कहिलेसम्म लगाइरहने कोरोनाविरुद्धको बुस्टर डोज ?
तीन वर्षअघि देखिएको कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न आपत्कालीन प्रयोगका लागि अनुमति पाएका विभिन्न खोपहरूको प्रभावकारिता त्यसयता देखापरेका विभिन्न भेरिअन्टहरूमा कति रहेको छ भन्ने बहसका माझ विज्ञहरूले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा गम्भीरता देखाउन आग्रह गरेका छन्।
उनीहरूका भनाइमा अस्पतालमा भर्ना हुने वा ज्यान लिने खालका गम्भीर प्रकारका सङ्क्रमण हुन नदिन नियमित मात्रा कोभिड खोप लिएपछि अतिरिक्त मात्रा खोप लगाउनु उपयुक्त हुन्छ।
कोभिड १९ का नयाँनयाँ भेरिअन्ट देखापरेका सन्दर्भमा ती सबैमा हाल प्रयोगमा आएका खोप प्रभावकारी हुने निश्चित नभएकाले सावधानीका अन्य विकल्प पनि अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।
मार्च महिनाको अन्त्यमा सरकारले सर्वजनिक गरेको एउटा आँकडाअनुसार ८२.८ प्रतिशत नेपालीले एक मात्रा कोभिड खोप लगाएका छन्।
पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८३.१ प्रतिशत छ। ३२ प्रतिशतभन्दा धेरैले बुस्टर डोज पनि भनिने अतिरिक्त मात्रा खोप लगाएको बताइन्छ।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष समेत रहेका डा. रमेशकान्त अधिकारी कोभिड १९ खोपसम्बन्धी जानकारीहरू अझै पनि आउने क्रममै रहेकाले खोप कहिलेसम्म लगाइरहने भनेर यकिन गरी भन्न नसकिने बताउँछन्।
उनले भने, हामीलाई अहिलेसम्म यति थाहा छ कि कोभिड प्रतिरोधी एन्टीबडीको तह बिस्तारै घट्दै जाने रहेछ। त्यही भएर बुस्टर डोज दिने कुरा गरियो। त्यसमा पनि पहिला जुन खोप लगाएको थियो त्योभन्दा अर्को लगायो भने राम्रो हुन्छ र त्यो लगाउन सकिन्छ भन्ने कुरा आयो। अहिलेसम्म आइपुग्दा कहिलेसम्म खोप चाहिन्छ भन्नेमा विज्ञान प्रष्ट छैन।
उनले अतिरिक्त मात्रा खोप लगाउन मानिसहरूको रुचि पनि कम देखिएको भन्दै भावी दिनमा कोभिड १९ सम्बन्धी खोपले पनि इन्फ्लुएन्जा पनि भनिने फ्लु सरहको उपचारको बाटो पछ्याउन सक्ने बताए।
उनले थपे, जस्तो अब ओमिक्रोनकै विभिन्न भेरिअन्टहरू आए, यसमा सधैँ पुरानै खोप प्रयोग गरेर भएन। खोप लगाएको ६ महिनापछि बुस्टर दिनु राम्रो भनिएको भए पनि भेरिअन्ट फरक आउँदा त्यो काम लाग्दैन। अझै पनि खोपको परीक्षणहरू चलिरहेको छ। त्यही भएर दौडिएर गएर हामीले बुस्टरहरू दिइराख्यौँ भने पनि त्यसले काम गरिहाल्छ भन्ने प्रष्ट छैन।
तर डा. अधिकारी खोपले सङ्क्रमण पूर्ण रूपमा रोक्न नसके पनि त्यसले मृत्यु र गम्भीर प्रकारका बिरामी हुने अवस्थाबाट जोगाएको बताउँछन्।
उनका अनुसार ज्येष्ठ नागरिक तथा गम्भीर खालका अन्य रोग भएका व्यक्तिलाई कोभिड १९ भएको अवस्थामा कडा खालको निमोनिया नहोस् भन्नका लागि बुस्टर खोप लगाउन सुझाव भने दिइराखिएको छ।
डब्ल्यूएचओको नयाँ मार्गदर्शनले के भन्छ ?
कोभिड १९ का अतिरिक्त खोप वितरणसम्बन्धी नयाँ मार्गदर्शन गएको मार्च महिनाको अन्त्यमा डब्ल्यूएचओले जारी गरेको थियो जसले खोप लगाउनेहरूलाई उच्च, मध्यम र कम जोखिम समूहमा वर्गीकरण गरेको थियो।
डब्ल्यूएचओको खोपसम्बन्धी रणनीतिक सल्लाहकार समूह सेजको उक्त संशोधित मार्गदर्शनमा गम्भीर प्रकारका रोग र मृत्यु, खोपले दिएको परिणाम, लागत, खोप कार्यक्रम र समुदायको स्वीकार्यतालाई ध्यान दिएर निर्णय लिन भनिएको छ।
उच्च प्राथमिकतामा परेका समूहमा वृद्धवृद्धा र मधुमेह तथा मुटुसम्बन्धी गम्भीर प्रकारका रोग लागेका व्यक्तिलाई राखिएको छ।
त्यसबाहेक एचआईभी सङ्क्रमित, अङ्ग प्रत्यारोपण गराएका, ६ महिना वा त्योभन्दा माथिल्लो उमेरका बालबालिका, गर्भवती र अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी छन्।
उक्त समूहलाई अन्तिम डोज लगाएको ६ महिना वा एक वर्षभित्र अतिरिक्त खोप लगाउन सुझाव दिइएको छ। त्यसलाई बर्सेनि कोभिड १९ खोपको बुस्टर लगाउने अर्थमा नलिन भन्दै डब्ल्यूएचओले उमेर र रोगप्रतिरोधी क्षमतामा देखिएका चुनौतीलाई ध्यान दिएर निर्णय लिन भनेको छ।
मध्यम प्रथामिकताको समूहमा ५० देखि ६० वर्षको उमेरमुनिका स्वस्थ वयस्क र अन्य रोग पनि भएका बालबालिका र किशोर किशोरीसहितका व्यक्ति पर्छन्। उक्त समूहले नियमित खोप र त्यस पछिको पहिलो बुस्टर डोज लिनुपर्ने सुझाव डब्ल्यूएचओको छ।
यो समूहलाई थप बुस्टर लिनु सुरक्षित भए पनि उक्त विज्ञ समितिले तिनलाई नियमित रूपमा खोप लगाउन सुझाव दिएको छैन।
६ महिनादेखि १७ वर्षसम्मको उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई कम जोखिमको समूहमा राखिएको छ।
नियमित र बुस्टर खोपको मात्रा बालबालिका र वयस्कमा प्रभावकारी भए पनि तिनमा रोगको कम भार भएकाले लागतसहितका अरू कारणहरूलाई ध्यान दिएर तिनलाई दिने खोपबारे निर्णय लिन डब्ल्यूएचओले सुझाव दिएको छ।
सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ डा. शेरबहादुर पुन कम्तीमा दुई मात्रा खोप सबैले लगाउनुपर्ने बताउँछन्।
उनले भने, थप बुस्टर मात्राले हामीलाई अझै सुरक्षित बनाउँछ। दुई मात्रा खोप लगाएर ६ महिना नाघ्दै गर्दा र बुस्टर मात्रा दिँदै गर्दा जब हाम्रो देश र अन्य देशमा कोरोनाभाइरसले आफ्नो स्वरूप परिवर्तन गर्दै गयो त्यो बेला एकदमै ठूलो हलचल देखिएन।
उनले थपे, सङ्क्रमितको अङ्कभन्दा पनि हामीले अस्पताल भर्ना हुने र मृत्यु हुने जुन अवस्था छ त्यसलाई ध्यान दिनुपर्छ। पूर्ण मात्रा खोप लगाइसकेपछि निरन्तर रूपमा अतिरिक्त दिने या नदिने भन्ने जुन कुरा छ त्यो जोखिम समूहबाहेक अरूका हकमा त्यति अनिवार्य म देख्दिनँ।
निरन्तर कोभिडका नयाँ भेरिअन्टहरू देखापरिरहेको भन्दै डा. पुनले जनस्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने र स्वास्थ्य सतर्कता अवलम्बन गरिनुपर्नेमा जोड दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण मात्राको खोप लगाएको तीन महिना भएका वा पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना भएका निश्चित समूहका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने जनाएको छ।
त्यसमा ५५ वर्षको उमेरमाथिका सबैजना, स्वास्थ्यकर्मी, गर्भवती र १२ वर्षमाथिका दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू समाविष्ट गरिएको छ।