भनेर थाहा पाएर मात्र डाक्टरले औषधि दिनुहुन्छ। औषधि दिएर उपचार गर्ने विधि एउटा हो। त्यसपछि साइकोथेरापी गर्ने विधि छन्। औषधि नदिई उपचार गर्ने विधि पनि छन्। यस्तो स्वास्थ्य समस्या भएका मान्छेलाई धेरै परामर्श दिनुपर्छ।
के के कुरामा ध्यान दिने ?
मानसिक स्वास्थ्यको लागि जाँड रक्सी नखाने चुरोट नखाने, शारीरिक व्यायाम गर्ने, एक अर्काबीच अन्तरसम्बन्ध राम्रो राख्ने गर्नुपर्छ। अरूलाई तनाव हुने काम हामी कसैले गर्नु हुँदैन। भोलि आफैलाई त्यो तनाव नहोस्। मानसिक स्वास्थ्यलाई यो सामान्य हो भनेर लिनु हुँदैन। हामीले जति शारीरिक स्वास्थ्यलाई ध्यान दिन्छौँ त्यति नै ध्यान मानसिक स्वास्थ्यलाई दिनुपर्दछ।



