यस्ता छन् डेंगु संक्रमणबाट बच्ने उपाय

केही समययता नेपालभर डेंगु संक्रमितको संख्या बढिरहेको छ। नेपालका विभिन्न क्षेत्रमा अहिले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण बढिरहेको छ। एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो।
यसको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने हुन्छ। विस्तारै आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायतका लक्षण देखा पर्छन्। डेंगु संक्रमण हुँदा रगतमा पानीको मात्रा कम भएर रक्तचाप कम हुन्छ। जसकारण डेंगु बिरामी सिकिस्त भएर बेहोस हुनेसम्म हुनसक्छन्।
डेंगु संक्रमणलाई कसरी बुझ्ने ?
विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए। त्यसयता डेंगुको सङ्क्रमण देखिँदै आएको छ। डेंगु संक्रमण भनेको एक प्रकारको लामखुट्टे जसलाई अंग्रेजीमा (टाइगर मस्क्युटो) वा बाघे लामखुट्टे पनि भनिन्छ।
त्यस्तो लामखुट्टेको टोकाइबाट डेंगु एक बिरामी व्यक्तिबाट अर्को स्वस्थ मानिसमा सर्छ। यो लामखुट्टे दिउँसो सक्रिय हुने र राति निष्क्रिय हुने हुनाले डेंगुका बिरामीलाई दिउँसो पनि झुलभित्र नै राख्नु पर्दछ।
लक्षण के के हुन् ?
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिने, अरुचि हुने, ढाड जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने, पेट तथा आन्द्रामा गडबडी हुने, नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुनेलगायतका लक्षण देखा पर्न सक्छन्।
संक्रमण हुनै नदिन के गर्ने ?
अहिले यसको लागि सबै जनाले पुरा बाहुला भएको कपडा वा पुरै शरीर ढाकिने खालका कपडा लगाएर बस्नु पर्दछ। यो एउटा भाइरसको रोग भएकोले यो भाइरस मार्ने नै भन्ने कुनै औषधि छैन। यो बाट बच्ने पहिलो उपाय र रोगकथाम भनेको नै लामखुट्टे नियन्त्रण गरेर आफ्नो शरीरको हेरचाह गर्नु हो। जसको लागि पानी जम्नसक्ने भाँडा बाहिर नराख्ने, पानीको ट्याङ्कीमा लामखुट्टे पस्न नदिने गरी राम्ररी ढाकेर वा बिर्को लगाएर राख्ने, फुलदानी वा गमलामा रहेको पानी हप्तामा दुई पटक फेर्ने, राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउनुपर्छ।
सङ्क्रमणपछि खानपानमा कसरी ध्यान दिने ?
डेंगु सङ्क्रमण भएपछि पोसिलो आहार बिहारको आवश्यक पर्छ। भिटामिन सी भिटामिन डी, माछा मासुसँगै भात, दाल फलफूल खानु पर्दछ। डेंगुले बिरामीलाई धेरै कमजोर र शिथिल बनाउँछ। त्यस्तो हुदाँ कुनै पनि दुखाई मार्ने वा पेनकिलर आफैले किनेर खानु हुँदैन। त्यसले थप समस्या निम्त्याउन सक्छ। धेरै मात्रामा पौष्टिक तत्त्व र झोलिलो खोकुरा खाने गर्दा राम्रो हुन्छ।
कुन समयमा अस्पताल जाने ?
धेरै नै टाउको दुख्यो र शरीरमा बिमिरा आयो भने तुरुन्त अस्पतालमा गएर डेंगुको परीक्षण गर्नुपर्छ। परीक्षण गराएपछि डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने, उपयुक्त मात्रामा व्यायाम गर्ने। तर बिरामीलाई तारनतार बान्ता हुने, धेरै पेट दुख्ने, कमजोरी भएर प्रेसर घट्यो भने भर्ना गरेर नै उपचार गर्नुपर्छ। कोही कोही बिरामीमा सेतो रगत कम भयो भने आईसीयूसमा नै लैजानु पर्दछ।
के के गर्ने ?
यसको लागि लक्षण कुनै देखियो भने अस्पताल गएर जाँच गर्नु पर्दछ। ज्वरो, रुघा खोकी लागेपछि पर्खिएर बस्ने भन्दा आफूलाई के भएको हो भनेर जान्न अस्पताल गएर परीक्षण गराउनुपर्छ। यस्तो परीक्षणपछि मात्र उपचार कसरी गर्ने भन्ने थाहा हुन्छ। यस्ता परीक्षणले रगतको उतारचढाव बारे जानकारी हुन्छ। लक्षण देखिएपछि यो केही होइन भनेर घरमा नै बस्दा समस्या भएर अकालमा मृत्यु नै हुनसक्छ।



