No Image Headlineस्वास्थ्य/जिवनशैली

पुरुषको शुक्रकिट किन कमजोर हुँदै गएको छ ? यस्तो छ कारण

Thrill Factory
Rungta Group

विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको देखिएको छ। बाँझोपनाका निम्ति एक प्रमुख कारक मानिएको यस्तो खस्कँदो गुणस्तरको कारण चाहिँ के हो भन्नेबारे धेरै चर्चा गरिँदैन।

तर अहिले आएर वैज्ञानिकहरूले ती कारणबारे निकै जानकारी बटुलेका छन्। बाँझोपनाको लगभग आधा मामिला पुरुषका कारण हुन्छन्। करिब ७ प्रतिशत पुरुषमा त्यस्तो समस्या हुने बताइन्छ।

तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। प्रजनन क्षमताबारे समस्या बेहोर्ने पुरुषहरूको हकमा अधिकांशमा यकिन कारण थाहा हुँदैन । र विद्यमान सामाजिक मान्यताका कारण उनीहरू चुपचाप समस्या भोग्न बाध्य हुन्छन्।

अनुसन्धानहरूका अनुसार यो समस्या बढ्दो छ। अनि शुक्रकीटको गुणस्तरसहित पुरुष प्रजनन क्षमतामा प्रभाव पार्ने एउटा तत्त्व भनेको प्रदूषण रहेको पाइएको छ। यसको सम्भाव्य परिणाम व्यक्ति एवं समाजहरूमै धेरै पर्ने देखिन्छ।

गत शताब्दीमा संसारको जनसङ्ख्या नाटकीय ढङ्गले बढ्यो। करिब ७० वर्ष पहिले मात्र यो पृथ्वीमा जम्मा अढाई अर्ब मानिस थिए। सन् २०२२ मा त्यो सङ्ख्या ८ अर्ब पुग्यो। तर सामाजिक तथा आर्थिक कारणले जनसङ्ख्या वृद्धिदरको गति भने घट्न थालेको छ।

विश्वभरि नै जन्मदर कीर्तिमानी स्तरमा कम हुन थालेको छ। ५० प्रतिशतभन्दा धेरै मानिसहरू त्यस्ता देशमा बसिरहेका छन् जहाँको औसत जन्मदर २ बालबालिकाभन्दा कम छ । जसको अर्थ भनेको बाहिरबाट आप्रवासी नआए ती ठाउँमा जनसङ्ख्या सङ्कुचित हुँदै जानेछ।

यसो हुनुका पछाडि कैयन् सकारात्मक कारणहरू पनि छन् । जस्तो महिलाको बढ्दो वित्तीय स्वतन्त्रता र प्रजनन स्वास्थ्यमा उनीहरूको बढ्दो नियन्त्रण।

अर्कोतर्फ अनुसन्धानहरूले के पनि देखाएका छन् भने थोरै जन्मदर भएका देशका कतिपय महिलाहरूले परिवारहरूलाई थप सामाजिक तथा आर्थिक सरसहयोग हुने हो भने थप बच्चा जन्माउने थिए।

यही समय व्यक्तिहरूको बच्चा जन्माउने क्षमतामा पनि ह्रास आएको देखिएको छ। पुरुषहरूको हकमा शुक्रकीटको सङ्ख्या घटिरहेको देखिन्छ भने उनीहरूको टेस्टोस्टेरोनको स्तर पनि कम भइरहेको छ।

बढ्दो सङ्ख्यामा पुरुषहरूमा उत्तेजनाको समस्या अनि अण्डकोषमा क्यान्सरजस्ता बिमारी हुन थालेका छन्। सामान्यतया, एक मिलिलिटर वीर्यमा ४ करोडभन्दा कम सङ्ख्यामा शुक्रकीट रहेछन् भने प्रजनन क्षमतामा असर पर्न थाल्छ ।

धेरै शुक्रकीट हुँदैमा गर्भ रहने सम्भावना धेरै नहुने भए पनि एक मिलिलिटर वीर्यमा ४ करोडभन्दा कम शुक्रकीट भएपछि चाहिँ त्यो सम्भावना द्रुत गतिमा घट्न थाल्छ।

पुरुष प्रजनन क्षमतामा आएका ह्रासले भविष्यमा अन्य स्वास्थ्य समस्या समेत निम्तने आकलन अनुसन्धानहरूले गरेका छन्। एउटा सम्भावना के छ भने निश्चित प्रकारका जीवनशैलीले प्रजनन क्षमता लगायत अन्य स्वास्थ्य समस्या निम्त्याउँछन्।

व्यक्तिहरूले जीवनशैली परिवर्तन गरेर मात्र पनि शुक्रकीटको गुणस्तरमा आएका ह्रास नियन्त्रण गर्न सकिँदैन। बढ्दो प्रमाणले त यसको पछाडि अझ विस्तृत, वातावरणीय कारण रहेको देखाइरहेका छन् ।

जलवायु परिवर्तनले पनि पुरुष प्रजनन क्षमतालाई नकारात्मक असर गर्ने ठानिन्छ। बढ्दो तापक्रमले शुक्रकीटलाई प्रभाव पारेको कैयन् पशुमा गरिएका अध्ययनले देखाएका छन्। सन् २०२२ मा गरिएको एउटा अनुसन्धानले पनि धेरै तापक्रममा काम गर्दा शुक्रकीटको गुणस्तर घट्ने बताएको थियो।

यी वातावरणीय तत्वहरूका अतिरिक्त व्यक्तिगत व्यवहारले पनि पुरुष प्रजनन शक्तिमा फरक पार्छ। कमजोर खानपान, हिँडडुलमा कमी हुने जीवनशैली, तनाव अनि मदिरा तथा लागुऔषधको दुर्व्यसनले हानि पुर्‍याउँछ।

पछिल्ला दशकहरूमा अलि उमेर चढिसकेपछि मात्र बच्चा जन्माउन चाहने प्रवृत्ति मौलाएको छ । महिलाहरूलाई चाहिँ उनीहरूको जैविक घडीबारे बारम्बार स्मरण गराइने भए पनि पुरुषहरूको हकमा उमेर र प्रजनन क्षमताबीचको सम्बन्ध नरहने बताइन्थ्यो।

तर त्यो मान्यतामा अब फेरबदल आइरहेको छ। बढी उमेरमा शुक्रकीटको गुणस्तर तथा प्रजनन क्षमतामा ह्रास आउने बताइएको छ।

पुरुषको प्रजनन क्षमता ह्रासबारे निदान, उपचार अनि रोकथामका बारे थप जान्न जरुरी भएको महसुस हुन थालेको छ । साथै प्रदूषणलाई तत्काल सम्बोधन गर्न आवश्यक चेतना पनि जरुरी ठानिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button