No Image Headlineदेशमुख्य खबरविशेष

‘अखण्ड भारत’ : भारतीय संसदमा राखिएको भित्तेचित्रको विरोध नेपालमा किन ?

Thrill Factory
Rungta Group

‘अखण्ड भारत’ मा लुम्बिनी, कपिलवस्तु र विराटनगर नाम भएका स्थान राखिएको एउटा भित्तेचित्र हालै उद्घाटित भारतको संसद् भवनमा राखिएपछि नेपालमा त्यसलाई लिएर विरोध भइरहेको छ।

प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपालले उक्त भारतीय कदमप्रति विरोध जनाउनुपर्ने बताएका छन्।

नेपाली इतिहासकारले अखण्ड भारतको त्यस्तो प्रमाणिक ऐतिहासिक आधार नभएको भन्दै बरु नेपाली भूभाग हालको भारतको भूगोलको धेरै परसम्म विस्तार भएको तथ्य इतिहासमा सङ्ग्रहित रहेको टिप्पणी गरेका छन्।

प्रचण्ड दिल्ली पुग्नुअघिबाटै यो विषयले नेपालमा सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहँदा उनको दलका नेताले लुम्बिनी र कपिलवस्तुमाथि अन्य कुनै देशले दाबी गर्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

उक्त विषयबारे सरकारको ध्यानाकर्षण गराएको एउटा विपक्षी दलको युवा सङ्गठनले काठमाडौंस्थित भारतीय राजदूतावास बाहिर प्रदर्शन गर्ने जनाएको छ।
उक्त भित्तेचित्र आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको संसद् भवनमा रहेको छ।

भारतको राष्ट्रिय प्रतीक, केही भूभागका सीमारेखा र मूर्तिजस्तो आकृति पनि रहेको उक्त भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तुसहित कतिपय नेपालका ऐतिहासिक ठाउँका नाम पनि समावेश गरिएको छ।

आफ्नो नजिकको छिमेकमा प्राचीन भारतको प्रभाव देखाउने उक्त भित्तेचित्रलाई कतिपय भारतीय सञ्चारमाध्यमहरूले राष्ट्रिय स्वयंसेवक सङ्घले व्याख्या गरेको अखण्ड भारतको सङ्कल्पसँग जोडेर हेरेका छन्।

त्यो चित्रमा प्राचीनकालको भारतले प्रभाव राख्ने अहिलेको पाकिस्तानमा अवस्थित तक्क्षशीलासहित विभिन्न राज्य र शहरहरू समावेश गरिएको छ।

तर उक्त भित्तेचित्रमा अखण्ड भारतका रूपमा ती स्थानहरू राख्नुको कुनै ऐतिहासिक आधार नरहेको नेपाली इतिहासविद्हरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालयमा झन्डै ४० वर्ष इतिहास अध्यापन गरेका प्राध्यापक त्रिरत्न मानन्धर उक्त कदम गलत भन्दै त्यसले नेपाल र भारतबीचको सम्बन्धमा आशङ्का बढाउने बताउँछन्। प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा चौथो पटक भारतको भ्रमणमा नयाँ दिल्ली पुगेका छन्

उनी भन्छन्, यदि भारतले अखण्ड भारत भन्ने हो भने हामीले पनि अखण्ड नेपाल भन्न मिल्छ। किनभने प्राचीनकालकै कुरा गर्ने हो भने पनि समुद्रगुप्तको इलाहावादको एउटा अभिलेखमा नेपाल भन्ने देश कामरूप र कर्तीपुरको बीचमा पर्छ भनेको छ। कामरूप भनेको आसाम भयो र कर्तिपुर भनेको कुमाउ गढवाल भयो, त्यो भनेको त्यसबेलाको नेपाल अहिलेको भन्दा धेरै ठूलो थियो।

उनले मध्यकालमा पश्चिमका खस मल्ल राजाहरूले नेपालमा शासन गरेको उल्लेख गर्दै उनीहरूले कुमाउ र गढवाल दुवै जितेको उल्लेख गरे।

अझ आधुनिक कालकै कुरा गर्ने हो भने हामी भिमसेन थापाको पालामा कुमाउ गढवाल नाघेर बाह्र अठार ठकुराई भन्ने राज्यहरूलाई पनि जितेर सतलज नदीसम्म पुगेकै हो। कागँडामात्रै हामीले जित्न नसकेको हो। पूर्वमा टिस्टासम्म पुगेकै हो। त्यो भनेको दार्जिलिङ पनि नेपालको पर्थ्यो। निहुँ खोजेर कुरा गर्ने हो भने जसले जे पनि गर्नसक्छ।

प्राध्यापक मानन्धर अखण्ड भारतको दाबीमा प्रामाणिक आधार नरहेको बताउँछन् । अखण्ड भारतको ठोस ऐतिहासिक प्रमाण नभएको उल्लेख गर्दै उनले कतिपय पुराण लगायतका धार्मिक ग्रन्थमा भारत वर्षको चर्चा गरिएको बताए।

मानन्धरले थपे, भारत वर्ष भनेर हामीले यहाँ श्राद्ध गर्दा, कुनै पूजा गर्दा ‘जम्मुदिपे भारतखण्डे नेपाल देशे’ भनेर भन्छौँ। तर पुरोहितहरूले भनेको कुरा धार्मिक विश्वास हो। प्रमाणित कुरा होइन। ऐतिहासिक दस्तावेजहरूको आधारमा हेर्ने हो भने अखण्ड भारतको कुरा नै आउँदैन।

ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछिको भारतलाई मात्रै कैयौँले अखण्ड भारत ठान्ने गरेको उनी बताउँछन्। प्राचीन कालमा त भारत भन्ने पनि थिएन। मध्यकालमा अर्कै थियो। ब्रिटिश कालमा पनि अर्कै थियो। भारत भनेर त खासमा सन् १९४६ मा स्वतन्त्र भएपछि अस्तित्वमा आएको हो।

प्राध्यापक मानन्धर मध्यकालमा नेपाल र चीनका शासकबीच रहेको एउटा प्रचलन सम्झिँदै त्यस्ता परम्परागत आधारलाई देखाएर शङ्का उत्पन्न हुने खालका कुनै पनि कदमहरू चालिन नहुने सुझाव दिन्छन्।

उनले भने, प्राचीन र मध्यकालमा चिनियाँ बादशाहहरू स्वर्गबाट पृथ्वीमा शासन गर्न आएको भन्ने गर्थे। त्यसपछि हामीले पनि हाम्रोतर्फ शिष्ट मण्डलहरू प्रत्येक पाँच वर्षमा चीनमा पठाउँथ्यो भनिन्छ।

उसले हामीलाई उसको देशभित्रको राज्य भन्दैन थियो। तर यो स्वतन्त्र राज्य भएपनि यसले चीनको बादशाहलाई सर्वोच्च नेताका रूपमा मान्छ भन्ने धारणा उसले राखेको थियो। त्यो धारणालाई अहिले ल्याएर चीनले दोहोर्‍याउन वा अझै त्यस्तो व्यवहार गर्न मिल्दैन।

नेपालका पूर्व प्रधानमन्त्रीदेखि साहित्यकार, टिप्पणीकार एवं कैयौँ सर्वसाधारणहरूले भारतको संसद् भवनमा राखिएको सो भित्तेचित्रबारे प्रतिक्रिया जनाइरहेका छन्।

विपक्षी नेता केपी शर्मा ओलीले भारतजस्तो एउटा पुरानो र नमुना लोकतन्त्रले आफ्नो नक्साभित्र नेपाली भूमि राखेर संसद् भवनमा तस्बिर झुन्ड्याउनुलाई उचित मान्न नसकिने बताएका छन्।

त्यसलाई तत्काल सच्याइनुपर्ने माग गर्दै उनले भने, प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनूस्, त्यो गल्ती सच्याउनूस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ। त्यति कुरा गर्न सक्नुहुन्न भन्ने भारत भ्रमणमा किन जाने ? भारतले एकतर्फी रूपमा नेपालले आफ्नो भूभाग बताउने गरेको कालापानीलाई उसको नक्सामा राखेपछि ओली नेतृत्वको सरकारले नेपालको नक्सालाई अद्यावधिक गरेको थियो।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले जारी गरेको नक्साले नेपाल भारत सम्बन्धमा चिसोपन बढाएको थियो।

बुधवार नयाँ दिल्ली पुगेका प्रचण्डले सीमा समस्यासहितका विषयमा भारतीय पक्षसँग कुराकानी गर्ने यसअघि नै सार्वजनिक रूपमा नै बताएका छन्। मङ्गलवार उनको दलको एउटा बैठकमा कतिपय नेताहरूले भारतीय संसद् भवनमा राखिएको भित्तेचित्रबारे भ्रमणका क्रममा कुरा उठाउन सुझाव दिएका विवरण आएका छन्।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पान्डेले प्रधानमन्त्री भारत भ्रमणमा जाने भएकाले उनले त्यसको यथार्थता बुझेर फर्कनुपर्ने बताए।

उनले भने, बुद्ध नेपालमा जन्मिएको र लुम्बिनी र कपिलवस्तुमा बुद्धका बारेमा जे भएका छन् त्यसबारे हाम्रो स्पष्ट दृष्टिकोण छ। उनी नेपालमा जन्मिएको र बुद्ध धर्म यहाँबाट फैलिएको भन्नेबारे कुनै भ्रम पार्नुपर्ने विषय केही छ जस्तो मलाई लाग्दैन। यो प्रसङ्ग के हो, कसरी आयो नबुझी के भन्नु ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा अखण्ड भारतको विवादास्पद भित्तेचित्रले नेपालसहितका छिमेकसँग अनावश्यक र घातक कूटनीतिक विवाद निम्त्याउने चेतावनी सामाजिक सञ्जाल ट्विटरमा यसै साता दिएका थिए।

उनले उक्त प्रकरणले विश्वासको सङ्कट बढाउन सक्ने भन्दै भारतीय राजनीतिक नेतृत्वले समयमै आफ्नो वास्तविक उद्देश्य स्पष्ट पार्नुपर्ने उल्लेख गरेका छन्।

नेपालमा राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने र हिन्दु राष्ट्र कायम गरिनुपर्ने माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठनले बुधवार उक्त भित्तेचित्रसहित सीमा समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ।

उक्त दल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका संयोजक सुजित केसी भन्छन्, प्रधानमन्त्रीको जारी भ्रमणमा भारतीय संसद् भवनमा राखिएको भित्तेचित्रको त्रुटि सच्याउन माग गर्दै हामीले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ। भारतबाट अतिक्रमित भूमि फिर्ता गरिनुपर्छ र सीमामा देखिएका अन्य समस्याहरू दुवै देशले हल गर्नुपर्छ।

सो भेटमा गृहमन्त्री श्रेष्ठले कूटनीतिक ढङ्गले सीमा समस्या हल गर्न छलफल भइरहेको उल्लेख गर्दै पछिल्लो मुद्दामा पनि सरकारको ध्यानाकर्षण भएको बताएका थिए। यस्ता मुद्दाहरूमा ऐतिहासिक तथ्य प्रमाणका आधारमा कूटनीतिक ढङ्गले छलफल गरेर समाधान गर्ने प्रयास गरिरहेका छौँ, भन्दै उनले अहिले उठेको मुद्दामा सबै नेपालीहरूको एउटै दृष्टिकोण रहेको बताए।

सन् २०२२ मा लुम्बिनीको भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदीले प्रसिद्ध मायादेवी मन्दिरमा भ्रमण गरेका थिए। त्यसबेला उनले बुद्धको पवित्र जन्मस्थल आउन पाएकोमा आफू सौभाग्यशाली बनेको बताएका थिए।

बुद्धको जन्मस्थानबारेका आफ्ना टिप्पणीका कारण बेलाबेलामा भारतीय अधिकारी र सञ्चारमाध्यमहरूले नेपालमा चर्को विरोधको सामना गर्दै आएका छन्। सन् २०२० मा भारतका विदेशमन्त्री एस जयशङ्करले महात्मा गान्धी र भगवान् बुद्धजस्ता दुई भारतीय महापुरुषलाई विश्वले सदैव सम्झिने टिप्पणी गरेका थिए।

त्यसबारे प्रतिक्रिया व्यक्त गर्दै नेपालको परराष्ट्र मन्त्रालयले ऐतिहासिक र पुरातात्त्विक तथ्यहरूले बुद्ध लुम्बिनीमा जन्मिएको प्रमाणित गरेको जनाएको थियो।

पछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री जयशङ्करले संयुक्त बौद्ध सम्पदाहरूको चर्चा गरेको भन्दै ‌ऐतिहासिक र पुरातात्त्विक रूपमा गौतम बुद्ध लुम्बिनीमा जन्मिएको अकाट्य प्रमाण रहेको बताएका थिए।

विभिन्न दस्ताबेजमा जनाइए अनुसार लुम्बिनीमा जन्मेका भए पनि बुद्धले भारतको बोधगयामा बुद्धत्व पाएका थिए। र उनले पहिलो दीक्षा सारनाथमा दिएका थिए। उनले निर्वाण प्राप्त गरेका कुसीनगरलाई यूनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ।

मोदीको भ्रमणले बुद्ध जन्मस्थलका बारेमा बेलाबेलामा नेपाल र भारतबीच प्रकट हुने विवादलाई सधैँका लागि समाधान गर्ने ठानिएको भएपनि पछिल्लो भित्तेचित्रले उक्त विवादलाई फेरि सामने ल्याइदिएको छ।

भारतीय जनता पार्टीका कैयौँ प्रभावशाली नेताहरू र उक्त दलका प्रदेशका निकायहरूले ९ अर्ब ७० करोड भारु लागतमा बनेको नयाँ संसद् भवन र त्यहाँ बनाइएको अखण्ड भारतको भित्तेचित्र सामाजिक सञ्जालमा शेअर गरेका छन्।

भारतका संसदीय व्यवस्था मन्त्री प्रल्हाद जोशीले ट्विटरमा लेखेका छन्, सङ्कल्प स्पष्ट छ, अखण्ड भारत। सो भित्तेचित्र ‘हाम्रो गौरवपूर्ण महान् सभ्यताको शक्तिको सङ्केत रहेको’ भारतीय सत्तारूढ दल बीजेपीको कर्नाटक शाखाले ट्विटरमा लेखेको छ।

नयाँ संसद् भवनमा राखिएका कला सामग्रीको छनौटमा भारतको न्याश्नल ग्यालरी अफ मोडर्न आर्टका महानिर्देशक अद्वैता गडनायक संलग्न थिए। उनलाई उदृत गर्दै द हिन्दूले जनाएअनुसार प्राचीनकालमा भारतको प्रभाव देखाउने गरी कला सामग्रीहरू छनौट गरिएका थिए।

भारतीय सत्तारूढ दलको वैचारिक माऊ सङ्गठनका रूपमा ठानिने राष्ट्रिय स्वयंसेवक सङ्घका अनुसार अखण्ड भारतले भारत विभाजित हुनुअघिको प्राचीनकालको भूगोललाई समेट्छ जुन आजको दिनमा अफगानिस्तानदेखि थाइल्यान्डसम्म विस्तार भएको उसको दाबी छ ।

अहिले उसले यसलाई सांस्कृतिक रूपमा हेरिनुपर्ने र राजनीतिक रङ्ग दिइनु नहुने तर्क गरिरहेको छ।
तर नेपालसँग सम्बन्धित भएका विश्व सम्पदा सूचिमा परेको लुम्बिनीसहितका ठाउँहरू राखिएको भित्तेचीत्रले यो अखण्ड भारतलाई कूटनीतिक र भौगोलिक विवादको विषय बनाइदिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button