क्यान्डिडा औरिस: औषधिले काम नगर्ने फङ्गसले कसरी बढाउँदै छ जोखिम ?

आजभन्दा १५ वर्षअघि मात्रै पत्ता लागेको औषधि प्रतिरोधी फङ्गस क्यान्डिडा औरिस ९सी औरिस० विश्वकै सबैभन्दा डरलाग्दो अस्पतालमा पाइने ढुसी जातको एक सूक्ष्मजीव भइसकेको छ।
यदि हाम्रो शरीरभित्र पुग्यो भने यीस्ट प्रकारको यो फङ्गसले हाम्रो रक्तसञ्चार, स्नायु प्रणाली र अन्य कैयन भित्री अङ्गहरूमा असर गर्छ।
विश्व स्वास्थ्य सङ्गठनको एक आकलन अनुसार यो सङ्क्रामक रोगको मृत्युदर ३० देखि ५३ प्रतिशतसम्म छ।
यो फङ्गसको सबैभन्दा चिन्ताजनक विषय के हो भने फङ्गल सङ्क्रमणमा प्रयोग हुने अधिकांश चलनचल्तीका औषधिहरूले यसको विरुद्ध काम गर्दैनन्।
बीबीसीका अनुसार यसका कतिपय उत्परिवर्तनहरू त हामीसँग उपलब्ध सबै खाले औषधिहरू प्रतिरोधी छन्।
अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार ३० भन्दा बढी देशमा यो सङ्क्रमण फैलिएको छ।
सन् २०२० मा प्रकाशित समीक्षा प्रतिवेदनले सन् २००९ देखि २०१९ को बीचमा विश्वभर ४,७५० सङ्क्रमणका घटना पत्ता लगाएको छ।
गत मार्च २० मा सीडीसीले जारी गरेको एक वक्तव्यमा सन् २०२० र २०२१मा यो फङ्गस अमेरिकी स्वास्थ्य संस्थाहरूमा चिन्ताजनक रूपमा फैलिएको उल्लेख गरिएको छ।
सन् २०२० मा अमेरिकामा ४७६ वटा सङ्क्रमण देखिएकामा सन् २०२१ मा यो सङ्ख्या १,४७१ पुगेको छ।
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०१९ मा प्रकाशित गरेको अध्ययनले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले क्यान्डिडा औरिस सङ्क्रमण फैलिन मद्दत पुगेको देखाएको छ।
क्यान्डिडा औरिस सी औरिस एउटा यीस्ट हो। यो मानिसका लागि पाउरोटी र बियर बनाउन सहयोगी फङ्गसकै परिवारको हो तर यसका केही प्रजातिहरूले मानिसलाई सङ्क्रमण गराउन सक्छन्।
यसको एउटा उदाहरण क्यान्डिडा अल्बिकन्स हो जसले हाम्रो जिब्रो वरपर काई उत्पन्न गराउँछ तर यसले कहिलेकाहीँ गम्भीर सङ्क्रमण पनि निम्त्याउँछ।
सी औरिस टोकियोको एउटा अस्पतालमा उपचार गराइरहेका बिरामीको कानको प्वालमा पहिलो पटक सन् २००९ मा पत्ता लागेको थियो। यसको नाम पनि ल्याटिनमा कान जनाउने औरिस राखिएको हो।
अधिकांश समय क्यान्डिडा हाम्रो छालामा कुनै पनि समस्या सिर्जना नगरी बसेका हुन्छन्। तर हामीलाई बिसन्चो भएको अवस्थामा यिनीहरूले सङ्क्रमण उत्पन्न गराउन सक्छन्।



