आँखा पाक्ने रोग : के गर्ने के नगर्ने, कालो चस्माले संक्रमण रोक्छ ?

केही दिनयता आँखा पाक्ने बिरामीको संख्या ह्वात्तै बढेको छ। यो समस्या देशव्यापी रूपमा फैलिएका विवरणहरू सार्वजनिक भएका छन्।
यस समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानका अस्पतालमा चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्।
वीरगञ्जको स्पर्स अस्पतालका चिकित्सक डा महेश्वर कुर्मी हाल सम्बन्धित विभागमा आउने बिरामीहरूमध्ये करिब ५० देखि ५५ प्रतिशतमा आँखा पाक्ने रोग देखिएको छ।
के हो आँखा पाक्ने समस्या ?
आँखा पाक्ने समस्या नेपालमा प्राय हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् ।
यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो। यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्छ। यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्टिभाइटिस भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ।
विशेषतः गर्मी महिनामा वा गर्मी सकिएर हिउँद सुरु हुने समयमा सक्रिय हुन्छ। तराई वा गर्मी स्थानहरूबाट यसको प्रकोप सुरु हुनुले यस पटक गर्मीसँगै यो भाइरस सक्रिय भएको देखिन्छ।
बिरामीलाई उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्श लिनु पर्छ। किनकि त्यसले नानीमा असर गर्यो भने फुलो पर्ने समस्या देखिन सक्छ । भाइरस बढी सङ्क्रामक हुन्छ।
यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलन्छ। उदाहरणका लागि कोरोनाभाइरसलाई लिन सक्छौँ जुन निकै सङ्क्रामक थियो। अहिले देखिएको भेरिअन्ट निकै सङ्क्रामक छ। तर यो जति छिटो फैलन्छ त्यति नै छिटो ठीक हुने वा नष्ट हुने प्रकृतिको हुन्छ।
लक्षणहरू
सङ्क्रमण भएपछि सुरुमा आँखा बिझाउँछ। आँखा झिम्काउँदा समेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ। बिस्तारै आँखा रातो हुँदै जान्छ। आँखाको डिल सुन्निन थाल्छ। बिहान उठ्दा चिप्रा पर्छ। एउटा मात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ।
तर, यस भाइरसको असर आँखामा सीमित नरहन सक्छ। यसले फ्लू हुँदाका लक्षणहरू सहित मानिसको शरीरका अन्य अङ्गहरूमा पनि प्रभाव पार्छ। कतिपयलाई टाउको र घाँटी दुख्छ, ज्वरो आउँछ, कानको अगाडिको भाग सुनिनेजस्ता समस्या देखिन्छन्।
आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ। निरन्तर आँसु बग्छ र कचेरा जम्छ। कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ।
यदि भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने, त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्ली मात्र नभएर नानीलाई पनि असर गर्छ।
घरेलु उपचार नै पर्याप्त हुन्छ ?
एडिनो भाइरसको जीवनचक्र सामान्यता तीनदेखि चार दिनमा सकिँदै जान्छ। त्यसैले यसलाई घरमै बसेर ठीक पार्न सकिन्छ। यो कुरा बुझ्न आवश्यक छ किनकि अहिले अस्पतालहरूमा घुइँचो छ।
सङ्क्रमितले आँखाको सरसफाइमा ध्यान दिनुपर्छ। दिनमा दुई तीन पटक सफा पानीले आँखा सफा गर्नु। पोसिलो खाना खानु। चिसोले सेक्नु र आँखा धेरै रातो भएको खण्डमा साधारण खालको एन्टिबायोटिक थोपा लगाउनु घरेलु उपायहरू हुन्।
तर, तीनदेखि चार दिनपछि र अधिकतम पाँच दिनसम्म समस्या कम भएन भने अस्पताल जानु पर्छ। उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्श अनुरूप अन्य जटिलता पहिचान गर्न परीक्षण गराउनु पर्छ। सोही अनुरूप औषधोपचार गराउनु पर्छ। हप्ता दिनसम्म पनि ठीक भएन भने चाहिँ भाइरसले आँखाको नानीलाई छुने जोखिम बढी हुन्छ।
सङ्क्रमितको आँखामा हेर्दैमा यो रोग सर्दैन। तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ। त्यसैले बिरामीको आँसु, चिप्रा र कचेराबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसका लागि सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ। आफूले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूको पहुँचबाट टाढा राख्नुपर्छ।
सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ। विशेषगरी सङ्क्रमित बालबालिका तथा वृद्ध वृद्धाको ख्याल राख्ने मानिसहरूले आफूलाई जोगाउनु चुनौतीपूर्ण हुनसक्छ। सबैले हातले नाक, आँखा र मुख नछुनु अहिलेका लागि प्राथमिक उपायहरू हुन्।
चस्माले छेक्दैन ?
अस्पताल आउने अधिकांश सेवाग्राही कालो चस्मा लगाएका आउँछन्। यद्यपि कालो चस्माले सङ्क्रमण हुनबाट जोगाउँछ भन्ने होइन।
पहिलो आँखा धेरै रातो भएकाहरूले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु र दोस्रो नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिनु। रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ।



