No Image Headlineस्वास्थ्य/जिवनशैली

खानपानमा ध्यान दिनुहुन्न ? होस गर्नुहोस्, अल्सर हुन सक्छ

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्नेलगायतका लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्रिक हो । ग्यास्ट्राइटिसको समस्याले पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा पेट फुल्छ र पीडा हुन थाल्छ । पेट दुख्नेबित्तिकै ग्यास्ट्रिक नै भएको हो भन्न त सकिन्न । हजारौँ कारणले पेट दुख्छ । तर पेटको माथिल्लो भागमा इन्फेक्सन हुनुलाई ग्यास्ट्रिक भनिन्छ ।

ग्यास्ट्रिक के कारणले हुन्छ ?

मानसिक तनाव धेरै लिँदा, धेरै मात्रामा चिया, कफी, चुरोट र रक्सीको सेवन गर्दा पनि ग्यास्ट्रिकले सताउँछ । साथै जथाभावी दुखाई कम गर्ने र धेरै प्रकारका औषधि र पिरो, धेरै चिल्लो, लामो समयसम्म प्याकेटमा राखेको खाना खाँदा र लामो समयसम्म खालि पेट बस्ने मान्छेलाई ग्यास्ट्रिकले सताउँछ ।

पेटको माथिल्लो भागमा इन्फेक्सन के कारणले हुन्छ ?

हाम्रो शरीरमा एच पाइलोरी नामक ब्याक्टेरिया हुन्छ । हामीले खानपानमा उचित ध्यान नदिँदा त्यो सक्रिय भई त्यसले ग्यास्ट्रिकदेखि अल्सरसम्म गराउनसक्छ । जसका कारण आन्द्रामा प्वाल पनि पार्नसक्छ ।

ग्यास्ट्रिकका लक्षण के हुन् त ?

ग्यास्ट्रिक हुँदा छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने हुन्छ, साथै पेट पोल्ने, भोक नलाग्ने, अम्लपित्त बढ्ने, पेट भारी हुने, रिँगटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ–ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडल्ने, तौल कम हुने, अमिलो पानी वा डकार आउने, खाना नरुच्ने, घाँटीमा केही अड्केको जस्तो महसुस हुने लगायतका लक्षण देखिन्छन् ।

यदि कसैलाई यस्ता लक्षण देखिए भनेर अनुमानको आधारमा मलाई ग्यास्ट्रिक नै भएको हो भनेर घरमा बसेर औषधि खानु भन्दा अस्पतालमा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । किनभने आफूले ग्यास्ट्रिक सोचेको रोग अरू नै रोग पनि हुनसक्छ । पेटको माथिल्लो भागको दुखाइलाई हामी कोलेस्टेसिस भन्छौँ । यो पित्तथैलीको इन्फेक्सनले हुन्छ । प्यान्क्रियाजको इन्फेक्सनले ज्यान पनि जान सक्नेसमेत सम्भावना हुन्छ ।

लक्षणका आधारमा ग्यास्ट्रिक नै हो भनेर औषधि किनेर ल्याएर खाँदा के हुन्छ त ?

जो कोहीले पनि ग्यास्ट्रिकको भनेर औषधि खाँदा असर त गर्दैन, तर यसले दीर्घकालीन रूपमा शरीरमा अन्य रोग लागेको रहेछ भने खतरा हुनसक्छ । यदि ग्यास्ट्रिक नै हो भनेर अस्पताल समयमा गएर डाक्टरले दिएको औषधि खाँदा यो रोग औषधिले नै निर्मूल हुन्छ । कुनै अप्रेसनको अवश्यकता पर्दैन ।

ग्यास्ट्रिक हुँदा कस्तो लापरबाही गर्याे भने अल्सर हुने हो त ?

यदि लामो समयसम्म ग्यास्ट्रिक भयो र समयमै ध्यान दिइएन भने त्यही ग्यास्ट्रिक बढ्दै जान्छ र पछि गएर अल्सर हुने हो । एच पाइलोरी नामक ब्याक्टेरियाले अल्सर गराउँछ । बाहिरको चिल्लो पिरो खाना धेरै खादा वा समयमा खाना नखाँदा अल्सर हुने सम्भावना हुन्छ । चिकित्सकको परामर्शबिना मेडिकलबाट ब्रुफिन, पेनकिलरजस्ता दुखाई कम गर्ने औषधि किनेर खाँदा केही दिन दुखाई रोकिएला तर रोग निको हुँदैन । त्यसैले, समयमा नै अस्पताल गएर जाँच गरी उपचार गराउनु पर्दछ ।

ग्यास्ट्रिक हुँदा के खाने, के नखाने ?

ग्यास्ट्रिक भएपछि उमालेको पानी पिउने, माछा मासु धेरै नखाने, सन्तुलित भोजन गर्ने, लामो समयसम्म भोकै नबस्ने, धेरै तातो खानेकुरा नखाने, मदिरा र सूर्तीजन्य पदार्थको सेवन नगर्ने, ठिक मात्रामा चिल्लो पदार्थ आवश्यक मात्रामा खाने गर्नुपर्छ । खाना र औषधि समयमा खाने, थोरै–थोरै खाना खाने तर धेरै पटक खाने गर्दा राम्रो हुन्छ । धेरै चिन्ता पनि लिनु हुँदैन किनभने तनावले पनि ग्यास्ट्रिक देखा पर्नसक्छ ।

ग्यास्ट्रिक हुनै नदिन के गर्न सकिन्छ ?

समयमा खाना, खाजा खाने, तनाव नलिने, बाहिरको खाना सकेसम्म नखाने, धेरै चिल्लो/पिरो अमिलो र भुटेको, फ्राई खाना नखाने, बिहान उठ्ने बित्तिकै केही खाई हाल्ने, प्रशस्त पानी पिउने, दूध नपिउने, मद्यपान र धूम्रपान नगर्ने, चिया र कफी नपिउने, जङ्क फुड नखाने, उपयुक्त मात्रामा व्यायाम गर्ने गर्नुपर्छ । र, यति गर्दा गर्दै पनि केही समस्या आयो भने अस्पताल गएर जँचाउने गर्नु पर्दछ । बिनाजँचाइ आयुर्वेदिक तथा अन्य औषधिको प्रयोग नगरेको राम्रो हुन्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button